विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ राखेपछि भएको आन्दोलनमा घाइते भएका एक युवकको उपचारका क्रममा ज्यान गएको छ । चैत ५ गते विराटनगरमा भएको विरोध प्रदर्शनमा प्रहरीको कुटाइबाट घाइते धरान–१५ का पदम लिम्बू (लाजेहाङ) को निधन भएको हो ।
लाजेहाङको उपचारका क्रममा शुक्रबार (१० चैत) बिहान धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको अस्पतालले जनाएको छ ।
विराटनगरमा भएको प्रदर्शनका क्रममा निषेधाज्ञा तोडेर अगाडि बढेपछि सशस्त्र प्रहरीले लाठीचार्ज गर्दा उनी घाइते भएका थिए ।
संयुक्त संघर्ष समितिले लिम्बूलाई सहिद घोषणा गर्न माग गर्दै भनेको छ, ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ।’
लिम्बु हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न माग गरिएको छ।
लिम्बुवान आन्दोलनमा सक्रिय ४२ वर्षीय लाजेहाङ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टिएरका केन्द्रीय सह–कमान्डर थिए ।
प्रदेशको नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधरको आन्दोलनका कारण प्रदेश तनावग्रस्त बन्दै गइहरेको छ ।