काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ–१० स्थित बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलको दुई कक्षामा अध्ययनरत बालबालिकाले आफ्नो खाजा खर्च कटाएर अपांगता भएका बालबालिकालाई सहयोग गरेका छन्।
विद्यालय नजिकै रहेको अपाङ्ग अशक्त सेवा केन्द्रमा पुगेर उनीहरुले आफूले संकलन गरेका सामग्री हस्तान्तरण गरेका हुन् ।
बालबालिकाले संकलन गरेको सामग्री हस्तान्तरण गर्न उनीहरुसँगै विद्यालयका केही शिक्षकहरुसमेत त्यहाँ पुगेका थिए ।

सामग्री हस्तान्तरणका क्रममा विद्यालयका निर्देशक राम गौतमले साना बालबालिकाले आफै केही सहयोग गरौँ भन्ने भावनाका साथ संकलन गरेको रकमबाट प्राप्त सामग्री हस्तान्तरण गर्न शिक्षक शिक्षिकाहरुले सहजीकरण गरिदिएको बताउनुभयो ।
त्यसक्रममा उहाँले विद्यार्थी भाइबहिनीहरुको सामाजिक भावनाको प्रशंसा गर्दै अपाङ्गता भएका व्यक्तिलाई सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।
बूढानीलकण्ठ–१० मा रहेको अपाङ्ग अशक्त सेवा केन्द्रमा शारीरिक रुपले अपाङ्गता भएका व्यक्तिहरुसँगै केही बालबालिका पनि रहेका छन् ।