काठमाडौं । एमसीसी र सीमा अतिक्रमण विरुद्ध संयुक्त संघर्ष गरिरहेका नेकपा (मसाल) सहितका नौ रानीतिक दलले प्रधानमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । संसदबाट एमसीसी पारित नगर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन बुझाइएको हो ।
मंगलबार नौदलीय प्रतिनिधिमण्डलले ज्ञापनपत्र बुझाएको नेकपा (मसला)का प्रवक्ता रामप्रकाश पुरीले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा राष्ट्रिय जनमोर्चाका सांसद, प्रवक्ता एवं उपाध्यक्ष दुर्गा पौडेल, राजमोका केन्द्रीय सदस्य घनश्याम न्यौपाने, नेकपा (क्रान्तिकारी–माओवादी) का दिनेश शर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी जगुरेल, नेकपा (माले)का महासचिव सिपी मैनाली, स्थायी समिति सदस्य दिनानाथ घिमिरे, नेकपाका संयोजक रषि कट्टेल,जनसमाजवादी पार्टीका डम्बर कार्की, नेकपा (माओवादी केन्द्र)का तिलक थापामगर र राष्ट्रिय जनजागरण परिषदका महेन्द्रप्रसाद जैशी सहभागी हुनुहुन्थ्यो ।
नौ दलले आगामी फगुन ३ गते नेपालका सबै जिल्लाहरुमा संयुक्त विरोध सभा गर्ने जनाएका छन् । यस्तै, फागुन ५ गते ललितपुरको लगनखेलमा बृहद् जन संवाद कार्यक्रम गर्ने तथा ८ गते माइतीघरमण्डलाबाट ब्यानर र प्लेकार्ड सहित जुलुस प्रदर्शन गर्दै संसद भवन बाहिर पुगेर जन सभा गर्ने कार्यक्रम रहेको मसाल प्रवक्ता पुरीले बताउनुभयो । देशको सार्वभौमिकता र अखण्डताको रक्षाका निमित्त आयोजना गरिएका कार्यक्रमहरुमा सम्पूर्ण देशभक्त जनतालाई सहभागि बन्न नौ दलले अपिल गरेका छन् ।
यो पनि पढ्नुहोस्ः
एमसीसी पास नगर्न नौ दलले प्रधानमन्त्रीलाई भेटेरै दबाब दिने