काठमाडौँ । नेकपा (मसाल) ले आज भएको निर्वाचनमा रामचन्द्र पौडेल विजयी भएकोमा बधाई दिएको छ ।
अहिलेको राष्ट्रपति निर्वाचनमा पौडेलको विजय सामान्य विषय मात्रै नभएर प्रतिगमनका विरुद्धको सङ्घर्षमा निर्णयात्मक विजय पनि भएको तर्कका साथ पार्टीले राष्ट्रपति पौडेलप्रति बधाई ज्ञापन गरेको हो ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ फागुन २५ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले आफ्नो यस्तो धारणा व्यक्त गरेको हो ।
वक्तव्यमा राजावादीहरूको गणतन्त्र र धर्म निरपेक्षतासमेत विरुद्धको क्रियाकलापको प्रसङ्ग उठाउँदै प्रतिगामी खतराका विरुद्ध राजनीतिक शक्तिहरूमाझ बलियो एकता आवश्यक रहेकोमा जोड दिइएको छ ।
राष्ट्रपति निर्वाचनमा सहकार्य गरेका अरू दलहरूसित कैयौँ राजनीतिक मतभेद रहेको स्पष्ट पार्दै पार्टीले लोकतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि उनीहरूसित सहकार्य गरिएको उल्लेख छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“राष्ट्रपतिमा सम्माननीय रामचन्द्र पौडेल विजयी भएकोमा नेकपा (मसाल) ले उहाँलाई बधाई दिन्छ । अहिले राष्ट्रपतिको चुनावमा उहाँको जुन विजय भएको छ, त्यो सामान्य विषय मात्रै नभएर प्रतिगमनका विरुद्धको सङ्घर्षमा निर्णयात्मक विजय पनि हो । त्यो विजयबाट जनताको महान् आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धिहरू गणतन्त्र र धर्म निरपेक्षतासमेतमा महत्त्वपूर्ण मदत पुग्ने छ भन्ने आशा गरेका छौँ ।
हाम्रो यो स्पष्ट सोचाइ छ कि प्रतिगमनको खतरा अझै पनि गम्भीर छ । राजावादीहरूले संसद्भित्र र बाहिर गणतन्त्र र धर्म निरपेक्षतासमेतका विरुद्ध अगाडि बढाइरहेको गतिविधिबाट यो कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा गणतन्त्र र धर्म निरपेक्षतासमेतको पक्षमा भएका राजनीतिक शक्तिहरूमाझ बलियो एकताको आवश्यकता रहेको कुरामा हामीले विशेष जोड दिन्छौँ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाली काङ्ग्रेस र विभिन्न मधेसवादी सङ्गठनहरूसित हाम्रा कैयौँ राजनीतिक मतभेद छन् तैपनि हामीले उनीहरूसितको सहकार्य तथा राष्ट्रपतिको चुनावमा पनि उनीहरूसित कार्यगत एकता गर्नुको कारण यो हो कि ती सबै प्रतिगमनको विरुद्ध तथा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षतासमेतको पक्षमा सङ्घर्ष गर्दै आएका शक्तिहरू हुन् । त्यसैले हामीले बारम्बार उनीहरूसित राजनीतिक मतभेदका बाबजुद एकताको नीति अपनाउँदै आएका छौँ ।
अन्तमा, हामी सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको सफल कार्यकालको कामना गर्दछौँ ।”