काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन्।
सभापति देउवाले लेखेको पत्र कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बालकोट पुगेर ओलीलाई बुझाएका छन्।
आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेल अरूभन्दा योग्य उमेदवार रहेका भन्दै देउवाले ओलीसँग भोट मागेका हुन् ।
एमालेले पनि राष्ट्रपतिमा आफ्ना उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।
यस्तो छ देउवाले पठाएको पत्र
श्री केपी शर्मा ओलीजी, अध्यक्ष नेकपा एमाले
रास्ट्रपति निर्वाचनमा समर्थन या मित्रवत प्रतिस्पर्धाका लागि यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो रास्ट्रपति पदको निर्वाचनमा यतिबेला हामी खुला प्रतिस्पर्धाको क्रममा लोकतान्त्रिक प्रणालीको सौन्दर्य अनुरुप आआफ्ना दृष्टिकोण र उम्मेदवारका साथ खडा छौं । लोकतन्त्र भन्नु निर्वाचन मात्र होइन र निर्वाचन भन्नु जितहार मात्र होइन, हामी जान्दछौं । यो अभ्यासले समाजलाई सुसंस्कृत सन्देश दिन सक्नुपर्छ । त्यही स्मरणसाथ यो पत्र यहाँलाई लेखिरहेको छु र रास्ट्रपति पदमा माननीय श्री रामचन्द्र पौडेललाई विजयी गराउन उपयुक्त हुने विषयमा ध्यानाकर्षण गरिरहेको छु ।
रास्ट्रपति केवल एउटा पद नभएर स्वयं आफैंमा उच्च गरिमायुक्त संस्था हो भन्ने हामी जान्दछौं । यस्तो संस्थाको नेतृत्व चयन गरिरहँदा सम्भव भएसम्म बृहत्तर सहमति निर्माण हुनसकोस् भन्ने आम अपेक्षा हुन्छ भने सहमति हुन नसक्दा प्रतिस्पर्धामा आवेगमुक्त सुसंस्कृत अभ्यासको खोजी हुन्छ । विमतिबीच पनि सहमतिको प्रयास अनि प्रतिस्पर्धाबिच पनी आपसमा मत माग्ने संस्कृति हाम्रो बिशिस्ट पहिचान रहिआएको छ ।
यही पृष्ठभुमिमा माननीय पौडेलका लागि रास्ट्रपतिमा तपाईं समेतसँग मत माग्नु र विमतिबिचको प्रतिस्पर्धामा पनि हार्दिकता प्रकट गर्नु आफ्नो कर्तव्य ठानेको छु । सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व त हुहुहुन्छ नै संविधान प्रदत्त संवैधानिक दायित्व राजनैतिक आग्रहहरु भन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुन्छ ।
संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यभार कुशलतापूर्वक सम्पादन गर्दै देशको आर्थिक–सामाजिक रुपान्तरण तर्फ गतिशील ढंगले अघिबढ्नु हामी सबैको साझा दायित्व हो । यो दायित्व तपाईं हामीले निभाइरहँदा निर्विवाद अभिभावकत्व निभाउन पौडेल सुयोग्य साबित हुनुहुने विश्वास म यहाँलाई दिलाउन चाहन्छु । जय नेपाल ।
शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस
०७९ फागुन १५