काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनेबारे छलफल गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपतिमा नेपालको नाम प्रस्ताव गरेका हुन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको बैठकमा ओलीले नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका ओलीनिकट एक नेताले बताए । बैठकमा माधव नेपालसँगै एमालेका उपाध्यक्ष सुवाश नेम्वाङको नाममा पनि छलफल भएको ती नेताले बताए ।
एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपतिको उम्मेदवार तय गर्न बुधबार विहान बालुवाटारमा एक्लाएक्लै वार्ता भएको थियो ।
एकीकृत समाजवादीले पनि राष्ट्रिय सहमति भए वा जित्ने अवस्था भएमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपतिमा अघि सार्ने रणनीति लिएको छ ।
नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा आफ्नै उम्मेदवार उठाउने र माओवादीको सहयोगमा जिताउने रणनीति लिएको छ। कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ।
राष्ट्रपति चुनावका लागि माओवादी केन्द्र निर्णायक छ। उसले जुन दललाई सहमर्थन गर्छ सोही दलको उम्मेदवार राष्ट्रपतिमा जित्ने निश्चितजस्तै छ।
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका हुन्। फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।