काठमाडौं । कानुन व्यवसायीहरुले नागरिकता सम्बन्धी ऐनमा रहेका राष्ट्रघाती प्रावधानविरुद्ध मिलेर जान राष्ट्रिय जनमोर्चाको नेतृत्वसँग आग्रह गरेका छन् ।
शुक्रबार राजमो अध्यक्ष चित्रबहादुर केसीसँग काठमाडौं कपनस्थित राजमो केन्द्रीय कार्यालयमा भेट गरी कानुन व्यवसायीले यस्तो प्रस्ताव गरेका हुन्।
वरिष्ठ अधिवक्ता एसके तिमिल्सेनासहितको प्रतिनिधिमण्डलले राजमो नेतृत्वलाई नागरिकता कानुनमा भएका विभिन्न प्रावधानहरुबारे सचेत गराएको महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
‘उहाँहरुले नागरिकता सम्बन्धमा भएका कैयौँ गलत प्रावधानबारे हामीलाई बताउनुभयो । नेपाल जस्तो जनसांख्यिक आक्रमण भइरहेको देशमा नागरिकता खुकुलो हुनुहुन्न भन्ने उहाँहरुको धारणा थियो’ भट्टले भन्नुभयो, ‘त्यसविषयमा सँगै काम गर्न उहाँहरुले प्रस्ताव राख्नुभएको छ । धेरै कुरामा हाम्रा धारणा मिल्छन् ।’
यद्यपी कानुन व्यवसायीहरुले जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिनुपर्नेमा जोड दिएका थिए । केही सर्तहरु राखेर त्यस्तो नागरिकता दिनुपर्ने वरिष्ठ अधिवक्ता तिमिल्सेनाको भनाई थियो । तर अध्यक्ष केसीले जन्मको आधारमा वंशजको नागरिकता दिन नहुने स्पष्ट पार्नुभयो ।
‘कति पुस्ता बसेपछि वंजको नागरिक हुने, त्यसबारे स्पष्ट हुनुपर्छ’ केसीले भन्नुभयो, ‘नेपालमा जन्मिँदैमा सबै नेपाली हुँदैनन् ।’
पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई आधार मान्दा अहिले १०/१२ पुस्तापछि नेपाली वंशजको नागरिक भएको उल्लेख गर्दै केसीले नेपाल राज्यका लागि कुनै योगदान नभएका व्यक्तिहरुले १/२ पुस्तामै वंशजको अधिकार खोज्न नमिल्ने बताउनुभयो ।
यस्तै, वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठले नागरिकताका कतिपय प्रावधान पहिले नै राष्ट्रघाती प्रकारले आइसकेको र पुनः नागरिकता विधेयक ल्याउने सरकारको तयारी रहेको भन्दै राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष केसीले राष्ट्रियता जोगाउने सवालमा सबै शक्तिसँग मिलेर जान राजमो तयार रहेको बताउनुभएको थियो ।
सो छलफलमा राजमो उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधु क्षेत्री, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्मा लगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।