काठमाडौं । यातायात मजदुर र व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । मंगलबार सिंहदरबारमा भएको वार्तापछि आन्दोलन स्थगित गरिएको हो ।
उपप्रधान एवम् यातायात तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितीमा यातायात मजदुर तथा व्यवसायीका नेताहरूसँग सरकारी कार्यदलले वार्ता गरेको थियो । सहमतिपछि आन्दोलन फिर्ता लिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले बताए।
सोमबार नयाँ बसपार्कमा पक्राउ परेका मजदुरहरूलाई तत्काल फिर्ता गर्ने, मजदुरलाई हातपात गर्ने ल्होत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर, पंकज मल्ललाई गिरफ्तार गरेर कारबाही गर्ने लगायतका सहमति भएको राईले बताए।
यस्तै, यसअघि यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरु थपिएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेको थियो। लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका उनीहरु मंगलबार बिहान सरकारसँग वार्तामा जुटेका थिए ।
मंगलबार बिहानैदेखि सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधारणले सास्ती व्यहोर्न परेको थियो।