काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा नेपाली कांग्रेसको संस्थापन र इतर समूहनिकट विद्यार्थीबीच झडप भएको छ ।
नयाँ बानेश्वरस्थित नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का दुई समूहबीच ढुंगा हानाहान भएको हो ।
अध्यक्ष दुजाङ शेर्पामाथि एकलौटी गरेको आरोप लगाउँदै समानान्तर गतिविधि गर्दै आएको इतर समूह भेटघाट कार्यक्रम गर्न क्याम्पस पुगेका बेला संस्थापन समूहले ढुंगामुढा गरेको बताइएको छ।
इतर समूहले नेविसंघको वैधानिक पूर्णता र संगठन भित्रको एकाधिकारविरुद्ध खबरदारी गर्दै आएको छ ।
समानान्तर गतिविधि गर्दै आएको इतर समूहले खबरदारी भेला र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका लागि गर्न लागेको छलफलका क्रममा दुई समूहबीच झडप भएको हो ।
अध्यक्ष शेर्पानिकट विद्यार्थीहरुले आफूहरुको कार्यक्रम विथोल्न क्याम्पसमा गुण्डा परिचालन गरेको एक विद्यार्थी नेताले आरोप लगाए ।