कृष्ण केसी, चितवन ।
राष्ट्रिय जनमोर्चाले देशब्यापी रुपमा सञ्चालन गरेको संघीयता खारेजीको अभियान अन्तर्गत चितवनमा पनि विरोध सभाको आयोजना गरिएको छ ।
शनिबार टाँडी बजारमा संघीयताको खारेजी र एमसीसीविरुद्धको आन्दोलन अन्तरगत विरोध सभा सम्पन्न भएको हो ।
राजमो चितवनले आयोजना गरेको विरोध सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता मेगराज ढकालले सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा सानो पार्टी भए पनि उसको विचार महान र शक्तिसाली भएको बताउनु भयो । उहाँले राष्ट्रियको मुद्दामा राष्ट्रिय जनमोर्चाले मात्रै इमान्दारीपूर्वक जनताको आवाज निरन्तर उठाएको बताउनु भयो ।
त्यस्तै, राजमोका केन्द्रीय सदस्य तथा चितवन जिल्ला अधक्ष्य डम्मर पुरीले बन्दुकले विचार निर्माण गर्ने होइन विचारले बन्दुक निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी लगायत पार्टी राजनीतिक विचारबाट बिचलित भैसकेको आरोप पनि लगाउनुभयो ।
नेता पुरीले नेपाली जनतालाई चर्को कर असुल गरेर संघीयताको नाममा आफ्ना कार्यकर्ता भर्ती गर्ने काम भएको बताउनुभयो ।
देवी शर्माको सञ्चालनबाट अघि बढेको कार्यक्रमको अध्यक्षता डम्मर पुरीले गर्नुभएको थियो । राजमोले संघीयता खारेजीका लागि देशका विभिन्न स्थानमा संघर्षका कार्यक्रम गरिरहेको छ ।