काठमाडौं । बिहीबार हुने सभामुखको चुनावका लागि आज (बुधबार) दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ । सत्तागठबन्धनको भागबण्डामा सभामुख एमालेको भागमा परेको छ ।
नेकपा एमालेले स्थायी समिति सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र घिमिरेलाई ओलीको ठाडो प्रस्तावमा सभामुखको उम्मेदवार बनाइएको हो।
घिमिरे झापा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।
यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराई सभामुख बन्ने चर्चा थियो। अन्तिम अवस्थामा घिमिरेले सभामुख उम्मेदवार बन्ने अवसर पाएका हुन्।
संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । यसपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गरिनेछ।
सभामुख चयन गर्न निर्वाचन बिहीबार प्रतिनिधि सभाको बैठकमा हुनेछ। त्यसका लागि बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको छ।
संसद् बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
