श्याम घिमिरे, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको चौथो जिल्ला सम्मेलन पछिको प्रथम बिस्तारीत बैठक शनिशार सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकको उद्घाटन अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले गर्नुभयो ।
बैठकले अर्घाखाँचीका ६ वटै पालिकाहरुमा आगामी फागुन महिनाभर १ महिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जसको लागी सबै पालिकाहरुमा अभियान सञ्चालनको समिति गठन गरिएको राजमो अर्घाखाँचीले जनाएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रियताको लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभयो । रेग्मीले भारतले कब्जा गरेको लिम्पियाधुरादेखि कालापानी र लिपुलेक हुँदै सुस्तासम्मको भूमी जुनसुकै उपायवाट भएपनि फिर्ता गरेर आफ्नो अखण्डताको रक्षा गर्न नेपाली जनता तयार हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले एमसीसी स्वीकार गरेर ओली सरकारले देशलाई साम्राज्यवादी ध्रुर्वतर्फ लैजान खोजेको आरोप लगाउदै ‘होलीवाइन, एमसीसी र आइपीसमा संलग्नता तथा बिमस्टेकमा सहभागिताले देशलाई अमेरिकी साम्राज्यवादी क्याम्पमा लैजाने प्रयास गरेको बताउनुभयो । सरकार नेपालको असंलग्न परराष्ट्र नीति विपरित हिँडिरहेको आरोप लगाउँदै भट्टले संसदले नागरिकता संशोधन विधेयक पास गरे नेपाल सिक्किम बन्ने दाबि समेत गर्नुभयो ।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तब्य र सचिव बाबुराम पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजमो नेता शेर बहादुर बिसी, सागर केसी, झबिलाल थापा, यमलाल पोख्रेल, पशुपति ढकाल, कल्पना पोख्रेल, राजेन्द्र नेपाली, पुरन नेपाली लगायतले शुभकामना दिनुभएको थियो ।

