धनगढी । महिलालाई डर,त्रास देखाएर अश्लिल भिडिओ बनाइ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका १ का ३५ वर्षीय पदमराज भट्ट रहेका छन् ।
भट्टलाई कैलाली प्रहरीले बिहीबार पक्राउ गरेको हो । बैंक तथा संघ संस्थाको प्रमुख बताउँदै वास्तविक परिचय लुकाएर उनले विभिन्न व्यक्तिलाई ठगी गरेको जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
उनका अनुअसार भट्टले कैलाली र कन्चनपुरका व्यक्तिलाई ठग्दै आएका थिए । उनले कसैलाई प्रलोभनमा पार्ने र महिलाहरुलाई ललाई फकाई उनीहरुको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु भन्दै ठगी गर्ने गरेको पाइएको छ ।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई कैलालीको धनगढी उपमहानगरपालिका ३ बाट पक्राउ गरेको हो । उनीबाट ठगीमा परी पीडित भएका अन्य व्यक्तिहरु पनि हुन सक्ने भन्दै प्रमाणसहित जाहेरी दरखास्त दिन प्रहरीले अनुरोध गरेको छ ।