काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका नेताहरुले निर्वाचनमा अन्तर्घात भएको भन्दै छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
सोमबार बसेको राजनीतिक समितिको बैठकमा गत निर्वाचनको समीक्षा गर्दै अन्तर्घात गर्नेमाथि कारबाही गर्नुपर्ने माग उठेको हो ।
आज पहिलो दिनको बैठकमा बोल्ने अधिकांश नेताहरुले निर्वाचनको निर्मम समीक्षा हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने माग उठाएका जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै, निर्वाचनको सम्मुखमा गठबन्धन तोडेर एमालेसँग तालमेल गर्नुले कार्यकर्ताहरुमा अन्योल सिर्जना गरेको र अपेक्षाकृत परिणाम हासिल गर्न नसकिएको केही नेताहरुले तर्क राखे ।
बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभा/प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भयो ।
एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरुले नाम टिपाएका छन् । आज २७ जना नेताहरुले ती प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । बाँकी एजेण्डामाथि भोलि छलफल हुने जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।