नेकपा (मसाल) को २०७९ मङ्सिर २४–२६ गते बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत तथा पारित
(क)
यही २०७९ साल मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव सम्पन्न भएको छ । त्यो चुनावको मूल्याङ्कन गरेर हामीले आगामी नीति र कार्यक्रम निश्चित गर्नुपरेको छ । त्यो चुनावबारे विचार गर्दा हामीले त्योसित जोडिएको सम्पूर्ण राजनीतिक स्थितिबारे पनि विचार गर्नुपर्ने आवश्यकता छ । त्यो चुनावका सन्दर्भमा हाम्रो वा अन्य पार्टीहरूको कति जित हार भयो ? त्यो कुरामाथि मात्र विचार गरेर पुग्ने छैन । त्यो चुनावको बेलामा विभिन्न देशी र विदेशी शक्तिहरूले खेलेको भूमिका तथा तिनीहरूको देशको राजनीतिमा सम्पूर्ण रूपले कति असर पर्ने छ ? त्यसबारे पनि हामीले विचार गर्नुपर्ने आवश्यकता छ । पार्टीको भूमिकामाथि विचार गर्दा आगामी दिनमा हाम्रो नीति, कार्यक्रम र कार्यदिशा कसरी अगाडि बढाउने ? त्योसित जोडिएका सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक प्रश्नबारे पनि हामीले मूल्याङ्कन गर्नुपर्ने आवश्यकता हुने छ । ती कुरामाथि ध्यान दिएर नै हामीले अहिलेको चुनावको मूल्याङ्कन गर्नुपर्ने छ । त्यस सिलसिलामा मुख्यत: तलका विषयमा विचार गर्नुपर्ने आवश्यकता छ ।
१. मङ्सिर ४ गते सम्पन्न चुनावको मुख्य उद्देश्य प्रतिगमनलाई पराजित गर्नु नै थियो । हाम्रो त्यो उद्देश्य सामान्य रूपमा पूरा भएको छ । त्यो उद्देश्य पूरा गर्न पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको महत्त्वपूर्ण भूमिका रहेको छ । जनताको उच्च स्तरको चेतनाका कारणले नै प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको छ । त्यसका लागि हामीले जनतालाई धन्यवाद दिनुपर्छ ।
२. नेपालको राजनीतिक इतिहासमा जब जब पनि प्रतिगमनको खतरा पैदा हुन्छ, त्यो अवस्थामा प्रथम– आपसमा गम्भीर सैद्धान्तिक र राजनैतिक मतभेद भएका राजनीतिक पार्टीले पनि आपसमा एकताबद्ध भएर प्रतिगमनका विरुद्धको सङ्घर्षमा उत्रने गरेको ऐतिहासिक परम्परा छ । द्वितीय– उच्च प्रकारको जनचेतनाका कारणले जनता बारम्बार प्रतिगमनलाई पराजित गर्न सफल हुने गरेका छन् । त्यो परम्परालाई कायम राख्दै अहिले पनि आपसमा गम्भीर प्रकारका मतभेद भएका राजनीतिक पार्टीले गठबन्धन वा चुनावी तालमेल गरेर प्रतिगमनका विरुद्ध सङ्घर्षमा उत्रे र त्यसलाई (प्रतिगमनलाई) पराजित गर्न सफल भएका छन् ।
३. २०४६ साल वा २०६२–६३ सालमा प्रतिगमनका विरुद्धको आन्दोलनको मुख्य उद्देश्य निरङ्कुश राजतन्त्र वा प्रतिगमनलाई समाप्त गर्नु थियो तर अहिलेको प्रतिगमनका विरुद्धको सङ्घर्षको मुख्य उद्देश्य आन्दोलनद्वारा प्राप्त ऐतिहासिक उपलब्धि वा गणतन्त्रसमेतको रक्षा गर्नु थियो । राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षतालाई समाप्त गर्न करिब डेढ दशकदेखि नै अभियान चलाउ“दै आएका छन् । अब त्यो अभियानमा एमाले पनि थपिएको छ र अहिले त्यसले नै प्रतिगमनको मुख्य नेतृत्व गरिरहेको छ । ओलीले चुनावमा दुईतिहाइ वा बहुमत प्राप्त गर्ने दाबी गरेका थिए । यदि गठबन्धन बन्न नसकेको भए उनले आफ्नो ती उद्देश्य पूरा गर्ने थिए । उनले बारम्बार यो कुरामा जोड दिएका थिए कि गठबन्धन भङ्ग भएर त्यसमा समावेश भएका राजनीतिक दल एक्लाएक्लै चुनावमा उत्रनुपर्दछ । त्यसो भएको भए उनी बहुमतमा आउने धेरै सम्भावना थियो तर पाँचदलीय गठबन्धन वा चुनावी तालमेलका कारणले उनका ती सबै दाबी असफल भएका छन् । ओलीको रणनीति सफल भएको भए देश निश्चित रूपले प्रतिगमन र अधिनायकवादतिर जाने सम्भावना थियो । ओलीले संसद्मा दुईतिहाइको कुरा परै छ, बहुमत पनि प्राप्त गर्न सकेनन् । त्यो गठबन्धन वा चुनावी तालमेलको मुख्य सफलता हो । त्यो कारणले देश प्रतिगमन वा अधिनायकवादतिर जानुबाट रोकिएको छ ।
४. ओली वा एमालेका नेताहरूले बारम्बार यो स्पष्ट गर्ने गरेका थिए कि गठबन्धनलाई नतोडिकन चुनावमा उनीहरूलाई सफलता मिल्न सक्दैन । त्यसका लागि उनीहरूले विभिन्न प्रकारले प्रयत्न पनि गरेका थिए । स्वयम् गठबन्धनसित सम्बन्धित कतिपय दलहरू, खास गरेर नेकाभित्रको प्रतिपक्षले गठबन्धनका विरुद्ध सैद्धान्तिक रूपले नै हमला गरेको थियो । उनीहरूको मुख्य जोड यो कुरामा थियो कि “कम्युनिस्टहरूसित कुनै प्रकारको एकता वा गठबन्धन गर्न हुँदैन ।” आफ्नोे पार्टीको केन्द्रीय कमिटीमा पनि उनीहरूले (नेकाको प्रतिपक्ष) त्यही प्रकारको अडान लिएका थिए । नेकाको केन्द्रीय कमिटीको बहुमतले गठबन्धनको पक्षमा निर्णय गरेको थियो । त्यसकारण नीतिगत रूपमा उनीहरूले त्यो निर्णयलाई स्वीकार गरे तर व्यवहारमा उनीहरूले त्यो नीतिलाई असफल पार्न नै मुख्य शक्ति लगाए यद्यपि कतिपय जिल्लामा स्थानीय स्तरमा नेकाभित्रको प्रतिपक्षका कतिपय स्थानीय नेता र कार्यकर्ताले व्यक्तिगत रूपमा गठबन्धनलाई नै समर्थन गरेको वा संस्थापन पक्षका कतिपय नेता वा कार्यकर्ताले व्यक्तिगत रूपमा गठबन्धनका उम्मेदवारलाई भोट नदिएका उदाहरण पनि पाइन्छन् तैपनि देशभरको चुनावको सर्सरी मूल्याङ्कन गर्दा के पाइन्छ भने मूल रूपमा नेकाको संस्थापन पक्षले गठबन्धनको पक्षमा भएको नेकाकोे गठबन्धनका उम्मेदवारलाई जिताउन इमानदारितापूर्वक प्रयत्न गरेको तथा प्रतिपक्षले गठबन्धनका उम्मेदवार मात्र होइन, आफ्नै पार्टीका पनि संस्थापन पक्षका उम्मेदवारलाई हराउन प्रयत्न गरेको पाइन्छ । नेकाभित्रको प्रतिपक्षको त्यस प्रकारको नीतिका वैचारिक स्रोत के थिए र देशको राजनीतिमा त्यसका कुन प्रकारका गम्भीर परिणाम हुने छन् ? त्यसमाथि हामीले पछि प्रकाश हाल्ने प्रयत्न गर्ने छौँ । त्यसरी नेकाभित्रको प्रतिपक्ष गठबन्धन वा आफ्नै पार्टीका करिब दुई दर्जन उम्मेदवारलाई हराउन सफल भएको अनुमान गर्न सकिन्छ । त्यसका पछाडि उनीहरूको राजनीतिक उद्देश्य के थियो ? त्यसमाथि पनि हामीले पछि प्रकाश हाल्ने प्रयत्न गर्ने छौँ ।
५. कमरेड पुष्पलालले निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध कम्युनिस्ट पार्टी र नेपाली काङ्ग्रेसले संयुक्त भएर सङ्घर्ष गर्ने कुरामा जोड दिएका थिए तर विपीले कम्युिनस्टहरूसित कार्यगत एकताको प्रश्नलाई अस्वीकार गरेका थिए । त्यसैले विपी जीवित रह“दासम्म निरङ्कुश व्यवस्थाका विरुद्ध कम्युनिस्ट र काङ्ग्रेसको संयुक्त आन्दोलनको नीति कार्यान्वयन हुन सकेको थिएन । पछि गणेशमानले त्यो नीतिलाई अपनाए र २०४६ सालमा नेपाली काङ्ग्रेस र सबै वामपन्थी शक्तिहरूले संयुक्त रूपमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाका विरुद्ध संयुक्त भएर सङ्घर्ष गरे । त्यसको परिणामस्वरूप नै देशमा पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भयो र बहुदलीय व्यवस्था कायम भयो । यदि नेपाली काङ्ग्रेसले विपीको नीतिलाई नै अनुशरण गरिरहेको भए सम्भवत: २०४६ सालपछि पनि पञ्चायती तानाशाही व्यवस्था लामो समयसम्म कायम रहिरहेको हुन्थ्यो । गणेशमानको नीतिलाई पछि गिरिजाप्रसाद कोइराला र शुशील कोइरालाले पनि अगाडि बढाउ“दै गए र अहिले शेरबहादुर देउवाले पनि त्यो नीतिलाई अनुशरण गरेको पाइन्छ ।
६. विपीले अपनाएको नीति भनेर सम्भवत: उनका उत्तराधिकारीले अहिले पनि कम्युनिस्टहरूसित कुनै एकता नगर्ने नीतिलाई समातेर बसेका छन् । यदि नेकाको नेतृत्वले अहिले पनि विपीको कम्युनिस्टहरूसित एकता नगर्ने नीतिलाई नै अनुशरण गरिरहेको भए सम्भवत: अहिले पनि प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने थिएन । विपीको त्यो बेलाको नीतिलाई उनका उत्तराधिकारीले जडवादी रूपमा लिएको देखिन्छ । उनले (विपीले) त्यो बेला केही हदसम्म आफ्नो सैद्धान्तिक मान्यता र अंशत: त्यो बेला भारतका सोसलिस्टहरूमा विद्यमान उग्र कम्युनिस्ट विरोधी नीतिको असरमा परेर कम्युनिस्टहरूसित नमिल्ने नीति लिएको भए पनि पछि देशको बदलिएको सन्दर्भ र राजनीतिक आवश्यकताअनुसार उनले आफ्नो त्यो नीतिमा परिवर्तन गर्न सक्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न तर विपीका उत्तराधिकारीले विपीको त्यो बेलाको नीतिलाई अहिलेको राजनीतिक आवश्यकताअनुसार गतिशील रूपमा नलिएर जडवादी रूपमा लिएको पाइन्छ । उनीहरूको त्यो नीतिले अहिलेको चुनावमा गठबन्धनलाई मात्र होइन, स्वयम् काङ्गे्रसलाई पनि धेरै नोक्सान त पुर्याएको छ नै, आगामी दिनमा पनि त्यो नीतिले देशलाई गम्भीर क्षति पुर्याउन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
७. नेकाभित्रको प्रतिपक्षको गठबन्धन वा कम्युनिस्टहरूसितको एकतालाई विरोध गर्ने नीतिको पछाडि अर्काे स्रोतले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । अमेरिकी साम्राज्यवादले विश्वव्यापी रूपमा नै कम्युनिस्ट विरोधी रणनीति अपनाएको कुरा सर्वविदित नै छ । त्यसले संसारका विभिन्न राजनीतिक पार्टी वा सङ्घसंस्थालाई पनि त्यो नीतिलाई अनुशरण गर्न लगाउँछ । अमेरिकाको त्यो नीतिको नेकाभित्रको प्रतिपक्षमाथि पनि असर परेको र त्यो कारणले अहिले पनि उनीहरूले कट्टर कम्युनिस्ट विरोधी तथा गठबन्धन विरोधी नीति अपनाएको त होइन ? उक्त कुरामाथि विचार गर्दा उनीहरूको गठबन्धन विरोधी नीतिका पछाडि अमेरिकाको कम्युनिस्ट विरोधी रणनीतिले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
८. विभिन्न अनलाइन वा पत्रपत्रिकाको अध्ययनबाट सिआइएको निर्देशनमा नेपालमा कतिपय ‘स्वतन्त्र’ राजनीतिक सङ्गठनको गठन भएको र त्यस प्रकारका सङ्गठनसित सम्बन्धित व्यक्तिहरूसित नेकाको प्रतिपक्षका उच्च तहका कतिपय नेताको पनि घनिष्ट सम्बन्ध भएको कुरा पनि सञ्चार माध्यमले बाहिर ल्याएका छन् । त्यो अवस्थामा यो प्रश्न उठाउनका लागि ठाउँ छ : नेकाभित्रको प्रतिपक्षले अमेरिकाको त्यही रणनीतिअन्तर्गत तथा नेपालका अमेरिकापरस्त तत्त्वसित साँठगाँठ गरेर गठबन्धनका वामपन्थी उम्मेदवारलाई चुनावमा पराजित गर्ने नीति लिएको ता होइन ?
९. जस्तो कि माथि भनियो नेकाभित्रको प्रतिपक्षले खालि गठबन्धनका वामपन्थी उम्मेदवारलाई मात्र होइन, स्वयम् नेकाका कतिपय उम्मेदवारलाई पनि हराउन प्रयत्न गरेको देखिन्छ । त्यो कुरा केही अस्वाभाविक र नमिल्दो जस्तो देखिन्छ तर त्यो कार्य पनि एउटा सुनियोजित चालअन्तर्गत गरिएको निष्कर्ष निकाल्न मुस्किल पर्दैन । नेकाभित्रको प्रतिपक्षले संसदीय दलको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने र त्यसरी प्रधानमन्त्री बन्नेसमेत योजनाअन्तर्गत काम गरिरहेको छ । त्यसका लागि चुनावमा संस्थापन पक्षका उम्मेदवारलाई हराउने र उनीहरूलाई अल्पमतमा पार्ने योजनाअन्तर्गत नै उनीहरूले आफ्नै पार्टीका संस्थापन पक्षका उम्मेदवारलाई पनि चुनावमा हराउने नीति लिएको देखिन्छ तर नेतृत्वको महत्त्वाकाङ्क्षा पूरा गर्नका लागि उनीहरूले देशको सम्पूर्ण राजनीतिमा नै साङ्घातिक असर पार्ने र गठबन्धनलाई पराजय गर्ने जुन नीति लिएका छन्, त्यसलाई हामीले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ ।
१०. गठबन्धनले एमालेले प्रतिगामी नीति अपनाउँछ भन्ने स्पष्ट दृष्टिकोण राख्दछ र त्यही दृष्टिकोणअनुसार चुनावमा प्रतिगमनलाई हराउन पाँचदलीय गठबन्धन गरेको थियो तर नेकाभित्रको प्रतिपक्षले एमालेलाई प्रतिगामी रूपमा व्याख्या गर्ने कुरालाई अस्वीकार गर्दछ । उनीहरूको मुख्य जोड नेका र एमालेका बिचमा गठबन्धन सरकार बन्नुपर्छ भन्ने कुरातर्फ नै छ । त्यो पक्षका कतिपय नेताका सामाजिक सञ्जालमा प्रकाशित अभिव्यक्तिबाट पनि त्यो कुरामा कुनै शङ्का रहन्न । त्यो उद्देश्य पूरा गर्न नै उनीहरूले एकातिर, गठबन्धन वा नेकाका उम्मेदवारलाई हराएर गठबन्धनलाई बहुमतमा आउन नदिएर त्यसको सरकार बन्न नदिने र अर्कातिर, नेका र एमालेको गठबन्धन सरकार गठनका लागि आधार तयार पार्ने प्रयत्न गरिहेका छन् । एक प्रकारले भन्ने हो भने उनीहरूको नीति काफी हदसम्म सफल पनि भएको छ । उनीहरूले अपनाएको नीतिबाट गठबन्धन वा नेकाको संस्थापन पक्षका कैयौँ उम्मेदवार पराजित भएका छन् र गठबन्धनको पक्षमा स्पष्ट बहुमत आउन सकेको छैन । त्यो अवस्थामा उनीहरूको प्रयत्न नेकालाई एमालेसित गठबन्धनको सरकार बनाउन दबाब दिनु नै हुने छ । त्यसका लागि उनीहरूले यो प्रयत्न गर्ने छन् कि सरकार गठनको प्रश्नमा नेका र वामपन्थीका बिचमा विवाद चर्कियोस् र त्यो अवस्थामा नेकालाई एमालेसित गठबन्धन सरकार बनाउनका लागि बाध्य पार्न सकियोस् । एमालेका अध्यक्ष ओलीले यो स्पष्ट गरिसकेका छन् कि उनले गठबन्धनभित्र सरकारको गठनको प्रश्नमा कुन प्रकारको स्थिति सृजना हुन्छ ? त्यसका आधारमा नै आफ्नो सरकार गठनको नीतिलाई अगाडि बढाउने छन् । त्यसको अर्थ हो : गठबन्धनमा फुट भएर नेका एमालेसित मिलेर सरकार बनाउन आएमा नै उनको उद्देश्य पूरा हुने छ । नेकाभित्रको प्रतिपक्षले त्यस प्रकारको स्थिति तयार पार्नका लागि योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेको छ ।
११. नेकाभित्रको प्रतिपक्षको नीतिका कारणले नै गठबन्धन प्रतिगमनलाई पराजित गर्न सफल भए पनि स्वयम् बहुमतमा आउन सकेन । यसले देशमा एक प्रकारको अस्थिर र अनिश्चित राजनीतिक स्थितिको सृजना गर्ने छ । त्यसका कतिपय राजनीतिक दुष्परिणाम हुन सक्ने छन् र त्यसका लागि नेकाभित्रको प्रतिपक्ष नै जिम्मेवार छ ।
१२. विपीले कम्युनिस्टहरूसितको एकताको विरोध गर्नुका साथै राजासित पनि मेलमिलापको नीतिमा जोड दिएका थिए । नेकाभित्रको एउटा पक्षले विपीको त्यो नीतिलाई आधार बनाएर अहिलेको सन्दर्भमा पनि राजासित मेलमिलाप गर्ने कुरामा जोड दिइरहेको छ । त्यसअनुसार उनीहरूले गणतन्त्र समाप्त गर्न र वैधानिक राजतन्त्र कायम गर्ने कुरामा जोड दिइरहेका छन् । उनीहरूले धर्म निरपेक्षताको पनि विरोध गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरामा जोड दिइरहेका छन् । नेकाभित्र त्यस प्रकारका सोचाइ राख्ने पक्षको पनि ठुलो जनमत छ ।
यो सत्य हो कि विपी आफ्नो समयमा वैधानिक राजतन्त्रका पक्षपाती थिए । देशमा निरङ्कुश राजतन्त्र भएको अवस्थामा वैधानिक राजतन्त्र पनि प्रगतिशील व्यवस्था हो । लेनिनले पनि त्यही बताएका छन् । त्यो बेला भारत सरकारले भारतमा शरणार्थी भएर बसेका विपीप्रति असहिष्णु नीति अपनाएको हुनाले नै त्यस प्रकारको बाध्यात्मक अवस्थामा उनले राजाप्रति मेलमिलापको नीति अपनाएर भारतबाट नेपालमा आएका थिए । त्यसपछि नेपालको राजनीतिमा कैयौँ घटनाक्रम हुँदै गए; मुख्यत: २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त र २०५९ सालमा तत्कालीन राजाद्वारा वैधानिक राजतन्त्र वा बहुदलीय व्यवस्थालाई समाप्त गरेर निरङ्कुश राजतन्त्र कायम गर्न गरिएको कारबाही । राजाले बारम्बार अपनाएको त्यस प्रकारको प्रतिगामी कदमको पृष्ठभूमिमा नै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली काङ्ग्रेसले पनि गणतन्त्रको पक्ष लिएको थियो । त्यस प्रकारको बदलिएको परिस्थितिमा विपीले पनि राजासित मेलमिलापको नीति नै लिइराख्दथे भनेर सोच्नु वस्तुवादी सोचाइ होइन । राजाले झन्पछि झन् निरङ्कुश र प्रतिक्रियावादी नीति लिँदै गइरहेको अवस्थामा विपीले गिरिजाभन्दा अगाडि बढेर राजतन्त्रको उन्मूलन गर्ने र गणतन्त्रको पक्षमा आउने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । त्यो वास्तविकतालाई उपेक्षा गरेर अहिले पनि त्यो बेलाको परिस्थितिजन्य बाध्यताका कारणले विपीले लिएको राजाप्रतिको मेलमिलापको नीति वा राष्ट्रिय मेलमिलापको नीतिमाथि जोड दिनु उनलाई (विपीलाई) प्रतिगामी रूपमा उपयोग गर्नु अर्थात्् आफ्ना राजापरस्त नीतिका लागि विपीलाई उपयोग गर्नु नै हो ।
हाम्रो पार्टीले विपीको त्यो नीतिलाई (राष्ट्रिय मेलमिलापको नीतिलाई) त्यो बेला पनि विरोध गरेको थियो । यो सोच्नका लागि आधार छ : विपी जीवित भएको भए स्वयम् उनले त्यो बेलाको राजाप्रतिको मेलमिलापको नीतिलाई विरोध गर्ने थिए र राजतन्त्रको उन्मूलनको सङ्घर्षमा जोड दिने थिए । अहिले देशमा गणतन्त्रसमेत कायम भइसकेको अवस्थामा र राजावादीहरूले गणतन्त्र समाप्त गरेर राजतन्त्रको पुनस्र्थापनाका लागि अभियान चलाइरहेको अवस्थामा विपीको राष्ट्रिय मेलमिलापको कुरा उठाएर राजतन्त्र पुनस्र्थापना गर्न खोज्नु इतिहासको धारालाई पछाडि फर्काउन खोज्ने प्रतिगामी वा राजापरस्त सोचाइ नै हो । अहिले नेकाभित्रको एउटा पक्षले विपीको नाममा त्यही प्रतिगामी नीतिलाई अनुशरण गरिरहेको छ । गणतन्त्र र धर्म निरपेक्षताको पक्ष लिएको हुनाले उनीहरूले गिरिजाको पनि विरोध गर्दछन् ।
१३. साम्राज्यवादी शक्तिहरूको संसारका कुनै पनि देशका सङ्घसंस्था, राजनीतिक दल, संसद्, सरकार मात्र होइन, सेना, पुलिस र प्रशासनमा समेत घुसपैठ गर्ने नीति हुन्छ । भारतले त नेपालमा पहिलेदेखि नै त्यो नीति अपनाउँदै आएको छ । त्यो क्रम मा अब भारतको विस्तारवादी अवस्थाबाट साम्राज्यवादी अवस्थामा सङ्क्रमण भइसकेको छ । त्यसले नेपालमा दशकौँदेखि हस्तक्षेपको नीति अपनाउनुका साथै अब त्यसले नेपालको भूमि (कालापानी क्षेत्र) मा समेत कब्जा गरेको छ र त्यसले सम्पूर्ण नेपालमा अतिक्रमण गर्ने नीति अपनाउँदै गइरहेको छ ।
१४. एमसिसीलाई संसद्द्वारा पारित गराउन नेपालबारे अमेरिकाले अपनाएको हस्तक्षेप त्यसको नेपालप्रतिको हस्तक्षेपको पछिल्लो नाङ्गो उदाहरण हो तर त्यो प्रस्तावलाई पारित गराउन पनि त्यसले नेपालमा धेरै विरोधको सामना गर्नुपर्यो र लामो समयसम्म त्यो सन्धि संसद्द्वारा पारित हुन सकेन र पछि धेरै जोडबल लगाएपछि नै संसद्ले त्यो सन्धिलाई पारित गर्यो यद्यपि हाम्रो पार्टीले संसद्भित्र र बाहिर त्यसका विरुद्ध कडा सङ्घर्ष गरेको थियो तर त्यसको एसपिपी प्रस्ताव संसद्द्वारा पारित भएन । त्यो अवस्थामा अब अमेरिकाले भारतले जस्तै नेपालमा स्वयम् आफ्नो निर्देशनमा चल्ने राजनीतिक पार्टी निर्माण गर्ने र त्यसलाई संसद्मा पुर्याउने र त्यसको माध्यमद्वारा सत्ता पनि कब्जा गर्ने नीति अपनाएको देखिन्छ । अहिलेको चुनावमा अमेरिकाले त्यो दिशामा ठोस पहलकदमी गरेको देखिन्छ । त्यहीअनुसार अमेरिकामा क्रियाशील राजनीतिक पार्टी, स्वतन्त्र पार्टी र त्यसको चुनाव चिह्न (घण्टी) समेतको नमुनामा नेपालमा प्रत्यक्ष रूपले सिआइएको निर्देशनमा चल्ने राजनीतिक पार्टी गठन गरेको र चुनावमा त्यसका उम्मेदवार पनि उठाएको आम रूपमा थाहा भएको कुरा हो । उनीहरूले आवश्यक पूर्वतयारी, सञ्चार माध्यमको प्रयोग, पैसा, इसाई धर्मसमेतको व्यापक प्रयोग गरेर चुनावमा घुसपैठ गरेको देखिन्छ । नेपालको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय हितसमेतका लागि यो गम्भीर समस्या मात्र होइन, गम्भीर खतरा पनि हो । यसबारे अरू गम्भीर चिन्ताको विषय यो हो कि त्यस प्रकारको खतराप्रति विभिन्न राजनैतिक पार्टी, बुद्धिजीवी र आम जनताले पनि कम ध्यान दिएको पाइन्छ । यो अवस्थामा हाम्रो पार्टीले देशको राजनीतिमा साम्राज्यवादी शक्तिद्वारा भइरहेको घुसपैठप्रति उच्च प्रकारको सतर्कता अपनाउन जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।
१५. हाम्रो पार्टीले यो स्पष्ट गरेको छ कि नेपालमा भएका कुनै पनि धार्मिक सम्प्रदायको धार्मिक स्वतन्त्रतालाई हामीले स्वीकार गर्दछौँ तर हाम्रो पार्टीको आठौँ महाधिवेशनले यो पनि स्पष्ट गरेको छ कि कुनै पनि प्रतिगामी वा साम्राज्यवादी उद्देश्य पूरा गर्नका लागि धर्मलाई उपयोग गर्ने कार्यको हामीले विरोध गर्दछौँ । राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि हिन्दु धर्मलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन् र हामीले त्यसको विरोध गर्दै आइरहेका छौँ । भारतीय साम्राज्यवादले पनि नेपालमा हिन्दु धर्मलाई प्रतिगामी उद्देश्यको लागि प्रयोग गर्ने काममा मदत गरिरहेको छ । त्यही प्रकारले साम्राज्यवादीहरूले आफ्नोे साम्राज्यवादी स्वार्थ पूरा गर्नका लागि इसाई धर्मलाई प्रयोग गर्ने कार्य गरिरहेका छन् । त्यस सन्दर्भमा अहिलेको चुनावमा उनीहरूले अपनाएको नीतिबाट नेपालमा इसाई धर्म गम्भीर राजनीतिक खतराका रूपमा अगाडि आएको कुरा पनि छर्लङ्ग भएको छ । खास गरेर चितवनको चुनावले त्यो कुरा छर्लङ्ग पारेको छ । त्यहाँ इसाई धर्मावलम्बीले ‘स्वतन्त्र’ उम्मेदवारलाई जिताउनका लागि सक्रिय भूमिका खेलेको कुरा प्रकाशमा आएको छ । विभिन्न स्रोतबाट थाहा भएअनुसार खालि चितवनमा मात्र होइन, देशका धेरै भागमा नै उनीहरूलाई जिताउन देशभरिका इसाई धर्मालम्बीलाई उपयोग गरिएको छ तर आस्थाका आधारमा इसाई धर्म अपनाएका इमान्दार व्यक्तिलाई पनि साम्राज्यवादी शक्तिहरूले आफ्ना साम्राज्यवादी स्वार्थ पूर्तिका लागि उपयोग गर्न सक्दछन् तर नेपालका सबै इमान्दार इसाईहरूले देशको राष्ट्रियतामा आँच पुग्ने वा कुनै पनि साम्राज्यवादी षड्यन्त्रमा वा साम्राज्यवादी शक्तिद्वारा सञ्चालित कुनै पनि राजनीतिक सङ्गठनमा सामेल नहुनका लागि हामीले सबै देशभक्त नेपालीको ध्यान आकर्षित गर्न चाहन्छौँ ।
१६. देशमा अमेरिकी साम्राज्यवाद वा सिआइएले नेपालमा इसाई धर्मको नाममा जुन प्रकारका गतिविधि बढाउँदै लगिरहेको छ, त्यो अवस्थामा त्यसलाई खालि धार्मिक रूपमा मात्र हेर्नु सही हुँदैन । त्यसलाई साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्ने काम भइरहेको कुरा प्रष्ट हुन्छ । त्यो नेपालको लागि अत्यन्त गम्भीर कुरा हो । जसले आस्थाका आधारमा इमान्दारितापूर्वक इसाई धर्मलाई अपनाएका छन्, उनीहरूलाई त्यस प्रकारको साम्राज्यवादी चालमा नफस्नका लागि हामीले विशेष रूपले सतर्क गराउन चाहन्छौँ ।
यो कुरालाई हामीले स्वीकार गर्नुपर्दछ कि इसाई धर्मलाई अपनाउने सबै मानिस साम्राज्यवादी एजेन्ट होइनन् र कतिपय मानिसले आस्थाका आधारमा पनि इसाई धर्मलाई अपनाएको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न तर इसाई धर्मलाई साम्राज्यवादी स्वार्थको पक्षमा उपयोग गर्न पश्चिमी साम्राज्यवादी शक्तिहरूले योजनाबद्ध र व्यापक रूपले प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा नेपालमा प्रचार प्रसार भइरहेको इसाई धर्मलाई खालि धार्मिक क्रियाकलापको रूपमा मात्र हेर्नु गम्भीर प्रकारको गल्ती हुने छ र त्यसका कैयौँ दीर्घकालिन दृष्परिणाम हुने छन् । इसाई धर्मावलम्बीको ठुलो समर्थनमा अहिले चितवनमा जुन प्रकारले एउटा अमेरिकनपरस्त स्वतन्त्र व्यक्तिको विजय भयो, हामीले समयमा नै ध्यान नदिने हो भने त्यस प्रकारका दुर्घटना देशभरि नै हुन सक्दछन् र नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष सरकार वा प्रभुत्व कायम हुन सक्दछ । वास्तवमा चितवनमा मात्र होइन, देशव्यापी रूपमा नै त्यस प्रकारका कथित स्वतन्त्रको पक्षमा जुन जनमत तयार भएको छ, त्यसलाई हामीले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ र सबै देशभक्त जनताको त्यसप्रति ध्यान जानु पर्ने आवश्यकता छ ।
१७. विभिन्न साम्राज्यवादी देशले नेपालको राजनीतिमा सधैँ हस्तक्षेप गर्दै आएका छन् र हालै सम्पन्न चुनावमा पनि अमेरिकी, युरेपियन र भारतीय साम्राज्यवादले त्यसरी हस्तक्षेप गर्ने नीति अपनाएका छन् । त्यसरी उनीहरूले कतिपय ठाउँमा आफ्नोे पक्षका उम्मेदवारलाई जिताउने वा उनीहरूका नीतिका विरुद्ध भएका उम्मेदवारलाई हराउने मात्र काम गरेका छैनन्, आफ्नोे नीति वा घुसपैठद्वारा सरकारको निर्माणलाई पनि असर पार्ने, खास गरेर गठबन्धनमा भएका राजनीतिक दलको सरकारको निर्माणमा बाधा पुर्याउने प्रयत्न गर्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
१८. अहिले अमेरिकी साम्राज्यवादले विश्वभरि नै कम्युनिस्ट विरोधको रणनीतिअन्तर्गत काम गरिरहेको छ । अहिलेको नेपालको चुनावको सन्दर्भमा पनि त्यसले त्यस प्रकारको रणनीतिलाई कार्यान्वित गर्ने पूरा प्रयत्न गर्यो । नेकाभित्रको प्रतिपक्षले कम्युनिस्टहरूसित कुनै प्रकारको एकता नगर्ने कुरामा जोड दिएको छ भने चितवनको अमेरिकापरस्त ‘स्वतन्त्र’ पक्षसित पनि उनीहरूको साँठगाँठ भएको कुरा बाहिर आएको छ । उनीहरूको त्यस प्रकारको कम्युनिस्ट विरोधको नीतिको अमेरिकी साम्राज्यवादको कम्युनिस्ट विरोधी रणनीतिसित नै तालमेल भएको सोच्नका लागि आधार छ । त्यसरी अमेरिकी साम्राज्यवादले विभिन्न कोणबाट नेपालमा आफ्नोे प्रभुत्व कायम गर्नको लागि योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेको कुरा बुझ्न गार्हो पर्दैन ।
राष्ट्रिय जनमोर्चाले एमसिसी, एसपिपीसहित अमेरिकी साम्राज्यवादका विरुद्ध संसदभित्र र बाहिर दृढतापूर्वक र सम्झौताहीन प्रकारले सङ्घर्ष गर्दै आएको आम रूपमा थाहा भएको कुरा हो । त्यसैले त्यसका उम्मेदवारलाई हराउन पनि पूरा शक्ति लगाएको कुरा बुझ्न गार्हो पर्दैैन । त्यही रणनीतिअन्तर्गत उनीहरूले संसदमा राजमोको उपस्थितिलाई शून्य पार्न चाहन्थे । त्यसअनुसार अमेरिकासहित सबै साम्राज्यवादी शक्ति तथा नेपालका अमेरिकापरस्त, प्रतिगामी तथा कम्युनिस्ट विरोधी शक्तिसमेत सबैले बागलुङ, प्युठानलगायतमा राजमोका उम्मेदवारलाई पराजित गर्न योजनाबद्ध प्रकारले काम गरेका थिए । प्युठानमा उनीहरू त्यो उद्देश्य पूरा गर्न सफल भयो तर बागलुङमा उनीहरूको त्यो उद्देश्य सफल हुन सकेन । संसद्मा कमरेड चित्रबहादुर केसीको उपस्थिति अमेरिकी साम्राज्यवादसहित सबै प्रतिक्रियावादी शक्तिलाई कम्युनिस्ट विरोधी रणनीतिका लागि राम्रो जवाफ हो ।
(ख)
१९. समग्र रूपमा चुनावमा हाम्रा उपलब्धि सन्तोषजनक रहेका छैनन् । हामीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ बागलुङमा एउटा सिट र समानुपातिकतर्फ प्रदेशसभामा लुम्बिनीमा एउटा सिट मात्र जितेका छौँ । यो सफलतालाई अवश्य पनि सन्तोषजनक भन्न सकिन्न । सामान्य र सरसरी प्रकारले हेर्दा त्यो कुरा सत्य हो तर चुनावको समग्र स्थिति र हाम्रो पार्टीको वस्तुगत अवस्थामाथि ध्यान दिएर विचार गर्दा अहिले प्राप्त सीमित सफलताले पनि धेरै नै महत्त्व राख्दछ । सम्बन्धित तथ्यमाथि विचार गर्दा त्यो कुरा प्रष्ट हुने छ । अहिलेको चुनावमा हामीले प्रतिनिधि सभाका लागि दुई स्थानहरू (बागलुङ र प्युठान) तथा प्रदेशसभातर्फ एक स्थान (अर्घाखाँची) मा मात्र उम्मेदवार उठाएका थियौँ तर हामीले चुनावमा खालि बागलुङको प्रतिनिधि सभाको एक स्थानमा मात्र चुनाव जित्यौँ र प्युठानको प्रतिनिधि सभा र अर्घाखाँचीको प्रदेशसभाको चुनावमा हाम्रो हार भयो तैपनि बागलुङको एउटा क्षेत्रमा विजय पनि महत्त्वपूर्ण सफलता हो । पहिले पनि संसद्मा हाम्रो एउटा मात्र सिट थियो । अहिले क. चित्रबहादुर केसीको विजयबाट त्यो कमी पूरा भएको छ । हामीलाई विश्वास छ, उहाँको विजयबाट संसद्मा हामीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छौँ र त्यसबाट देशको राजनीतिमा पनि महत्त्वपूर्ण मदत पुग्ने छ तैपनि हामीले अहिलेको चुनावमा खालि बागलुङ र प्युठानको प्रतिनिधि सभाका सिटमा तथा अर्घाखाँचीको प्रदेशसभामा मात्र आफ्ना उम्मेदवार उठाएका थियौँ । हामीले खालि तीन स्थानमा मात्र उम्मेदवा उठाएको हुनाले ती तीन ठाउँको चुनावले पनि हाम्रा लागि राष्ट्रिय महत्त्व राख्दछ । त्यसैले ती तीन ठाउँका चुनावबारे हामीले बेग्लै र विस्तृत रूपले मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ ।
२०. प्युठान, अर्घाखाँची दुबै स्थानमा हाम्रा उम्मेदवारहरू गठबन्धनको सहमतिका आधारमा नै उठेका थिए तर ती दुवै स्थानमा हाम्रो हार भयो । त्यो हारका पछाडि मुख्य रूपले गठबन्धनभित्रका कतिपय पक्षको अन्तर्घातले पनि काम गरेको छ । प्युठान र अर्घाखाँचीमा मात्र होइन, देशभरि नै गठबन्धनभित्रका कतिपय पक्षका अन्तर्घातका कारणले त्यस्तो हुन गएको छ । त्यसबारे पहिले पनि चर्चा भइसकेको छ र हामीले त्यसबारे पछि पनि प्रकाश हाल्ने छौँ ।
चुनावमा हाम्रो हारका लागि गठबन्धनसित सम्बन्धित कतिपय पक्षको अन्तर्घातको चर्चा गर्नु मात्र पर्याप्त हुने छैन । हाम्रो पार्टीको सङ्गठन प्रणालीमा कतिपय कमजोरीका कारणले पनि हाम्रो हार हुन गएको हो । त्यस प्रकारका कमजोरीका कारणले नै हामीले आफ्नो पार्टी, वैधानिक मोर्चा, जनवर्गीय सङ्गठन र जनआधारलाई पनि पूरै परिचालन गर्न नसकेको कुरा पनि सत्य हो । त्यसबारे हामीले विस्तारपूर्वक विचार गर्नुपर्ने छ । हाम्रो सङ्गठन प्रणालीमा भएको कमजोरीका कारणले नै एकातिर, हाम्रो पार्टीको देशव्यापी रूपमा जनाधारको निर्माण हुन सकेन र हामी खालि सीमित स्थानमा मात्र आफ्ना उम्मेदवार उठाउन सफल भयौँ । अर्कातिर, सीमित स्थानमा उठाएका उम्मेदवारमध्ये पनि कतिपय स्थानमा हाम्रो हार हुन पुग्यो ।
२१. आधारभूत रूपमा चुनावबारे हाम्रो पार्टीले अपनाएको नीति सही थियो । हाम्रो यो विश्लेषण सही छ र अहिले पनि सही छ कि अहिले देशमा प्रतिगमनको गम्भीर खतरा छ । त्यो अवस्थामा प्रतिगमनका विरुद्ध भएका राजनीतिक शक्तिको संयुक्त प्रयत्नद्वारा नै प्रतिगमनलाई पराजित गर्न सकिन्छ र गर्नु पनि पर्दछ । प्रतिगमनका विरुद्धको सङ्घर्षमा अहिलेको चुनावले निर्णायात्मक अर्थ राख्दथ्यो र त्यसका लागि पाँचदलीय चुनावी तालमेल भएको थियो । त्यो चुनावी तालमेल प्रतिगमनलाई पराजित गर्न सफल भयो तर त्यो सफलतालाई निर्णायात्मक प्रकारको भन्न सकिन्न किनभने त्यो चुनावको परिणामस्वरूप गठबन्धनलाई पर्याप्त बहुमत प्राप्त हुन सकेन । यो कुराको पहिले नै चर्चा भइसकेको छ कि स्वयम् गठबन्धनभित्रका कतिपय कमजोरी, अन्तर्घातसमेतका कारणले त्यस्तो हुन गएको हो । चुनावमा गठबन्धनलाई सन्तोषजनक सफलता प्राप्त हुन नसकेको हुनाले त्यसको परिणामस्वरूप गठबन्धनको बलियो वा स्थिर सरकार बन्न नसक्ने, देशमा राजनीतिक अस्थिरताको स्थिति उत्पन्न हुने, प्रतिगमनलाई खेल्ने अवसर प्राप्त हुने वा कैयौँ दुष्परिणाम हुने सम्भावना रहने छ । यो पनि हामीले पहिले नै स्पष्ट गरिसकेका छौँ कि यस प्रकारको स्थिति उत्पन्न हुनुका पछाडि स्वयम् गठबन्धनभित्रका गठबन्धनका उम्मेदवारलाई पराजित गर्न अन्तर्घात गर्ने पक्ष नै जिम्मेवार छन् ।
२२. गठबन्धन र पाँचदलीय चुनावी तालमेल अहिलेको देशको ऐतिहासिक आवश्यकता हो । प्रतिगमनका पक्षमा भएका शक्तिले सुरुदेखि नै यो कुरा बुझेका थिए कि पाँचदलीय गठबन्धन वा चुनावी तालमेल भएमा उनीहरूको प्रतिगामी उद्देश्य पूरा हुन सक्ने छैन । त्यसैले उनीहरूले पाँचदलीय गठबन्धनका विरुद्ध सुरुदेखि नै आक्रमण गर्दै आएका थिए । प्रतिगामी शक्तिले त्यस प्रकारको आक्रमण गर्नु ता सामान्य र स्वभाविक कुरा नै थियो तर कतिपय वामपन्थी शक्तिले पनि त्यो गठबन्धनको विरोध गरेका थिए । त्यसकारण हामीले प्रतिगमनका विरुद्ध कडा सङ्घर्ष गर्नुका साथै गठबन्धनका विरुद्ध देखा पर्ने त्यस प्रकारका विचारका विरुद्ध पनि कडा सैद्धान्तिक सङ्घर्ष गर्नुपरेको थियो ।
२३. गठबन्धन वा पाँचदलीय चुनावी तालमेलका विरुद्ध सबैभन्दा कडा हमला यो आधारमा गरिएको थियो कि त्यो गठबन्धन सिद्धान्तहीन, अपवित्र गठबन्धन थियो । खास गरेर नेकासितको सहकार्यका लागि हामीमाथि सबैभन्दा बढी आक्रमण गरिएको थियो र अहिले पनि त्यो आक्रमण भइरहेको छ । त्यस प्रकारको आक्रमण सिद्धान्तहीन र अराजनीतिक प्रकारको छ ।
२४. गठबन्धनका विरुद्ध मुख्य हमला यो (गठबन्धन) सिद्धान्त र विचार नमिल्ने शक्तिका बिचको अपवित्र गठबन्धन हो भनेर नै गर्ने गरिएको छ तर त्यस प्रकारका आलोचना गर्ने बेलामा उनीहरूले यो कुराप्रति ध्यान दिएको पाइन्न कि संयुक्तमोर्चा वा कार्यगत एकता बेग्लाबेग्लै सिद्धान्त, नीति वा विचारधारा भएका पक्षको बिचमा नै हुन्छ । त्यसबारे माक्र्सवादी–लेनिनवादीहरूको स्पष्ट सिद्धान्त र विचारधारा रहेको छ । मुख्य प्रश्न यो होइन, नेकासित कार्यगत एकता वा तालमेल गर्नु सही हो या होइन्, मुख्य प्रश्न यो हो : जुन विषयमा नेकासित तालमेल गरिएको छ, त्यो सही छ वा छैन ? देशमा अहिले प्रतिगमनको खतरा छ वा छैन ? एमालेले प्रतिगमनको प्रतिनिधित्व गर्छ वा गर्दैन ? देशमा त्यसबारे नै परस्पर विरोधी धारणा छन् ।
जुन पक्षले देशमा प्रतिगमनको खतरा भएको र एमालेले प्रतिगामी धाराको प्रतिनिधित्व गरेको कुरालाई मान्दैनन्, उनीहरूले प्रतिगमन विरुद्धको गठबन्धन वा चुनावी तालमेललाई अस्वीकार गर्नु स्वाभाविक नै हो । नेकासहित जुन पक्षसित हामीले गठबन्धन वा चुनावी तालमेल गरेका छौँ, उनीहरूसित हाम्रा कैयौँ मतभेद वा विरोध भए पनि ती सबैमा एउटा कुरा सकारात्मक रूपमा पाइन्छ । त्यो के हो भने ती सबैको प्रतिगमनका विरुद्धका सङ्घर्षमा सकारात्मक भूमिका रहने गरेको छ । त्यो नै हाम्राबिचको गठबन्धन वा चुनावी तालमेलको सकारात्मक र सैद्धान्तिक आधार हो । त्यसका साथै हामीले देशमा प्रतिगमनको खतरा भएको र एमालेले प्रतिगामी धाराको प्रतिनिधित्व गरेको कुरा मानेकाले त्यसका विरुद्ध आउने शक्तिहरू—जसमा नेका पनि आउँछ—सित गठबन्धन वा चुनावी तालमेल सही हुन जान्छ । जो प्रतिगमनका पक्षमा छन् उनीहरूले नै गठबन्धनका विरुद्ध अभियान चलाइरहेका छन् र उनीहरूले नै गठबन्धनको नीतिलाई गलत बताउँछन् ।
अहिलेको गठबन्धन २०४६ साल वा २०६२–६३ को प्रतिगमनका विरुद्धको संयुक्त आन्दोलनको निरन्तरता हो । २०४६ सालको संयुक्त आन्दोलनको परिणामस्वरूप निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्था समाप्त भएको थियो भने २०६२–६३ को संयुक्त आन्दोलनको परिणामस्वरूप संविधान सभाको चुनाव हुनुका साथै राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भएको थियो । ती दुबै बेलामा पनि राजावादीहरूले नेकासित मिलेको भनेर हामीमाथि धेरै आक्रमण गरेका थिए । त्यही प्रकारले अहिले पनि त्यही प्रकारको आक्रमण भइरहेको छ । त्यस प्रकारको आक्रमणले मूल रूपमा प्रतिगमनको नै सेवा गर्दछ ।
२५. प्रतिगामी वा प्रतिगमनको पक्ष लिएका शक्तिले गठबन्धनको विरोध गर्नु स्वाभाविक नै हो तर यस सन्दर्भमा यो कुरा उल्लेखनीय छ कि कतिपय वामपन्थी वा आफूलाई ‘क्रान्तिकारी’ बताउने शक्तिहरूले पनि गठबन्धनको विरोध गरेको पाइन्छ । ती दुवै पक्षको मुख्य मिलनविन्दु गणतन्त्रको विरोध वा गणतन्त्रलाई समाप्त गर्नु नै हो । राजावादीहरूले घोषित रूपले नै त्यो कुरालाई स्वीकार गर्दछन् तर कतिपय वामपन्थीहरूले पनि गणतन्त्रमाथि हमला गर्ने नीति अपनाउँछन् । त्यसरी गणतन्त्रको विरोध ती दुवै पक्षको मिलनविन्दु बन्न जान्छ । उनीहरूको गणतन्त्र विरुद्धको त्यो अभियानमा सबैभन्दा ठुलो बाधा पाँचदलीय गठबन्धनबाट नै पुग्दछ । त्यसैले पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको उनीहरूले पूरै शक्ति लगाएर विरोध गर्दछन् । उनीहरूको त्यस प्रकारको नीति वा कार्यविधिबाट प्रतिगमनको नै सेवा हुन्छ ।
२६. माथि हामीले गठबन्धनसित सम्बन्धित कतिपय पक्षभित्रका अन्तर्विरोध वा अन्तर्घातका कारणले, मुख्यतया गठबन्धनका उम्मेदवारलाई हराउने नीतिबाट चुनावमा बाधा पुग्यो र प्रतिगमनलाई मद्दत पुग्यो, त्यसबारे चर्चा गरिसकेका छौँ तर स्वयम् हाम्रो पार्टीभित्रका कतिपय वैचारिक वा सङ्गठनात्मक समस्या वा कमजोरीका कारणले पनि चुनावमा बाधा पुगेको कुरालाई अस्वीकार गर्न सकिन्न ।
२७. अहिले हामीले संसदीय चुनावलाई उपयोग गरिरहेका छौँ र लामो समयदेखि त्यसलाई उपयोग गर्दै आएका छौँ । हाम्रो त्यो नीति नै गलत त छैन ? संसदीय चुनावको उपयोगबारे विश्वभरिका माक्र्सवादी–लेनिनवादी र स्वयम् नेपालको कम्युनिस्ट आन्दोलनमा पनि बारम्बार प्रश्न उठ्ने गरेका छन् । यदि त्यो नीति गलत हो भने त्यसको विकल्प के हो ? त्यसको विकल्पमा दुईओटा कुरा हुन सक्दछन : प्रथम– चुनावको बहिष्कार र द्वितीय– सशस्त्र सङ्घर्ष । विभिन्न देशमा चुनावको विकल्पको रूपमा ती दुवै तरिकालाई प्रयोग गर्ने पनि गरिएको छ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तले ती दुवै तरिकाको उपयोग ठोस वस्तुगत स्थितिको विश्लेषणका आधारमा गर्ने नियम निर्धारित गरेको छ । ती कुराको ख्याल नगरिकन खालि क्रान्तिकारी जोस वा आत्मगत चिन्तनको आधारमा तिनीहरूलाई प्रयोग गर्नुका कैयौँ दुष्परिणाम हुने तथा कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्ने पनि गर्दछ । संसारभरि र नेपालका पनि त्यस प्रकारका कैयौँ उदाहरण हाम्राअगाडि छन् ।
२८. संसद्को उपयोगसम्बन्धी गलत सोचाइका दुईटा परिणाम हुन्छन् : प्रथम– वामपन्थी सङ्कीर्णतावादी दृष्टिकोण, द्वितीय– उग्र वामपन्थी भड्काव । हाम्रो पार्टीमा बारम्बार त्यस प्रकारका गलत प्रवृत्ति देखा पर्ने गरेका छन् । त्यस प्रकारका सोचाइको परिणामस्वरूप हाम्रो पार्टीमा कैयौँपल्ट चरम प्रकारको अनुशासनविहीनता, अराजकता वा फुट पनि देखा पर्ने गरेका छन् । त्यस प्रकारका गलत सोचाइका विरुद्ध हामीले बारम्बार अन्तरसङ्घर्ष र सैद्धान्तिक सङ्घर्ष गर्दै वा अनुशासनका कारबाही पनि गर्दै आएका छौँ । हामीले अपनाएको त्यस प्रकारको पद्धतिका कारणले नै हामी हाम्रो पार्टीको माक्र्सवादी–लेनिनवादी चरित्र र सङ्गठनात्मक प्रणालीलाई ध्वस्त हुनबाट बचाउन काफी हदसम्म सफल रहँदै आएका छौँ तैपनि त्यस प्रकारका गलत सोचाइको केही न केही असर हाम्रो पार्टीमा रहने गरेको छ । त्यस प्रकारको असरले गर्दाखेरि पार्टीमा केही न केही वैचारिक अस्पष्टता र अनुशासनविहीनता पनि देखा पर्ने गरेको छ । त्यसैको परिणामस्वरूप नेपालको राजनीतिक इतिहासमा संयुक्त आन्दोलन वा गठबन्धनको औचित्यता बारम्बार प्रमाणित भइसक्दा तथा अहिलेको स्थितिमा प्रतिगमन अत्यन्त गम्भीर रूपमा देखा पर्दा पनि त्यसका विरुद्ध गठबन्धनको औचित्यताबारे प्रश्न उठाउने वा त्यसलाई गलत बताउने गरिन्छ । त्यही प्रकारले जनवादी केन्द्रीयताको सिद्धान्तको ठाउँमा अराजकतावादी प्रकारका प्रवृत्ति पनि प्रकट हुने गर्दछन् । त्यस प्रकारका वैचारिक अस्पष्टता वा अनुशासनसम्बन्धी कमजोरीहरू अहिलेको चुनावमा पनि केही न केही प्रकट भए । ती कारणले गर्दा पनि अहिलेको चुनावमा हाम्रो पार्टीका कार्यकर्ता वा जनाधारको सम्पूर्ण रूपले परिचालन हुन नसकेको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ ।
२९. वास्तवमा चुनावको सन्दर्भमा मात्र होइन, त्यस प्रकारका वैचारिक वा सङ्गठनात्मक कमजोरीलाई हटाउन नसकेमा हामीले सामान्य र शान्तिपूर्ण प्रकारका आन्दोलनलाई पनि प्रभावशाली प्रकारले सञ्चालन गर्न सक्दैनौँ । त्यसकारण पार्टीमा वैचारिक स्पष्टता ल्याउन र सङ्गठनात्मक प्रणालीमा सुधार ल्याउनका लागि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
३०. पार्टीबाट फुटेर गएका तत्त्वले चुनावका बेलामा चुनाव बहिष्कारको कुरा गरेर बागलुङ र प्युठानका हाम्रा उम्मेदवारलाई हराउन धेरै नै प्रयत्न गरे । प्युठानमा त त्यससम्बन्धी उनीहरूको गतिविधि खास देखा परेन तर बागलुङमा उनीहरूको नेतृत्व पङ्क्तिले नै त्यसका लागि पूरा शक्ति लगायो । उनीहरूले एक प्रकारले ‘केसी हराऊ’ अभियान नै सञ्चालन गरे तर उनीहरूले चुनावका विरुद्ध फैलाएको भ्रम र बहिष्कारको कार्यक्रमले प्रतिगमनलाई मदत पुग्यो र उनीहरूले (प्रतिगामीहरूले) हाम्रो पार्टीबाट फुटेर गएका फुटपरस्त तत्त्वलाई बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न गरे तैपनि उनीहरूका त्यस प्रकारका प्रयत्नका बाबजुद बागलुङमा क. चित्रबहादुर केसी विजय हुनु भयो भने प्युठानमा दुर्गा पौडेल पराजित भए पनि उहाँले ३५ हजारभन्दा बढी भोट पाउनुभयो । त्यसले प्युठानमा जनमोर्चाको व्यापक आधार भएको कुरालाई बताउँछ तर त्यसका साथै यो कुरा पनि प्रष्ट छ कि त्यो पूरै मत हाम्रो होइन । गठबन्धन पक्षधर शक्तिबाट कतिपय अन्तरघात भएको भए पनि माओवादी, नेका वा समाजवादी पक्षबाट पनि पर्याप्त समर्थन मिलेको हुनाले नै हामीलाई त्यति धेरै भोट प्राप्त भएको हो ।
३१. हाम्रो पार्टीको देशव्यापी रूपमा सङ्गठनात्मक आधार कम भएकाले प्रत्यक्षतर्फ हामीले धेरै सिटको दाबी गर्न वा उम्मेदवार उठाउन सकेनौँ । समानुपातिकतर्फ केन्द्रमा वा प्रदेशमा पनि हामीले स्वतन्त्र रूपले आफ्नो उम्मेदवारलाई मत दिन सक्दथ्यौँ तर त्यसका लागि पनि हामीलाई कम मत प्राप्त भएको छ । केन्द्रमा बढीभन्दा बढी मत हाल्नका लागि हामीले सबैतिर सर्कुलर नै पठाएका थियौँ र त्यसका लागि राष्ट्रियस्तरको एउटा अभियान पनि सञ्चालन गरेका थियौँ तर त्यसका लागि हाम्रो सङ्गठन भएका जिल्लाबाट पनि कम मत प्राप्त भएको छ । प्रदेशको समानुपातिकतर्फ पहिले गण्डकी र लुम्बिनीमा एक एक सिट प्राप्त भएको थियो तर अहिले लुम्बिनीमा मात्रै एक सिट प्राप्त भएको छ र गण्डकीमा एक सिट पनि प्राप्त हुन सकेन । त्यसबाट के बुझिन्छ भने हाम्रो पार्टीको आधार भएका क्षेत्रबाट पनि केन्द्र वा प्रदेशमा सन्तोषजनक मत आउन सकेन । प्रायश: गत कालमा पनि हाम्रा कार्यकर्ताको बढी ध्यान प्रत्यक्ष चुनावतर्फ जाने गरेको छ । समानुपातिकतर्फ कम ध्यान जाने गरेको छ । त्यसको परिणामस्वरूप नै समानुपातिकतर्फ हामीलाई कम मत प्राप्त भएको छ । आउने दिनमा यो कमजोरीलाई सुधार्न हाम्रो विशेष ध्यान जानुपर्ने आवश्यकता छ ।
३२. गएको स्थानीय चुनावमा हामीले विभिन्न जिल्लाहरूमा त्यो जिल्लाका देशभित्र अन्यत्र वा प्रवासमा गएर बसेका मतदातालाई चुनावका बेलामा जिल्लामा ल्याउने काम धेरै कम भएको थियो तर अहिलेको चुनावमा त्यो दिशामा केही प्रयत्न गरियो । त्यस सिलसिलामा माओवादी, जसपा र नेकासमेतका विभिन्न सम्पर्क मञ्चसित पनि समन्वय गरेर हामीले काम गरेका थियौँ । त्यसको केही न केही सन्तोषजनक परिणाम पनि भयो । हामीले चुनावका बेलामा मात्र होइन, जिल्लाका देशभित्र वा विदेशमा बस्ने नेपालीलाई पनि स्थायी रूपले सङ्गठित गर्ने प्रयत्न गरिरहनुपर्छ ।
३३. गठबन्धन पक्षका अन्य दलभन्दा हाम्रो पार्टीनीतिमा बढी इमान्दार र अनुशासित भएको कुरा आम रूपमा मानिन्छ । चुनावको बेलामा अन्य पक्षद्वारा अन्तर्घात भएका कुरा व्यापक रूपमा अगाडि आएका छन् तर हाम्रो पार्टीद्वारा पनि कतै यस प्रकारका कमजोरी भएका त छैनन् ? हामीले त्यो कुराको इमान्दारितापूर्वक छानबिन गर्नुपर्ने र आवश्यकताअनुसार कारबाही गर्नुपर्ने आवश्यकता छ ।
३४. आर्थिक कारणले पनि हामीलाई चुनाव लड्नका लागि धेरै नै अप्ठ्यारो भयो । अन्य पक्षले करोडौँ खर्च गरेर चुनाव लड्छन् तर हामीलाई त्यसका लागि न्यूनतम खर्च जुटाउन पनि गार्हो भयो । चुनावको खर्चका लागि देशभित्र कुनै कोटा लगाउन सकेनौँ । हामीले शुभेच्छुकबाट चन्दा सङ्कलन गर्ने नीति बनाएका थियौँ तर त्यसअनुसार हामीले उल्लेखनीय रकम जम्मा गर्न सकेनौँ । प्रवासबाट र अन्य कतिपय देशबाट सन्तोषजनक रूपमा नै कोटाको रकम प्राप्त भयो तर त्यो रकम पनि हाम्रो आवश्यकताको तुलनामा अत्यन्त कम थियो । त्यसपछि हामीले केही ऋणसापटी मागेर खर्च चलाउने प्रयत्न गर्यौँ तर त्यसका लागि पनि पर्याप्त रकम जम्मा हुन सकेन । जे जति ऋणसापटी आएको थियो, त्यो ऋण चुक्ता गर्ने दायित्व अब हाम्राअगाडि आएको छ । त्यसरी हामीले चुनावका लागि पर्याप्त रकम जुटाउन नसक्नुका पछाडि पनि पार्टीभित्र उत्साह र सक्रियताको कमी तथा जनतासितको हाम्रो सम्बन्ध कमजोर भएको कुरालाई लिन सकिन्छ । त्यसकारण उक्त दुवै कुरामा सुधारका लागि हामीले प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।
३५. अहिलेको चुनावमा प्राविधिक पक्षले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ तर हामीले त्यसका लागि आवश्यक व्यवस्था गर्न सकेनौँ । आर्थिक समस्याका कारणले त्यो कार्यका लागि बाहिरबाट प्राविधिकलाई राख्न सम्भव भएन । पार्टीका केही साथीहरूलाई मिलाएर हामीले एउटा सेल बनाएका थियौँ तर चुनावका बेलामा ती साथीहरू आफ्नोे सम्बन्धित जिल्लामा जानुपरेकोले त्यो सेलले पनि काम गर्न सकेन ।
(ग)
३६. हामीले अहिले प्रतिगमन विरुद्धको सङ्घर्षमा गठबन्धन वा चुनावी तालमेललाई अगाडि बढाउने प्रयत्न गरेका छौँ । अहिले चुनावमा प्रतिगमन पराजित भयो र हामी प्रतिगमनमाथि विजय प्राप्त गर्न सफल भयौँ । ओलीले चुनावमा बहुमत प्राप्त गर्ने दाबी गरेका थिए तर उनले दाबी गरेअनुसार उनलाई त्यसरी बहुमत प्राप्त हुन सकेन । त्यसरी प्रतिगमनमाथि हाम्रो जुन विजय प्राप्त भयो, त्यसको महत्त्व यो कुरामा छ कि त्यसको परिणामस्वरूप देश प्रतिगमन र अधिनायकवादतिर जानुबाट रोकिएको छ । त्यो गठबन्धनको ऐतिहासिक उपलब्धि हो तर यस सन्दर्भमा हामीले यो वास्तविकताप्रति पनि ध्यान नदिइकन रहन सक्दैनौँ कि चुनावमा प्रतिगमनमाथि विजय प्राप्त गरे पनि, जस्तो कि पहिले पनि उल्लेख भइसकेको छ, गठबन्धनलाई सरकार बनाउन पर्याप्त बहुमत प्राप्त हुन सकेन । गठबन्धनभित्रका अन्तर्घातहरू, खास गरेर नेकाभित्रको प्रतिपक्षको गठबन्धन विरोधी नीति र अंशत: माओवादीभित्रका अन्तर्घातका कारणले नै गठबन्धनलाई बहुमत प्राप्त हुन नसकेको हो । हामीले यो कुराको सजिलैसित अनुमान गर्न सक्छौँ कि गठबन्धनभित्रका त्यस प्रकारका अन्तर्घातका गम्भीर दुष्परिणाम हुने छन् ।
३७. अहिलेको चुनावमा गठबन्धन महत्त्वपूर्ण वा ऐतिहासिक सफलता प्राप्त गर्न सफल भएको भए पनि प्रतिगमनको खतरा अझै समाप्त भएको छैन । अहिले पनि त्यो खतरा गम्भीर रूपमा छ । खास गरेर एकातिर, राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धको अभियानलाई कायमै राखेका छन् भने अर्कातिर, एमालेले उनीहरूको प्रतिगामी अभियानलाई साथ दिएको छ । पहिलेको चुनावको तुलनामा राजावादीहरूको शक्तिमा केही वृद्धि भएको छ । त्यसका पछाडि पनि ओलीले राजावादीहरूसित गरेको साँठगाँठले मदत गरेको कुरा प्रष्ट छ । भारतीय साम्राज्यवादको समर्थनले गर्दा देशमा प्रतिगमनको खतरा अरू गम्भीर बनेको छ । त्यो अवस्थामा प्रतिगमनलाई पराजित गर्नका लागि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ तर त्यसो गर्ने बेलामा अन्य पक्षसितका हाम्रा सैद्धान्तिक र राजनीतिक मतभेद वा सरकारसितका हाम्रा भिन्न मतलाई पनि लगातार अगाडि बढाउने वा आवश्यकताअनुसार सङ्घर्ष गर्ने नीतिलाई पनि कायम राख्नुपर्दछ । त्यस सिलसिलामा खास गरेर गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ तथा सङ्घीयतालाई खारेज गरौँ भन्ने नाराका साथ हामीले जनसङ्घर्षलाई अगाडि बढाउने नीति अपनाउनुपर्दछ ।
३८. अहिले पनि देशी वा विदेशी प्रतिक्रियावादी शक्तिका कारणले गणतन्त्रसहित जनताको आन्दोलनद्वारा प्राप्त उपलब्धिका अगाडि गम्भीर खतरा छ । त्यसै गरेर अमेरिका र भारतीय साम्राज्यवादका कारणले राष्ट्रयतामाथि गम्भीर खतरा छ । तिनीहरूका विरुद्ध हामीले व्यापक सङ्घर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । सङ्घीयता झन्पछि झन् बदनाम हुँदै गइरहेको छ र त्यसका विरुद्ध जनमत पनि बढ्दै गइरहेको छ । त्यसकारण त्यसका विरुद्ध पनि हामीले आन्दोलन बढाएर लैजानुपर्ने आवश्यकता छ । तीबाहेक जनजीवनसित सम्बन्धित भ्रष्टाचार, महङ्गी तथा जनताका न्यायपूर्ण र प्रगतिशील मागका लागि पनि सङ्घर्ष बढाएर लैजानुपर्ने आवश्यकता छ । त्यसकारण हामीले एकातिर, प्रतिगमनका विरुद्ध गठबन्धनको नीतिलाई कायम राख्ने प्रयत्न गर्दै, अर्कातिर, उक्त प्रश्नमा जनआन्दोलनलाई पनि बढाउँदै जाने नीति अपनाउनुपर्दछ ।
३९. देशव्यापी रूपमा हाम्रो सङ्गठन कमजोर भएको कुरा माथि नै उल्लेख भइसकेको छ । सङ्गठन कमजोर भएमा हामीले आन्दोलन वा चुनावमध्ये कुनैमा पनि प्रभावशाली भूमिका खेल्न सक्दैनौँ । त्यसैले सङ्गठनात्मक विस्तार वा सुदृढीकरणका लागि हामीले योजनाबद्ध प्रकारले काम गर्नुपर्ने आवश्यकता छ तर त्यसका लागि निर्णायात्मक महत्त्वको कुरा सैद्धान्तिक स्पष्टता हो । त्यसैले पार्टीका कार्यकर्ताहरूमा सैद्धान्तिक स्पष्टता नआइकन उनीहरू सङ्गठनात्मक कार्य, अनुशासन, आन्दोलन वा चुनावमा पनि सक्रिय भएर वा उत्साहपूर्वक काम गर्न सक्दैनन् । कार्यकर्ताको सैद्धान्तिक स्तर कमजोर भएमा विरोधीले बाहिरबाट फैलाउने सामान्य प्रकारका प्रचारबाट पनि पार्टीको काम र अनुशासनमा असर पर्दछ र पार्टीमा कैयौँ प्रकारका भ्रम पैदा हुने गर्दछन् । त्यसकारण हामीले प्रशिक्षण कार्यक्रममा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
४०. अहिले खालि हाम्रो पार्टीमा मात्र होइन, विश्वस्तरमा पनि कम्युनिस्ट पार्टीमा अराजकतावादी र उपभोक्तावादी चिन्तन प्रणाली बढेर गएको छ । पुँजीवादी पार्टीमा व्याप्त त्यस प्रकारका सोचाइबाट पनि कम्युनिस्ट पार्टीमा धेरै नै असर पर्ने गरेको छ । त्यस प्रकारको सोचाइका कारणले धेरै देशका कम्युनिष्ट पार्टीको विघटन हुने वा उनीहरूमा पुँजीवादी रूपान्तरण हुने पनि गरेको छ । हाम्रो पार्टीले पनि त्यस प्रकारका प्रवृत्ति वा समस्याका विरुद्ध बारम्बार सङ्घर्ष गर्दै आउनुपरेको छ । आगामी दिनमा पनि सैद्धान्तिक वा सङ्गठनात्मक रूपले त्यस प्रकारका प्रवृत्तिका विरुद्ध सैद्धान्तिक प्रशिक्षण वा सङ्घर्षमा लगातार जोड दिइरहनुपर्ने आवश्यकता छ ।
४१. नेपालका कतिपय वामपन्थी शक्तिहरूमा “वामपन्थी” सङ्कीर्णवादी दृष्टिकोणको पनि धेरै असर परेको पाइन्छ । त्यसको परिणामस्वरूप उनीहरूले एकातिर, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर तात्कालिक कार्यदिशा निश्चित गर्ने वा रणनीति र कार्यनीतिका बिचको अन्तरलाई सही प्रकारले ठम्याउने प्रश्नमा कैयौँ गल्ती गरेको पाइन्छ । त्यसले गर्दा उनीहरू समाजवाद वा नयाँ जनवादलाई तत्कालिक कार्यदिशाको रूपमा प्रयोग गर्ने तथा पुँजीवादी गणतन्त्रलाई विरोध गर्ने जस्ता गम्भीर प्रकारका गल्ती गर्न पुगेको पाइन्छ । हाम्रो पार्टीबाट फुटेर गएका फुटपरस्त तत्वहरूले पनि त्यस प्रकारका गलत सोचाइलाई अनुशरण गर्ने गरेका छन् । त्यस प्रकारको गलत सोचाइका कारणले उनीहरूले देशमा गम्भीर रूपमा देखा परेको प्रतिगमनको खतरालाई अस्वीकार गर्दछन् । राजावादीहरूका प्रतिगामी नीतिका नजिक पुग्दछन् । सामन्तवादसितको अन्तविरोधलाई गौण ठान्दछन् र भारतीय साम्राज्यवादप्रति सम्झौतापरस्त दृष्टिकोण अपनाउन पुग्दछन् । त्यस प्रकारका गलत नीतिका कारणले उनीहरूले प्रतिगमन, सामन्तवाद र साम्राज्यवादको सेवा गर्न पुग्दछन् । हामीले उनीहरूका ती गलत सोचाइका विरुद्ध पार्टीभित्र र जनतामा पनि सही प्रशिक्षण र चेतना दिने प्रयत्न गर्नुपर्छ ।
४२. पहिले संसद्का लागि उम्मेदवार चयन गर्दा जिल्लास्तरका भेला गरेर तीन जनाको नाम केन्द्रमा पठाउने पनि गरिन्थ्यो । पछि पार्टीको जिल्ला समितिबाट तीन जनाको नाम पठाउने र संसदीय बोर्डले तिनीहरूमध्येबाट एक जनाको नाम छान्ने तरिका अपनाइयो । पहिले समानुपातिक उम्मेदवारको चयन गर्दा एकपल्ट राष्ट्रिय परिषद्को बैठक गरेर उम्मेदवार चयन गर्ने प्रणाली पनि अपनाइएको थियो । पछि केन्द्रीय संसदीय बोर्डले नै उम्मेदवारको ठेगान गर्ने प्रणाली अपनाइयो । यसपल्टको चुनावमा उम्मेदवारहरू चयन गर्दा केन्द्रीय कमिटीको गोप्य मतदानद्वारा चयन गर्ने तरिका अपनाइयो । कुनै उम्मेदवारको चयन गर्दा नेतृत्व वा कुनै व्यक्ति विशेषबाट पक्षपात गरेको नठानियोस् भन्नका लागि त्यस प्रकारको गोप्य मतदान प्रणालीलाई अपनाइएको थियो । हाम्रो पार्टीमा गत कालमा उम्मेदवारको चयनमा कुनै प्रकारको पक्षपात नहोस् र बढीभन्दा बढी जनवादी तरिका अपनाइयोस् भन्नका लागि यी बेग्लाबेग्लै तरिकाको अभ्यास गर्ने गरिएको छ । तत्कालका लागि चुनाव समाप्त भइसकेको छ । आगामी चुनावका बेलामा पहिले अपनाएका पद्धतिमध्ये कुन वा कुनै नयाँ पद्धति अपनाउनु सही हुने छ ? त्यसबारे गम्भीरतापूर्वक विचार गरेर हामीले निर्णय गर्नुपर्नेछ ।
४३. देशको राजनीतिमा संविधानको निर्माणदेखि अहिलेसम्म संविधान सभा वा संसद्भित्र हाम्रो पार्टीले जुन महत्त्वपूर्ण भूमिका खेलेको छ र हाम्रा सांसदले कुनै प्रकारको भ्रष्टाचारमा नलागिकन विकासका कार्यक्रममा जसरी योगदान दिँदै आएका छन् वा विभिन्न प्रकारले जनताको सेवा गर्दै आएका छन्, तिनीहरूको प्रचार गर्नेतिर हामी धेरै नै पछाडि पर्ने गरेका छौँ । त्यो हाम्रो एउटा महत्त्वपूर्ण कमजोरी हो । त्यसले गर्दा हामीले गरेका कामको आधारमा पनि हाम्रो जनतासँग प्रत्यक्ष रूपले सम्बन्ध स्थापित हुन नसकेको कुरा सत्य हो । त्यो कारणले पनि देशव्यापी रूपमा समानुपातिक वा प्रत्यक्षतर्फ हाम्रो जति भोट आउनुपर्दथ्यो, त्यति आउन सकेन । त्योबाहेक हाम्रा उम्मेदवारका विरुद्ध विरोधी शक्तिहरूले कैयौँ झुटा, निराधार वा अराजनीतिक प्रकारका व्यक्तिगत र चरित्रहत्यासम्बन्धी व्यक्तिगत आक्षेप लगाएको हुनाले पनि जनतामा हामीबारे कैयौँ भ्रम उत्पन्न भएका छन् । तिनीहरूलाई स्पष्ट गर्नेतिर पनि हाम्रो कमजोरी रहेको छ । उक्त विषयमा पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ ।
४४. हाम्रो यो स्पष्ट दृष्टिकोण छ कि विश्व स्तरमा नै संसदीय प्रणाली प्रतिक्रियावादी भइसकेको छ । त्यसकारण त्यसद्वारा जनताका आधारभूत समस्याको समाधान हुन सक्दैन । त्यसका लागि पुँजीवादी देशमा समाजवादी क्रान्ति तथा पुँजीवादी विकासका दृष्टिकोणले पिछडिएका वा अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा नयाँ जनवादी क्रान्ति आवश्यक हुन्छ । नेपाल पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक देश भएको हुनाले जनताका आधारभूत समस्याको समाधान र देशको दिगो विकासका लागि नयाँ जनवादी क्रान्ति नै आवश्यक हुन्छ तैपनि तात्कालिक वा कार्यनैतिक दृष्टिकोणले नेपालमा संसदीय वा बहुदलीय व्यवस्था प्रगतिशील छ । त्यही प्रकारले देशमा कायम भएको पुँजीवादी गणतन्त्रको पनि प्रगतिशील महत्त्व छ । खास गरेर अहिले प्रतिगामी शक्तिले बहुदलीय व्यवस्था र गणतन्त्रलाई समेत समाप्त गर्नका लागि अभियान चलाइरहेको हुनाले ती सबैको रक्षाका लागि सङ्घर्ष गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ ।