भालुबाङ । लुम्बनी प्रदेशको राजधानी औपचारिक रुपमा दाङको देउखुरी उपत्यकाबाट सञ्चालनमा आएको छ । बुधबार विशेष कार्यक्रम आयोजना गरी स्थायी राजधानीको उद्घाटन गरिएको हो ।
देउखुरीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरे । त्यसक्रममा उनले मुख्यमन्त्री कार्यालयको उद्घाटन र झण्डोत्तलन गर्दै देउखुरीलाई आधुनिक र व्यवस्थित शहर बनाउने अवसर आएको बताए ।
यस्तै, मुख्यमन्त्री कुलप्रसाद केसीले देउखुरी प्रदेशको राजधानी भएको घोषणा गरे । केसीले अब आउने दोस्रो कार्यकालको प्रदेश सभा र सरकारले प्रदेशलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिएको बताए।
प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्तीले शून्यबाट सुरु भएको प्रदेश सभा अहिले आफ्नै संरचनाबाट सुरु हुनु सुखद भएको उल्लेख गरे।
उद्घाटन समारोहमा विभिन्न जातजाती र समुदायले झाँकी देखाएका थिए।राजधानीको स्वागतको लागि केही दिन अघिबाटै देउखुरीको सरसफाइ र सजावट गरिएको थियो।
२ वर्षअघि २०७७ साल असोज २० गते प्रदेश सभाले दाङको राप्ती उपत्यका देउखुरीलाई स्थायी राजधानी तोक्ने प्रस्ताव पारित गरेको थियो ।