काठमाडौं । निर्वाचनबाट तेस्रो शक्ति बनेको नेकपा (माओवादी केन्द्र) ले सत्तामा जान नेपाली कांग्रेस र नेकपा (एमाले) सँग समानान्तर रुपमा बार्गेनिङ गरिरहेको छ ।
कांग्रेस नेतृत्वको गठबन्धनबाट चुनाव लडेको माओवादीले कांग्रेस सँगै एमालेसँग पनि सत्ता साझेदारीबारे कुरा चलाएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल गरेका छन् । मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका स्रोतले बताएको छ ।
भेटमा माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग वाम गठबन्धनको विकल्प नभएको र अहिले पनि सरकार गठनमा सहकार्य गर्न सकिने बताएका छन्। माओवादी केन्द्रका अध्यक्षसँगको बृहत छलफलपछि महासचिव गुरुङ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट गएका हुन्।
एमाले र माओवादी केन्द्रका कतिपय नेताहरुले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मिलेर जान दवाब दिइरहेका छन् । ति नेताहरुले ओली र प्रचण्डबीच भेट गराउने तयारी गरेका छन्।
एमाले पोलिब्यूरो सदस्य महेश बस्नेतले गत साता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेर एमाले–माओवादी केन्द्र मिलेर सरकार गठन गर्नुपर्नेमा जोड दिएका थिए।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला माओवादीको एमालेसँग भइरहेको निकटतालाई अर्थपूर्णरुपमा हेरिएको छ ।