प्युठान । पाँचदलीय गठबन्धनले प्युठानमा चुनाव प्रचार प्रसारका लागि घरदैलो अभियानमै जोड दिएको छ ।
राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार दुर्गा पौडेलको नेतृत्वमा गठबन्धनका प्रदेश सभा सदस्यका उम्मेदवार तथा दलका नेता कार्यकर्ताहरु मतदाताको घरघरै पुगेर मत माग्ने अभियान जारी रहेको प्युठानमा रहनुभएका अखिल (छैठौं) का महासचिव सुवाश जिसीले जानकराी दिनुभयो ।
‘एउटा वडामा ४ देखि ८ वटासम्म टोली बनाएका छौँ । प्रत्येक टोलीले आ–आफ्नो टोलमा घरदैलो गरिरहेको छ’ जिसीले भन्नुभयो, ‘हामीले खुला आमसभा भन्दा घरदैलोमै जोड दिइरहेका छौँ ।’
उहाँका अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेल यतिबेला माण्डवी गाउँपालिकाका विभिन्न टोलमा जनघेटघाटमा सक्रिय हुनुहुन्छ । यस्तै, अन्य उम्मेदवारहरु पनि संयुक्त टोलीसहित भेटघाटमा लागिरहनुभएको छ ।
प्युठानमा सबै पालिकामा गरी ६४ वटा वडाहरु रहेका छन् । पहिलो चरणमा वडाहरुमा स्वतःस्फूर्तरुपमा संयुक्त भेला भएको थियो भने त्यसपछि उम्मेदवारहित वडाभेला भएका थिए ।
त्यसलगत्तै वडाबाट विभिन्न टोल समिति बनाएर प्रचारात्मक कार्यक्रम सञ्चालन गरिएको हो ।
महासचिव जिसीका अनुसार गठबन्धनको चुनावी अभियान उत्साहजनक रुपमा अगाडि बढेको छ । प्रतिपक्षी उम्मेदवारको तुलनामा गठबन्धनको प्रचारमा व्यापक जनसहभागिता रहेको जिसीले बताउनुभयो ।
प्युठानमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ दुर्गा पौडेल उम्मेदवार हुनुहुन्छ भने प्रदेशतर्फ प्रदेश सभा ‘क’ मा प्रकाश अधिकारी र ‘ख’ मा रोज राणा उम्मेदवार हुनुहुन्छ ।
- प्युठानी जनताको शिर कहिल्यै झुक्न दिने छैन : दुर्गा पौडेल
- प्युठानका स्वतन्त्र उम्मेदवार सुवेदीद्वारा दुर्गा पौडेललाई समर्थन
- प्युठानका सबै पालिकामा गठबन्धनको संयुक्त भेला