बागलुङ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले बागलुङमा अगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको लागि जनभेटघाट तथा चुनावी प्रचार प्रसारको कार्यक्रमलाई तीब्रता दिएको छ ।
सोही कार्यक्रम अन्तरगत बागलुङ निर्वाचन क्षेत्र नं.१ अन्तरगत काठेखोला गाउँपालिका वडा नं ३ मा सोमबार जनभेटघाट तथा चुनावी प्रचार प्रसारको कार्यक्रम सम्पन्न भएको छ ।

प्रचार प्रसार कार्यक्रम धम्जाको दुवारा, माझकटेरा, असौजे, धम्जा देउराली, धम्जा गाउँमा सम्पन्न भएको थियो ।
जनभेटघाट तथा प्रचार कार्यक्रममा बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले २–२ पटक संसद विघटन गरेर देशलाई निरङकुसतातिर लैजान खोज्नु प्रतिगामी कदम र लोकतन्त्रको मूल्य र मान्यता बिपरित भएकोले संविधानको रक्षा र राजनैतिक स्थायित्वका लागि वाम लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ क का प्रदेशका उम्मेदवार तथा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति दिपेन्द्र बहादुर थापाले राजनैतिक स्थायित्वले मात्र दिगो विकासको लक्ष्य पूरा गर्ने भएकोले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनु पर्नेमा जोड दिनु भयो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एकीकृत समाजवादी बागलुङका अध्यक्ष लालबहादुर थापा, नेपाली कांग्रेसका प्रदेश समानुपातिक उम्मेदवार चम्पादेवी खड्का, राष्ट्रिय जनमोर्चा प्रदेश समानुपातिक उम्मेदवार पियारी थापा, लक्ष्मी बास्कोटा, नेकपा माओवादी केन्द्रका प्रदेश समानुपातिक उम्मेदवार कुशुम बुढा, लक्ष्मी खड्का, पाँचदलीय गठबन्धन निर्वाचन परिचालन समिति काठेखोला ३ का संयोजक दिपेन्द्र खड्का र सदस्य देवेन्द्र खड्काले मन्तव्य राख्नु भएको थियो । प्रचार कार्यक्रममा पाँचदलीय गठबन्धनका केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।