अमरगढी । डडेल्धुरामा नेकपा (एमाले) ले नेपाली काङ्ग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ । एमालेले काङ्ग्रेस (बिपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधि सभा सदस्यमा समर्थन गर्नुपर्नेमा त्यसो नगरेपछि गठबन्धन तोडिएको हो ।
२०७९ असोज २३ गते आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । उहाँ राष्ट्रियसभाका पूर्वसदस्य हुनुहुन्छ ।
एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिक रूपमा निर्देशन नआएकाले प्रतिनिधि सभामा एकल उम्मेदवारी दिएको जनाएको छ । उहाँसँगै प्रदेशसभा (क) मा सुदूर पश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराउनुभएको छ ।
त्यस्तै, प्रतिनिधि सभामा काङ्ग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । मल्ल नेपाली काङ्ग्रेस डडेल्धुराका पूर्व सभापतिसमेत हुनुहुन्छ । नेपाली काङ्ग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो । त्यसपछि उहाँ काङ्ग्रेस (बिपी) मा प्रवेश गर्नुभएको थियो ।