काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग गर्दै बारम्बार अनसन बस्दै आएका डा. गोविन्द केसीले फेरि अनसन सुरु गर्न लाग्नुभएको छ । डा. केसी यसपटकको अनसन धनगढी पुगेर सुरु गर्दै हुनुहुन्छ ।
यसअघि केसीले ७ बुँदे माग अघि सार्नुभएको थियो । आफूले दिएको समयमा पनि सरकारले मागबारे कुनै सुनुवाई नगरेकोले आज सोमबार साँझ ५ बजेदेखि धनगढीमा अनसन सुरु गर्न लाग्नुभएको केसीको सचिवालयले जनाएको छ ।
केसीका सहयोगी प्रितम सुवेदीले लेख्नुभएको छ, ‘सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न डा केसी धनगढी जाँदै हुनुहुन्छ ।’ यसअघि डा. केसीले भदौ १२ गते पत्रकार सम्मेलन गर्दै ७ बुँदे मागसहित अनसनको घोषणा गर्नुभएको थियो ।
तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्ने लगायत माग डा. केसीले अगाडि सार्नुभएको छ ।