काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध किन महाअभियोग लगाएको भनेर संसदीय समितिमा प्रश्न गर्नुभएको छ ।
बुधबार बयानका लागि महाअभियोग सिफारिस समितिमा पुगेका राणाले सांसदहरुलाई उल्टै प्रश्न सोध्नुभएको हो ।
वर्तमान सरकार बनाउन परमादेशको आदेश दिने अरु न्यायाधीश छाडेर आफू मात्रै महाअभियोग लगाइएको गुनासो गर्दै राणाले महाअभियोगको औचित्य नभएको दाबी गर्नुभएको छ ।
जबराले शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउन परमादेश जारी गर्ने पाँच न्यायाधीशमध्ये आफूमाथि मात्रै महाअभियोग लगाइएकोमा आपत्ति पनि प्रकट गर्नुभयो । उहाँले जसलाई परमादेशले सरकारमा पठायो, उसैले आफूमाथि अन्याय गरेको गुनासो पनि गरेका छन्।
आफूविरुद्ध गत फागुन १ गते सत्तारुढ दलहरुले लगाएको महाअभियोग संविधानतः निष्क्रिय भइसकेको राणाको दाबी छ ।
जबराले आफूले गरेका फैसलामाथि प्रश्न उठ्नु कुनै अनौठो नभएको तर्क पनि महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा गर्नुभएको छ ।
‘मैल या अरु न्यायाधीश जसले गरे फैसला गरे पनि एउटा पक्षले त प्रश्न उठाउने नै भयो’ राणाले भन्नुभयो, ‘कोही न कोही त असन्तुष्ट हुन्छ नै, त्यसो हुँदा हरेक मुद्दामा प्रश्न उठ्नु स्वभाविक पनि हो।’
परमादेशको आदेशका आधारमा एमालेले महाअभियोग लगाउनुपर्नेमा जसलाई सरकारमा पठायो, उसैले महाअभियोग लगाएको राणाको भनाई थियो ।
आज करिब चार घण्टा बयान दिएर फर्किएका चोलेन्द्रलाई भोलि पनि बयानका लागि समितिमा बोलाइएको छ।