काठमाडौं । नेकपा (मसाल) ले आगामी संसदीय निर्वाचनमा पनि एमाले र राजावादीसँग तालमेल नगर्ने नीति कायमै रहने स्पष्ट पारेको छ । एमालेले प्रतिगामी बाटो समातेपछि मसालले एमालेसँग तालमेल नगर्ने नीति लिएको थियो । गत स्थानीय निर्वाचनमा समेत पार्टीले सो नीतिलाई कार्यान्वयन गर्यो ।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ । सो चुनावसित सम्बन्धित विभिन्न पक्षहरूबारे विचार गर्न यही साउन २० गते नेकपा (मसाल) केन्द्रीय कार्यालयको बैठक बसेको र बैठकले गरेका निर्णयहरूबारे मसालले आज (शनिबार) प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेको छ ।
मसालले प्रतिगमनको खतरा कायमै रहेको भन्दै आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै राख्नुपर्नेमा जोड दिएको छ । साथै, गठबन्धन कायम हुन नसके एक्लै चुनाव लड्ने पनि वक्तव्यमा स्पष्ट पारिएको छ ।
गत स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाहेकका दलहरु इमान्दार बन्न नसकेको भन्दै गठबन्धनप्रति इमान्दार बन्न आग्रह समेत गरेको छ ।
महामन्त्री सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रतिगमनको विरुद्धको संघर्ष अहिलेको राष्ट्रिय आवश्यकता भएको हुनाले त्यसलाई पराजित गर्नको लागि पहिले झै आगामी चुनावमा पनि ५ दलीय चुनावी तालमेल आवश्यक छ भन्ने हाम्रो पार्टीको दृढ मत रहेको छ र त्यो नीतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नको लागि हामीले सम्बन्धित सबै पक्षहरूसित अपील गर्दछौँ र हामीले आफ्ना तर्फबाट पनि इमान्दारितापूर्वक त्यो नीतिलाई कार्यान्वयन गर्ने प्रतिवद्धता प्रकट गर्दछौँ । तर त्यस प्रकारको तालमेल हुन नसकेमा हामी एक्लै पनि चुनावमा जाने छौँ । हामीले चुनावमा जीत र हारलाई भन्दा बढी नीति र राजनीतिलाई नै बढी जोड दिन्छौँ ।’
यस्तो छ, वक्तव्य