नवलपुर । राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारीले प्रतिनिधि सभाबाट जबर्जस्ती नागरिकता विधेयक पास गरिएकोप्रति आपत्ति जनाउनुभएको छ ।
राजमो नवलपुरले गैँडाकोटको भृकुटी चोकमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता अधिकारीले सरकारको यस्तै रबैया रहिरहे राजमोले सरकारलाई दिएको समर्थनको टेको फिर्ता लिने चेतावनी दिनुभयो ।
‘नागरिकता जस्तो कुरालाई अहिलेको सरकारले छलफल नगराई पेलेर पास गर्नुले यो सरकारको राष्ट्रियताप्रतिको चरित्र स्पष्ट भएको छ’ अधिकारीले भन्नुभयो, ‘यदी सरकारको रबैया यस्तै रहे राजमोले सरकरलाई लगाएको समर्थनको टेको निकाल्न सक्छ ।’
अधिकारीले देशको राष्ट्रियता अहिलेसम्मकै कमजोर अवस्थामा रहेको भन्दै नागरिकता विधेयकले नेपालमै नेपाली अल्पमतमा पर्ने बताउनुभयो । उहाँले विधेयक खारेज गर्न जनताको तर्फबाट सरकारलाई दबाव दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा राजमो जिल्ला अध्यक्ष दिपक पाण्डेले पार्टीको सदस्यता जसरी नागरिकता बाँड्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सत्ताधारीहरुले चाहेजसरी विदेशीलाई नागरिकता बाँड्ने कुरा जनताको आन्दोलनले असफल पार्ने बताउनुभयो ।
यस्तै, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का कार्यवहाक महासचिव शालिकराम सापकोटाले भारतीय साम्राज्यवादले नेपाललाई लामो समय देखि भारतीय संघमा मिलाउने षड्यन्त्र स्वरुष यो नागरिकता विधेयक ल्याउन सत्ताधारीहरुलाई अराइ सिकाई गरेको आरोप लगाउनुभयो ।
कोण सभाको सञ्चालन नगर अध्यक्ष कृष्ण सापकोटाले गर्नु भएको थियो।