काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पास गर्दा अमेरिकी सेना आए चारपाटा मुडियोस् भन्ने व्यक्ति कहाँ छन् भन्दै गगन थापाको खोजी गर्नुभएको छ ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिस्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदा थापाले ‘अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस्’ भनेका थिए ।
थापाको त्यही भनाइलाई लक्षित गर्दै खनालले भन्नुभयो, ‘एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भन्दा त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाई चार पाटा मुडेर सहरबाट निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्ने विद्वान कहाँ छन् ?’
उहाँले यो विषय संसदमा पुगेर सोध्न बाँकी रहेको पनि बताउनुभयो । खनालले आफूहरुको सुझबुझका कारण एसपीपी रोकिएको पनि बताउनुभयो ।
‘एसपीपी रोकियो । नेपालको पहाडमा अमेरिकी सेना परेड खेल्न रोकियो म हाम्रा नेताहरू लाई धन्यवाद दिन्छु । सुझबुझले रोकियो’ उहाँले भन्नुभयो ।
खनालले एमसीसीकै कारण अमेरिकी सेना नेपालमा आउने वातावरण बनेको बताउनुभयो ।
उहाँले एमसीसी अमेरिकी इन्डोप्यासिफिक रणनीतिकै एउटा अंग रहेको भन्दै आफूले तत्कालिन प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सम्झौतापत्र मागेपनि नदिएको बताउनुभयो ।
खनाल सम्मिलित नेकपा एकीकृतलगायत दलले १२ बुँदे ब्याख्या गरेर एमसीसी संसदबाट पास गरेका थिए। त्यसप्रति खनालकाे विराेध रहँदै आएकाे छ।
नेता खनालले गठबन्धन संसद विघटनको विरुद्धमा उभिएर संविधान बचाउन सफल भएको भन्दै आगामी दिनमा कुनै पनि प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने बताउनु भयो ।