जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिका वडा नं. २ भिडियाही टोलमा स्थानीयले मतपेटिका नै लुटेर भागेका छन् ।
त्यहाँका स्थानीयबासिन्दाले श्री मावि मतदान केन्द्रको मतपेटिका लुटेका हुन्। उनीहरुले त्यहाँबाट तीनवटा मतपेटिका लिएर खेतैखेत भागेका हुन्।
यमुनामाई गाउँपालिकाका मतदान अधिकृत हरिप्रसाद शर्माले मतपेटिका लुटिएको जानकारी दिनुभयो ।
‘प्रहरी प्रशासनले पनि नियन्त्रण गर्न सकेन। २ देखि ३ वटा मतपेटिका लगिएको छ’ उहाँले भन्नुभयो, ‘मतदान गरिएका मतपेटिका नै स्थानीय लुटेर सडकमा लगेर फुटाइदिएका छन्।’
यो स्थानमा शुक्रबार मतपेटिका च्यात्नेदेखि झडपसम्मका गतिविधि भएका थिए। त्यहाँ दिउँसो प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास हानेको थियो।
यो केन्द्रमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस र जसपाबीचको गठबन्धनका दलहरुबीच दिनभर तनाव भएको छ।
रुखमा मतदान गर्न सिकाउने मतदान अधिकृत बर्खास्त
यसैबीच मतदातालाई रुखमा मतदान गर्न सिकाउने सर्लाहीका एक मतदान अधिकृत बर्खास्त गरिएको छ।
सर्लाहीको बलरा नगरपालिका ३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राजकिशोर साहलाई बर्खास्त गरिएको हो।
रुखमा मतदान गर्न मतदातालाई सिकाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। मत दुरूपयोग गरेको आरोपमा पक्राउ परेका उनलाई बर्खास्त गरिएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिनुभयो ।
घटनापछि मतदान प्रकृया स्थगित भएको थियो।
सर्वदलीय बैठकमा साहलाई बर्खास्त गरी सहायक मतदान अधिकृतलाई जिम्मेवारी तोकेर मतदान गराउन सहमति भएको थियो।