श्यामलाल पोखरेल, बुटवल ।
स्थानीय तहको निर्वाचनमा होमिएको राष्ट्रिय जनमोर्चाले चुनावी प्रचार–प्रचार प्रसारलाई तीब्रता दिएको छ ।
केही दिन अघिदेखि आफ्ना चुनावी एजेण्डा र उम्मेदवारलाई जनताको घरदैलोमा लगरे राष्ट्रिय जनमोर्चाले मतदातासँग मत मागेको छ ।
पाँचदलीय गठबन्धनमा रहेको राजमोले गठबन्धन भएको ठाउँमा संयुक्त रुपमा र गठबन्धन नभएको ठाउँमा एकल रुपमा घरदैलो अभियानमा जुटेका छन् ।
राजमोका नेता, कार्यकर्ता र उम्मेदवारहरु रुपन्देहीमा पनि घरदैलो अभियानलाई तीब्रता दिएको छ । राजमो रुपन्देहीका १६ स्थानीय तहहरुमा सबै ठाउँमा गठबन्धन हुन नसकेपछि राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवार उठेका स्थानीय तहमा घरदैलो अभियानलाई तीव्रता दिएको छ । गठबन्धन भित्रका दलहरु कांंग्रेस र माओवादीले राष्ट्रिय जनमोर्चाको अस्तित्व स्वीकार्न नसकेका ठाउँहरुमा एकल उम्मेवारी दिनुपरेको राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीले बताउनु भयो ।
उम्मेदवारी दर्ता गर्ने अन्तिम दिनको अन्तिम समयसम्म पनि रुपन्देहीका सबै स्थानीय तहमा मिलेर जाने सहमित भएपनि उम्मेदवारी दिने समय एक घण्टा रहेको बेलामा कांग्रेस र माओवादीका कारण सहमति नभएकाले रुपन्देहीका सम्भव भएका ठाउँमा एकल उम्मेदवारी दिनुपरेको राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको भनाइ छ ।
गठबन्धन भएको ठाउँमा इमान्दारिताका साथ गठबन्धनलाई जिताउने गरी मत माग्ने र गठबन्धन नभएको ठाउँमा आफ्ना उम्मेदवारलाई मत माग्दै यति बेला राष्ट्रिय जनमोर्चा रुपन्देहीमा घरदैलो अभियानमा केन्द्रित भएको छ ।
रुपन्देहीको भैरहवाको सिद्धार्थ नगरनगरपालिकाको प्रमुख पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका नेता हिरालाल धामीसहितका उम्मेदवारहरुले घरदैलो अभियान चलाएका छन् । प्रमुखसहित सिद्धार्थ नगरको विभिन्न वडामा उम्मेदवारी दिएको राष्ट्रिय जनमोर्चाले सबै ठाउँमा घरदैलो अभियानलाई तीब्रता दिएको चुनाव परिचालन समितिका संयोजक नेत्र आचार्यले बताउनु भयो ।
यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि राष्ट्रिय जनमोर्चाले चुनावी अभियान अनुसार घरदैलो अभियानलाई तीब्रता दिएको छ । तिलोत्तममाा गठबन्धन नभएकाले आफ्ना उम्मेदवार उठाएका वडाहरुमा घरदैलो अभियान चलाइएको राष्ट्रिय जनमोर्चाका स्थानीय नेता शिवराम घिमिरेले जानकारी दिनुभयो ।
तिलोत्तमामा रुकबहादुर पराजुलीले राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रमुख पदका लागि उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपप्रमुखका लागि शान्ताकुमारी घर्ती क्षेत्री उपमेयरको पदमा उम्मेदवारी दिनुभएको छ । तिलोत्तममा २८ जनाले राष्ट्रिय जनमोर्चाको तर्फबाट उम्मेदवारी दिएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा प्रमुख, उपप्रमुख र केही वडामा गठबन्धनमा सहमति भए अनुसार गठबन्धनमा उम्मेदवारलाई जिताउने र सहमति नभएको ठाउँमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउने गरी घरदैलो अभियान सञ्चालन गरिएको राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष पदम श्रेष्ठले बताउनु भयो ।
त्यस्तै रुपन्देहीकै सैनामैना नगरपालिकामा पनि राष्ट्रिय जनमोर्चाले चुनावी अभियान अन्तर्गत घरदैलो अभियानलाई तीब्रता दिएको छ । ‘राष्ट्रियता, गणतन्त्रको रक्षा गरौं, संघीयता खारेज गरौं र राष्ट्रघाती एमसीसी खारेजीका लागि राष्ट्रिय जनमोर्चालाई भोट’ भन्ने नारासहित भोट माग्दै घरदैलो अभियानमा लागिएको कृष्णबम मल्ले बताउनुभयो ।
त्यस्तै रुपन्देहीको कञ्चन गाउंपालिकामा पनि राष्ट्रिय जनमोर्चाले घरदैलो अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार लिलाराम खनालसहितका उम्मेदवारहरु घरदैलो अभियानमा लागेका छन् । कञ्चनको विभिन्न वडाको टोलटोलको वस्तीमा घरदैलौ गरी कोणसभाहरु ग्रिएको वडा अध्यक्षका उम्मेदवार खड्क जीसीले बताउनु भयो ।
त्यस्तै रुपन्देहीको देवदहमा पनि राष्ट्रिय जनमोर्चाले घरदैलो अभियान सञ्चालन गरेको छ । रुपन्देहीका अन्य स्थानीय तहहरुमा पनि राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारसहित घरदैलो अभियान चलाएको छ ।
राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारलाई गिलास चुनाव चिन्हमा मतदान गर्न समेत आम मतदातालाई अनुरोध गरेको छ । राष्ट्रिय जनमोर्चा स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासन प्रणाली स्थापनाका लागि जोड दिँदै संघीयताको खारेजी, एमसीसी खारेजीको विषयलाई प्रमुख मुद्दा बनाएर चुनावी अभियानमा जुटेको राष्ट्रिय जनमोर्चा ।