टेकराज भुसाल, अर्घाखाँची ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले चुनावी गठबन्धन दलहरुबीच सम्मानजनक रुपमा तालमेल नभए राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ ।
शनिबार राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले भूमिकास्थान नगरपालिका–४ धारापानीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव भट्टले कसैको दान र कृपाका आधारमा नभएर क्षमताका आधारमा तालमेल हुने स्पष्ट पार्नुभयो ।
‘स्थानीय निर्वाचनमा तालमेल गर्दा कसैले कसैलाई दया र कृपाले भाग दिने होइन, क्षमता र जनाधारका आधारमा तालमेल हुनुपर्छ’ महासचिव भट्टले भन्नुभयो, ‘यदी सम्मानजनक ढंगले तालमेल नभए राष्ट्रिय जनमोर्चाले एक्लै चुनाव लड्छ । मैत्रीपूर्ण प्रतिष्पर्धाका लागि हामी तयारै छौँ ।’
उहाँले नीति सिद्धान्त मिलेरभन्दा पनि प्रतिगमन पराजित गर्न कांग्रेस र माओवादीसँग गठबन्धन गर्नुपरेको बताउनुभयो । एमालेले धर्मको राजनीति गरेका कारण आफूहरूले विकल्प खोजेको भट्टको भनाई थियो ।
अझै पनि प्रतिगमनको खतरा रहेको उल्लेख गर्दै महासचिव भट्टले प्रतिगमनलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापाले संघीयता खारेज गरी स्थानीय तहलाई थप शक्ति सम्पन्न बनाउन र उत्पादन र आयआर्जनमूखी अर्थनीति निर्माण गर्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई विजयी गराउन नगरवासीलाई अनुरोध गरे ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसी, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, राजमो जिल्ला सदस्य कविराम खनाल, अखिल नेपाल युवक संघका सचिव कुलराज खनाल, अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर लगायतले सम्वोधन गर्दै आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई गिलास चिन्हमा मतदान गरि अत्यधिक मत विजयी गराउन अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्ग पिपलनेटा निवासी माओवादी केन्द्रका पुराना कार्यकर्ता चाेपलाल खनाल सो पार्टी परित्याग गरी राजमोमा प्रवेश गर्नुभएको थियो । उहाँलाई राजमो महासचिव भट्टले स्वागत गर्नुभयो ।