नारायणगढ । चितवनमा बर्डफ्लू रोगको सङ्क्रमण देखिएको दाबी गरिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकोमा बिहिबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लूको एचफाइभ एनवान सङ्क्रमण देखिएको हो ।
उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पन्छी नष्ट गर्ने काम हुने उहाँले बताउनुभयो । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उहाँको भनाइ छ । शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।
बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको माघ २८ गते बसेको बैठकले बर्डवफ्लू नियन्त्रण नियमावली–२०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको उहाँको भनाइ छ ।