काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौता पारित नभए गठबन्धन टुट्छ भनेर प्रधानमन्त्रीले शेरबहादुर देउवाले नबोलेको बदताउनुभएको छ ।
सत्तारुढ दलहरुको बैठकमा प्रधानमन्त्रीले एमसीसी पारित नभए गठबन्धन अघि बढ्न नसक्ने बताएको भन्ने समाचार प्रकाशित भएपछि नेता श्रेष्ठले त्यसको खण्डन गर्नुभएको हो ।
आजको विन्दुसम्म प्रधानमन्त्रीले त्यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पार्दै श्रेष्ठले समाचारमा सत्यता नभएको बताउनुभएको हो ।
आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै श्रेष्ठले भन्नुभएको छ, ‘कुनै भ्रममा नपरौं, प्रम देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन ।’
यस्तै, पाँच दलीय गठबन्धनमा एमसीसी पारित गर्नेबारे सहमति भयो भन्ने कुरा पनि सत्य नभएको उहाँको दाबी छ । उहाँले माओवादी केन्द्र यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा नरहेको कुरा पनि स्पष्ट पार्नुभएको छ ।
श्रेष्ठले भनेका छन्, ‘गठबन्धनमा एमसीसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन।’
पाँच दलीय गठबन्धनमा एमसीसीबारे विवाद भएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा नेता श्रेष्ठ र कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेको अध्ययन कार्यदल बनाइएको थियो । सो कार्यदलमा पनि समान धारणा बन्न नसकेपछि कार्यदलले लिखित प्रतिवेदन दिन सकेको थिएन ।
आइतबार कार्यदलका सदस्यहरुले मौखिक रुपमा आ–आफ्नो पार्टीको धारणा राखेका थिए ।