राम प्रकाश पुरी
१. विश्व राजनीतिक व्यवस्थाले देखाइरहेको रवैया
गत केही वर्ष पहिले युक्रेनको क्रिमियामाथि रुसले अधिकार गर्दा त्यो विषयलाई लिएर साम्राज्यवादी अमेरिका केही समय तनावग्रस्त भएपनि कुनै स्वार्थहरुका कारणले त्यो तनावको लामो समयसम्म आयु कायम रहेन । यदि त्यो तनाव युक्रेनको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताका लागि नै भएको भए त्यसले अन्य विश्वराजनीतिमा नै प्रभाव पार्दथ्यो र सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको सङ्घर्षले अन्तर्राष्ट्रिय आकार ग्रहण गर्दथ्यो । तर विश्वका जनताले बिभिन्न ढङ्गले आफ्नो विरोध प्रकट गरेको भएपनि विश्व राजनीतिक व्यवस्थाले युक्रेनको त्यो मामिलालाई महङ्खवका साथ लिन सकेन । यसमा कुनै कारण छैन, मात्र साम्राज्यवादी स्वार्थहरुको लेनदेनले त्यो विषय सामसुम भयो ।
अमेरिकाले आफ्नो साम्राज्यवादी स्वार्थका लागि नै युक्रेनको विषयलाई उठाएको भएपनि साम्राज्यवादी स्वार्थसित त्यसको सम्बन्ध भएकोले यदि रुसले क्रिमियामाथिको आफ्नो अधिकार छोड्थ्यो भने पनि युक्रेन एउटा पूर्ण सार्वभौमिक मुलुक हुन सक्दैन्थ्यो । किनभने त्यसलाई अमेरिकी साम्राज्यवादी वाजको पञ्जाले गाँजिसकेको हुन्थ्यो ।
त्यसरी युक्रेन सार्वभौमिकता साम्राज्यवादी बाजहरुबाट गाँजिएको कुरा बुझ्न कुनै गाह्रो पर्दैन । त्यसो त इराकले कुवेतमाथि अधिकार जमाउँदा अमेरिकाले गरेको युद्धलाई पनि साम्राज्यवादी नियतको रुपमा बुझ्न सकिन्छ । सिरिया र टर्कीका विषयहरु पनि साम्राज्यवादी केन्द्रहरुका आ–आफ्ना स्वार्थ बन्ने गरेको कुरा पनि कुनै लुकेको कुरा होइन ।
दक्षिण एसिया उपमहाद्वीपमा भारतीय साम्राज्यवाद एउटा खतराको रुपमा रहेको छ । सिक्किमलाई कोपाभजनमा पारेपछि यस क्षेत्रका अन्य मुलुकहरुको सार्वभौमिकता भारतीय साम्राज्यवादबाट खतरामा पर्दै आएको छ । भुटानको स्थिति एकदम नाजुक छ भने पाकिस्तानले सैन्य टक्कर दिने भएकोले पटकपटक भारतीय साम्राज्यवादी चरित्र प्रस्तुत हुने भएपनि त्यसले पाकिस्तानसित युद्धको सामना गर्नुपर्ने स्थिति पैदा भइरहन्छ ।
यस क्षेत्रका अन्य मुलुकहरु भारतीय साम्राज्यवादबाट प्रताडित बन्दै आएका छन् । हामीले भर्खरै अगाडि देखिसकेका छौँ, भारतीय साम्राज्यवादले जम्मु–काश्मीरमाथि गरेको बलात् हस्तक्षेपप्रति विश्व राजनीतिक व्यवस्था मौन रह्यो र सम्झौता गर्दाखेरिको साक्षी रहेको संयुक्त राष्ट्रसङ्घले आँखा चिम्लेर उक्त घटना नदेखे झैँ गर्यो । यसबाट स्पष्ट हुन्छ कि आज विश्वमा साम्राज्यवाद धेरै बलियो भएर गएको छ र राष्ट्रहरुको बीचमा समस्या पैदा भएमा त्यसको समाधानार्थ खडा भएको संयुक्त राष्ट्रसङ्घ साम्राज्यवादी इशाराको कठपुतली मात्र भएको पुष्टि हुँदै गएको छ । त्यसरी विश्व राजनीतिक व्यवस्था साम्राज्यवादीहरुको इच्छाधारी वस्तु बनेको छ । त्यसले साम्राज्यवादको दलाली बाहेक केही गर्न सक्दैन ।
भारतीय साम्राज्यवादबाट नेपाल पनि शिकार बन्दै आएको छ । नेपालसित भएका इष्ट–इण्डिया कम्पनीसितका सन्धि–सम्झौताहरु स्वतः रद्ध हुनुपर्ने हो । सन् १९५० को सन्धिको पेटबोलीमा त्यो कुरा निहित पनि छ । तर भारतले आफ्नो स्वार्थ पूरा हुने सन्धिका प्रावधानलाई कार्यान्वयनमा ल्यायो भने नेपालको हितमा उल्लेख भएका प्रावधानहरुलाई उपेक्षा गर्दै गयो । नेपाली जनताले बिभिन्न असमान सन्धिहरुको विरोध गर्दै आएका छन् ।
तर यो कुरा वर्तमान विश्व व्यवस्थालाई थाहा छैन झै लाग्दछ र संयुक्त राष्ट्रसङ्घले पनि नेपालका अधिकारका विषयहरुमा कहिल्यै बोलेको छैन । यदि संयुक्त राष्ट्रसङ्घले नेपाललाई न्याय दिनुपर्दछ भन्ने ठान्दछ भने सन् १९५० मा भएको सन्धि अनुसार नेपालले सुगौली सन्धिमा गुमाएको सम्पूर्ण भूमि फिर्ता पाउनुपर्दछ । तर संयुक्त राष्ट्रसङ्घ वा वर्तमान विश्वव्यवस्थाले त्यसप्रकारको न्याय कहिल्यै पनि दिन सक्ने छैनन्, किनभने उनीहरु साम्राज्यवादका खेलौना बाहेक केही होइनन् ।
केही समय अगाडि भारतले नक्कली नक्शा सार्वजनिक गरेर नेपालको लिम्पियाधुरा भूमिलाई भारतको क्षेत्रभित्र देखाउने काम गर्यो । त्यसरी भारतीय साम्राज्यवादले शान्तिपूर्ण रुपमा नेपालको भू–भागलाई भारतीय भूमिको रुपमा नक्शामा प्रस्तुत गरेर विश्वजनसमुदायका माझमा भ्रम उत्पन्न गर्ने प्रयास गरिरहेको छ । लिम्पियाधुरालाई आफ्नो भू–भागमा देखाउने कार्य भारतीय साम्राज्यवादको नाङ्गो र कुरुप चरित्र हो । साम्राज्यवादका अनेक प्रपञ्चहरुप्रति वर्तमान विश्व राजनीतिक व्यवस्था मौन बसेर स्वतन्त्रता, सार्वभौमिकता र स्वाधीनताका प्राणहरुको अन्त्य भइरहेको छ ।
२. तेस्रो विश्वका देशहरुको स्थिति के हुन्छ ?
विश्व राजनीतिको यो परिस्थितिमा तेस्रो विश्वका देशहरुको स्थिति के हुन्छ ? भन्ने प्रश्न गम्भीर महङ्खवको हुन्छ । तेश्रो विश्वका देशहरु भनेका साम्राज्यवादबाट उत्पीडित राष्ट्रहरु हुन् । सहयोगका नाममा ऋण र हस्तक्षेप आदिको मार खेपिरहेका मुलुकहरु नै तेस्रो विश्वका मुलुकहरु हुन् । यी मुलुकहरुका सार्वभौमिकता धेरै नै खतरामा रहेको र यिनीहरुले आफ्नो साधन र स्रोत पनि गुमाउँदै गइरहेका छन् । यिनीहरु भूपरिवेष्ठित वा अन्य अन्य भौगोलिक विषमताबाट अप्ठेरोमा रहनुका साथै सामारिक र आर्थिक दृष्टिले पनि निकै नै कमजोर अवस्थामा रहेका छन् । औपनिवेशिककालीन विश्व राजनीतिक व्यवस्था यी मुलुकहरुमा एकप्रकारले कायम भइरहेको छ । मात्र यति फरक हो कि पहिलेको साम्राज्यवादले आफ्नो सैन्यशक्ति सहित भूमि कब्जाको नीति लागू गर्नका साथै साधन र स्रोतमाथि खुला रुपले लुट गर्ने र आफ्नो अधिकार जमाउने गर्दथ्यो भने दोश्रो विश्वयुद्धपछिको समयले त्यो जङ्गली साम्राज्यवादलाई ब्रेक गरेको भएपनि तथाकथित सभ्य साम्राज्यवाद प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेपको नीति सहित तेश्रो विश्वका मुलुकहरुमा अस्तित्वमा रहन पुग्यो ।
जुन मुलुकहरुमा अर्धऔपनिवेशिक, अर्धसामन्त जस्ता राजनीतिक प्रणाली वा वैदेशिक सम्बन्धका कडी बन्न गए । यसप्रकारको व्यवस्थाले तेश्रो विश्वका देशहरु झन् झन् पराधीन र कङ्गाल बन्दै गए । उनीहरुका साधन र स्रोतमाथि साम्राज्यवादी राष्ट्रहरुले निर्णय गर्ने र लुट्ने सिलसिला चलिरह्यो । उनीहरुको राजनीतिक व्यवस्था कठपूतलीहरुले सञ्चालन गर्ने संयन्त्रको रुपमा रह्यो । त्यसरी तेस्रो विश्वका मुलुकहरु साम्राज्यवादबाट उत्पीडित बनाइएका, नाम मात्रको सार्वभौमिकता र स्वतन्त्रतामा बाँच्न वाध्य तुल्याइए । त्यही कुरा अहिले विभिन्न सन्दर्भहरुबाट लागू भइरहेको छ ।
साम्राज्यवादको तथाकथित सहयोगबाट तेश्रो विश्वका मुलुकहरुले उँभो लागिन्छ भन्ने सोच्दछन् भने त्यो एकप्रकारको राष्ट्रघात जस्तै हो । हाम्रै देशमा पनि आफ्नो देशलाई बुझ्न नसकेका कतिपय कूपमूण्डकहरुले धनी राष्ट्रको हस्तक्षेपले विकास, समृद्धि आदि हुने भन्ने तर्क गरेको पाइन्छ । वास्तवमा तिनीहरु साम्राज्यवादी कुकुर हुन् र तिनीहरुले कुनै पनि हालतमा देशप्रति प्रेम दर्शाउन सक्दैनन् । त्यसैले सबैभन्दा पहिले देशभित्रका राष्ट्रघाती तङ्खवहरुलाई सम्पूर्ण जनताले तिरस्कार गर्नुपर्दछ ।
यसको अर्थ यो पनि हो कि देशको सार्वभौमिकतालाई चुनौति दिने काम राष्ट्रघातीहरुबाट हुन्छ र उनीहरुले आफ्नो कतिपय स्वार्थहरुका कारणले साम्राज्यवादी शक्तिहरुसित साँठगाँठ गरेर देशको सार्वभौमिकतालाई लिलाम गर्न पुग्दछन् । यसप्रकारको सोच शासकवर्गदेखि सामान्य मानिसहरुमा पनि हुने गर्दछ । देशप्रति गम्भीर आस्था नभएका वा कुर्चीप्रति धेरै लालसा राख्ने तङ्खवहरुले देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतालाई धेरै नै गौण बनाएर विचार गर्दछन् ।
यदि शासकवर्ग र जनतामा समेत देशको सार्वभौमिकतालाई समाप्त पार्ने विचार उत्पन्न भयो वा त्यसप्रकारका क्रियाकलापहरु हुन थाले भने साम्राज्यवादले आफ्नो साम्राज्यवादी नीति अनुसार काम गर्नका लागि कुनै पनि वाधाको सामना गर्नुपर्दैन । तर जब जनता स्वयम् जागरुप भएर आफ्नो मुलुकको सार्वभौमिकताको रक्षाका लागि जुरमुराउँछन्, त्यसबेला साम्राज्यवादले कुनै पनि अवस्थामा जनताको स्वतन्त्रता वा स्वाधीनताले बाँचेको सार्वभौमिकतालाई आक्रमण गर्न सक्दैन वा आक्रमण गरेपनि त्यसले विजय हासिल गर्न सक्दैन । जनताको एकतावद्ध युद्धका कारणले अमेरिकालाई भियतनामबाट फर्किनुपरेको कुरा इतिहासमा जीवन्त छ ।
त्यसैले साम्राज्यवादी देश जति ठूलो शक्ति भएपनि जनताको एकताले त्यसलाई परास्त गर्न सक्दछ । तर त्यो कुरा त्यतिबेला नै सम्भव हुन्छ, जतिबेला कुनै मुलुकका जनता र शासन सञ्चालकहरुको बीचमा सार्वभौमिकताको प्रश्नलाई कार्यान्वयन गर्नका लागि प्रतिवद्ध हुन्छन् ।
अहिले जुन शैली र तरिकाबाट विश्वव्यवस्था चलिरहेको छ, त्यसले उत्पीडित राष्ट्रहरुलाई पतन बनाउनका साथै उनीहरुको सार्वभौमिकतालाई समेत समाप्त गरिरहेको छ । त्यसैले वर्तमान विश्वव्यवस्था त्यस्तो साम्राज्यवाद बन्न गएको छ, जसले सम्पूर्ण विश्वलाई आफ्नो नोकर बनाउँछ र आवश्यकता अनुसार आफ्नो मनपरी व्यवहार गर्न थाल्दछ । यस अनुसार तेस्रो विश्वको मुलुकहरु साम्राज्यवादद्वारा बलात्कृत भइरहेका छन् । उनीहरु निरीह भएर आफ्नो अस्मितामाथि जूवा खेल्न वाध्य भइरहेका छन् ।
तर यो कुरा सँधैलाई सत्य होइन, जनताको तागतले बलत्कारी साम्राज्यवादलाई नाङ्गो पारेर उत्तानो बनाउन सक्दछन् । जनताले साम्राज्यवादलाई दण्डित गर्न सक्दछन् । त्यो कुरा कपोलकल्पित भएर होइन, सङ्गठित शक्ति भई प्रकट भएर नै औचित्यपूर्ण बन्न जान्छ । त्यसरी तेस्रो विश्वका मुलुकहरु तेश्रो विश्वमा नै रहिरहँदैनन् र उनीहरु माथि उक्लिन्छन् । त्यसैले तेश्रो विश्वका मुलुकहरुको स्थिति के हुन्छ भन्ने कुरा साम्राज्यवाद विरुद्धमा उनीहरु कति सङ्गठित हुन्छन् र त्यहाँका जनताले कसरी बहादुरीपूर्वक साम्राज्यवाद विरुद्धमा युद्ध लड्न सक्दछन् भन्ने कुरामा निर्भर रहन्छ ।
३. निर्णायक शक्ति को हो : जनता वा साम्राज्यवाद ?
साम्राज्यवादलाई परास्त गर्नका लागि जनताको एकता र बल आवश्यक हुन्छ । साम्राज्यवादी अमेरिकाका जनता होउन् वा साम्राज्यवादी भारतका जनता, कोही पनि साम्राज्यवादका पक्षमा छैनन् । जनमत कहिल्यै पनि साम्राज्यवादका पक्षमा हुँदैन । साम्राज्यवाद रक्तपिपासु, स्वार्थी, लुटेरा आदि खराब प्रवृत्ति र विशेषताले भरिएको हुने भएकोले मानवजातिले यसलाई कहिल्यै पनि स्वीकार गर्न सक्दैन । प्रथम र दोश्रो विश्वयुद्ध, भियतनाम लगायतका बिभिन्न युद्धहरुमा भएका महाप्रलयहरु साम्राज्यवादका उत्पादनहरु थिए । जुन महाप्रलयहरुमा करोडौँ जनताको आहुति चढाइएको थियो ।
त्यसरी मानवजातिलाई आहुति दिएर जीवित हुन आएको साम्राज्यवाद सर्वदा मानवसमुदायबाट घृणित र तिरस्कृत छ । विश्वभरिका जनताले साम्राज्यवादका विरुद्ध जसरी पनि युद्ध लड्ने छन् र उनीहरुले यसको अन्त्य गर्ने छन् । जनता कहिल्यै पनि साम्राज्यवादी हुने छैनन् । उनीहरुले आफ्नो देशलाई माया गर्नु स्वाभाविक हो र हुनेछ । तर जनतामा अन्धराष्ट्रवाद कहिल्यै पनि हुँदैन र हुने छैन । अन्धराष्ट्रवाद, अन्धजातिवाद र अन्धधर्मवाद साम्राज्यवादका अङ्गहरू हो । साम्राज्यवादले यस्ता बिभिन्न वखेडाहरु निकालेर बिभिन्न मुलुकहरुको सार्वभौमिकता र स्वतन्त्रतालाई हडप्ने गर्दछ । अन्धराष्ट्रवाद जनताको साथमा हुँदैन, साम्राज्यवादीहरुको साथमा रहन्छ ।
विश्वजनमतलाई बिभिन्न ढङ्गले ध्यान आकर्षित गर्ने प्रयास गरेपनि साम्राज्यवादले अन्ततः अन्य मुलुकहरुको स्वाधीनतामाथि दख्खल पुर्याउने भएकोले संसारका सबै जनताले साम्राज्यवादको विरोध गर्दछन् र त्यसका विरुद्ध युद्ध लड्न तयार हुन्छन् । भारतीय साम्राज्यवादले भोग्ने दशा पनि त्यही नै हो । भारतीय साम्राज्यवादले भारतीय जनतालाई कुनै पनि हालतमा अर्काको भूमिमाथि कब्जा गरेका कारणले खुसी तुल्याउन सक्दैन । नत त्यसले आफ्नो देशमा भइरहेको विश्रृङ्खलतालाई नै रोक्न सक्दछ । नत त्यहाँ चल्ने मुक्ति आन्दोलन र जनताका असन्तुष्टिहरुलाई नै सम्बोधन गर्न सक्नेछ । भारतीय साम्राज्यवादी नीतिले नत त्यहाँको राजनीतिक व्यवस्था राम्रो बन्ने छ, नत त्यहाँका जनताले कहिल्यै शान्ति प्राप्त गर्ने छन् ।
भारतीय साम्राज्यवाद एउटा त्यस्तो युद्धमा धकेलिंदै गइरहेको छ, जसलाई उसकै आफ्ना जनताले चिहान लगाउनु बाहेकको विकल्प प्राप्त गर्ने सक्ने छैनन् । भारत साम्राज्यवाद फगत कागजी वाघ हो । जोस“ग हडप्ने योजना त हुन सक्दछ, तर जनताको तागतको भर थाम्न सक्ने क्षमता हुन सक्दैन । जस्तै कि चिनीयाँ जनता सामू जापानी साम्राज्यवादको क्षमता थिएन । भियतनामी जनताको सामू अमेरिकी साम्राज्यवादको क्षमता थिएन । अनि त्यस्तै अन्य राष्ट्रहरु पनि साम्राज्यवादका विरुद्ध लडिरहेका छन् । जसले आर्थिक र राजनीतिक व्यवस्थाप्रणालीको महङ्खवलाई भन्दा साम्राज्यवादीहरुका ज्यादतिका विरुद्ध आफूलाई खडा गर्न बढी आवश्यक सम्झिन्छन् । त्यसैले निर्णायक शक्ति साम्राज्यवाद होइन, जनता हुन् ।
४. नेपाली जनताको अदम्य साहसका सामु भारतीय साम्राज्यवादले घुँडा टेक्नुपर्ने छ
भारतले नेपालका बिभिन्न सीमाहरुमा सीमा मिचेको छ । ती सीमाहरुको विषयलाई लिएर नेपाली जनताले लगातार आवाज उठाउँदै आएका छन् । त्यति मात्र होइन, नेपाली जनताले सुगौली सन्धि, १९५० लगायतका सन्धिहरुको पनि खारेजीको माग गर्दै आएका छन् । नेपालमा राष्ट्रियताको विषयबारे एउटै राष्ट्रिय मत निर्माण हुन नसकेका कारण नेपालको राष्ट्रियता र सार्वभौमिकता पटकपटक सङ्कटमा पर्दै आएको छ ।
विगतमा भएका सन्धि सम्झौताहरुको विरोध देशभक्ति शक्तिहरुबाट हुने गरिएको भएपनि सत्तामा रहने वा सत्तामा पुग्न सक्ने सम्भावना बोकेका तर भारतपरस्त शक्तिहरुले राष्ट्रियताको विषयलाई गौण बनाउँदै आएका थिए । भारतको साम्राज्यवादी नीतिको आलोचना वा विरोधलाई उनीहरुले आफ्नै विरोध गरेजस्तो ठान्दथे । अब स्थितिले प्रष्ट पारिरहेको छ कि भारतको विरोध भनेको भारतीय जनता, भारतको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको होइन, भारतको विरोध भनेको भारतीय साम्राज्यवादी नीतिको हो । भारतीय लुटेरा प्रवृत्तिको हो । जसलाई नेपाली जनताले सँधैका लागि परास्त गर्न आवश्यक हुन्छ ।
सरकारले कुटनीतिक ढङ्गले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनताको सुरक्षा हुनेगरी समस्याको समाधान गर्न सकेन भने अब नेपाली जनताका सामू एउटा मात्र विकल्प हुन्छ । त्यो विकल्प हुनेछ : भारतीय साम्राज्यवादको दासत्वको स्वीकार या भारतीय साम्राज्यवादका विरुद्ध सङ्घर्ष । नेपाली जनताले पछिल्लो विकल्प नै रोज्दछन् । सम्पूर्ण इतिहासलाई विचार गर्ने हो भने नेपाली जातिले आफ्नो स्वाभिमानलाई तिलाञ्जली दिएर मुर्दाको संस्कार निर्माण गरेका छैन ।
उनीहरुले अनिवार्य रुपमा इतिहासको त्यो गौरवतालाई कायम राख्नुपर्ने छ र आफ्नो भूमिको रक्षाको निम्ति बलिदानको बाटो रोज्नुपर्ने छ । यदि भारतीय साम्राज्यवादलाई यसै गरी छोडिदै गयो भने, परिणाम यो हुने छ कि त्यसले आफ्नो साम्राज्यवादी नङ्ग्रा अरु फैलाउँदै लैजाने छ ।
त्यसैले अहिले लिम्पियाधुराको विषयले जुन देशभक्त शक्तिहरुलाई एकठाउँमा ल्याएको छ, त्यो शक्ति नै अचूक शक्ति हुनुपर्दछ जसले भारतीय साम्राज्यवादी नङ्ग्राहरु भाँचिदिने छ । नेपाली जनताको तागतका अगाडि भारतीय साम्राज्यवादले घुँडा टेक्नैपर्ने छ । त्यो कुरा आगामी सङ्घर्षका घडीहरुमा प्रमाणित हुँदै जानेछ ।