काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय एकता दिवसको रूपमा पुस २७ गते बिदा दिने माग पुनः दोहो¥याएको छ । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा २०७८ पुस २७ गते नै जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको हो ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा जारी प्रेसवक्तव्यमा नेपाल सरकारले पुस २७ गते बिदा नदिए पनि कतिपय स्थानीय तहले विदा दिएकोमा खुसी व्यक्त गरिएको छ । सामन्ती राजा भएका कारणले उनको नेतृत्वमा भएको एकीकरणको विरोध गर्नु सही नीति नभएको सो वक्तव्यमा उल्लेख छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“पुस २७ गतेलाई सरकारले राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय गर्नुपर्ने र त्यस दिन सरकारी तबरबाट सार्वजनिक बिदा दिनुपर्ने माग राष्ट्रिय जनमोर्चाले गर्दै आएको छ । आज राष्ट्रिय एकता दिवसको दिनमा त्यो माग पुनः दोहो¥याउन चाहन्छ । देशव्यापी रूपमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने आवाज देशव्यापी रूपमा बढ्दै गइरहेको छ । आज देशको राष्ट्रियता सार्वभौमसत्ता, अखण्डता, जातीय सद्भाव र एकतामाथि विखण्डनकारी तत्त्वहरूबाट आक्रमण तीव्र पारिएका बेला राष्ट्रिय एकता दिवसको महत्त्व झन् बढेर गएको छ । पुस २७ गतेका दिन सरकारले सार्वजनिक बिदा नदिए पनि यो खुसीको कुरा हो कि कतिपय स्थानीय तहले बिदा दिने घोषणा गरेको छ ।
विभिन्न मुलुकको एकीकरणको इतिहास हेर्दा एकीकरणकर्ताको भूमिकामा फरक फरक वर्ग वा धर्मले योगदान पु¥याएको पाइन्छ । कुनै मुलुकको एकीकरणमा सामन्ती शासक त कुनै मुलुकमा पुँजीवादी, कुनैमा कम्युनिस्ट शासन त कतिपय मुलुकमा तत्कालीन नवोदित धर्म, यहाँसम्म कि विदेशी हमलावरले समेत तत्कालीन अवस्थामा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । वर्तमान सामाजिक स्वरूपलाई आधार बनाएर तत्कालीन समाजलाई मूल्याङ्कन गर्दा त्यो समाज पिछडिएको तथा तत्कालीन समाजको नेतृत्वदायी वर्ग प्रतिकृयावादी भए पनि आफ्नो मुलुकको एकीकरणका लागि पु¥याएको योगदानलाई अवमूल्यन गर्नु सही हुन्न । त्यो कुरा नेपालको एकीकरणको हकमा पनि लागु हुन्छ ।
नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको महत्त्वपूर्ण एतिहासिक योगदान रहेको छ । वर्तमान गणतन्त्रात्मक शासन प्रणालीमा आएर उनी सामन्ती शासक भएको आधारमा उनले नेपालको एकीकरणमा पु¥याएको योगदानलाई अस्वीकार गर्नु सही हुँदैन । तत्कालीन सामन्ती व्यवस्था प्रतिकृयावादी भएको कुरामा कसैसँग विमति हुन सक्दैन । तर तत्कालीन सामन्ती शासकले आफ्नो मुलुकको राष्ट्रियताको रक्षाको भावनाले एकीकरण गरेका थिए । त्यो राष्ट्रियताको भावना सामन्ती राष्ट्रवादमाथि आधारित भए पनि त्यसले देशको एकीकरण तथा एकीकृत मुलुकलाई अङ्ग्रेजबाट रक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो ।
नेपाल तत्कालीन अवस्थामा ५३ ओटा ससाना राज्यमा विभाजित थियो । विभिन्न राज्यका बिच युद्ध, झैझगडा तथा लुटपाट चलिरहन्थ्यो । नेपालको दक्षिणतर्फ ब्रिटिस साम्राज्यवादको शक्ति र प्रभावमा विस्तार हँुदै नेपालको समेत राष्ट्रियता खतम गरेर आफ्नो उपनिवेश बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको अवस्थामा पृथ्वीनारायण शाहले एकीकरण कार्य अगाडि नबढाएको भए सम्भवतः नेपालको स्वतन्त्र अस्तित्व समाप्त हुुने थियो ।
तत्कालीन अवस्थामा नेपाललाई एकीकृत तुल्याउन कार्यमा पृथ्वीनारायण शाहको ऐतिहासिक महत्त्वपूूर्ण योगदान रहेको छ । सामन्ती शासक भएका कारण नेपालको एकीकरणमा उनले पु¥याएको योगदानलाई अवमूल्यन गर्नु सही हुने छैन ।”