काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी माघ १५ र १६ गते सातवटै प्रदेशमा प्रदेश सम्मेलन गर्ने भएको छ । राजमो केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार हालै बसेको बैठकले सातवटै प्रदेशमा एकैपटक सम्मेलन गर्ने निर्णय गरेको हो ।
‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ ! संघीयता खारेज गरौँ, …… (प्रदेशको नाम लेख्ने) प्रदेशको ऐतिहासिक प्रथम सम्मेलन भव्य रुपमा सफल पारौँ !! भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गरिएको हो ।
राजमोले प्रदेश सम्मेलनको मितिसहित सम्मेलन उद्घाटन गर्न जाने नेताहरुको समेत टुंगो लगाएको छ । जस अनुसार पोखरामा हुने गण्डकी प्रदेश सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने छ ।
स्तै, बागमती प्रदेशमा कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, कर्णाली प्रदेशमा उपाध्यक्ष जनकराज शर्मा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेल, सुदूरपश्चिम प्रदेशमा महासचिव मनोज भट्ट, प्रदेश २ मा सचिव हिमलाल पुरी र प्रदेश १ नेता अमृत पाण्डेले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
गएको २०७७ चैत २४ देखि २६ गतेसम्म सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनले प्रदेश समितिलाई ‘कार्यकारी’ अधिकार दिने निर्णय गरेको थियो । सम्मेलन पछि अब प्रदेश समितिहरु कार्यकारी हुनेछन् ।
राजमो प्रदेश समितिमा महिला, दलित, पिछडिएको क्षेत्र, जनजाती, मधेशी, अल्पसंख्यक, अपांगता भएका व्यक्ति समावेश गरिने छ ।