इन्द्रमणि पाण्डे, बागलुङ ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सम्मेलनको तयारी तीब्र रुपमा अघि बढेको छ । प्रदेश सम्मेलन तयारीका क्रममा शनिबारम्यादीमा राजमोको जिल्ला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले प्रशिक्षणात्मक मन्तव्य राख्दै देशमा फेरि पनि अस्थिरताको सुरुवात भएको र त्यसको जिम्मेवार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु नै रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुखसमेत रहेका ढुङ्गानाले नेकपा (एमाले) वर्तमान परिर्वतनको बाधकको रुपमा देखा परेको आरोप लगाउनुभयो । उहाँले संघीयता नेपाली जनताको भावना विपरित नेपालमा ल्याइएको हुनाले यसको तत्काल खारेज गर्नुपर्ने जिकीर गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष विष्णु कार्की र जातीय समता समाजका शिव परियारले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम राजमो म्याग्दीका अध्यक्ष छवि विकको अध्यक्षता, उपाध्यक्ष टीका रानाको स्वागत तथा जिल्ला सचिव फौज बहादुर कार्कीको सन्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमबाट राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश सम्मेलनलाई भव्य रुपमा सफल पार्नका लागि आवश्यक कार्ययोजना निर्माण गरिएको राजमो नेता छवि विकले जानकारी दिनु भएको छ ।
राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको सम्मेलन आउँदो माघ १५ गते पोखरामा हुँदैछ ।