भोजपुर । राम्रो आम्दानी लिन सकिने भएपछि लाहा खेतीमा भोजपुरका कृषकको आकर्षण बढेको छ । गत वर्षदेखि डिभिजन वन कार्यालयले यसको खेती विस्तार गरेसँगै स्थानीयवासीमा आकर्षण बढेको हो ।
लाहा खेतीलाई विस्तार गर्नका लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुक्खाग्रस्त क्षेत्रलाई छानेको छ, जुन क्षेत्रमा खयर, बयरलगायत वनस्पति प्रशस्त मात्रामा रहेका छन् ।
खयर, बयरसँगै झापाबाट लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको बिरुवासमेत वितरण गरेको छ । लाहालाई अझ विस्तार गर्न स्थानीयवासीको माग र आवश्यकताको आधार यस्ता बिरुवालाई थप विस्तार गर्ने योजना रहेको वन कार्यालयले जनाएको छ । यस प्रजातिको बिरुवामा लाहा खेती गरेर दश वर्षसम्म उत्पादन लिन सकिने वन कार्यालयले जनाएको छ । लाहाको व्यावसायिक खेती विस्तारलाई जोड दिन यहाँका कृषकलाई आवश्यक सहयोग गर्ने वन कार्यालयको भनाइ छ ।
कृषकलाई लाहा खेती प्रविधिको विषयमा जानकारी दिन झापा, धनकुटा र सङ्खुवासभाबाट लाहाको खेती गरिरहेका अगुवा कृषक तथा विज्ञलाई ल्याएर यसको बजार तथा खेती गर्ने तरिकाबारे बताइएको वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।
वन कार्यालयले जिल्लामा पहिलोपटक खेती थालेकाले गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने बताएको छ । कृषकलाई आयआर्जनमा जोड्न सकिने साथै खेर गइरहेका जमिनको सदुपयोग हुने भएकाले लाहाको खेतीमा जोड दिने अरुण गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
बजारमा लाहाको माग धेरै रहेको झापामा लाहाको उद्योग सञ्चालन गरिरहेका डम्बर विश्वकर्माले बताउनुभयो । जति मात्रामा उत्पादन भए पनि उत्पादित लाहाको जिम्मा आफूले लिने उहाँको भनाइ छ । (रासस)