जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा दुई मन्त्रालयसहित एकीकृत समाजवादी सहभागी भएको हो ।
उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतो र कानुन तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी प्रमोद यादवले पाएका छन् । दुवै मन्त्रीले आज (आइतबार) पद तथा गोपनीयताको शपथ खाएका छन्।
नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश २ प्रमुख हरिशंकर मिश्रले शपथ खुवाउनुभएको हो ।
यसअघि नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सामेल गराउन मुख्यमन्त्री राउतले जसपाको भागको उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारीबाट रामनरेश रायलाई बर्खास्त गर्नुभएको थियो । जनता समाजवादी पार्टीको नेतृत्वको प्रदेश सरकारमा गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्र सहभागी भइसकेका छन् ।