काठमाडौं । अखिल (छैठौं) सहित विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।
अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, वैद्य निकट अखिल क्रान्तिकारी, विप्लव निकट अखिल क्रान्तिकारी र अखिल (छैठौं) ले संयुक्र विज्ञप्ति प्रकाशित गरी आन्दोलनको घोषणा गरेका हुन्।
घोषित कार्यक्रम अनुसार विद्यार्थी संगठनहरुले कात्तिक २५ गते उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवलाई ज्ञापन पत्र बुझाउने, २६ गते विहान ९ देखि ११ बजेसम्म आयल निगमका महाप्रवन्धकलाई निगम प्रवेश निषेध तथा घेराउ, २८ गते प्रदर्शनी मार्गमा खाली सिलिण्डर प्रदर्शन, ३० गते देशभरीका आयल निगम कार्यालयमा कालो ब्यानर राखी विरोध प्रदर्शन र मंसिर २ गते दिउँसो माइतीघर मण्डलामा सडक बहस कार्यक्रम राखेका छन्।
नेपाल आयल निगमले बुधबार राति पेट्रोल, डिजल र मट्टितेलमा तीन÷तीन रुपैयाँ तथा खाना पकाउने ग्यासमा ७५ रुपैयाँ वृद्धि गरेको थियो। यो सहित निगमले एक महिनामै पेट्रोल, डिजद र मट्टितेलमा ६ रुपैयाँ तथा ग्यासमा १२५ रुपैयाँ मूम्य बढाएको छ।
