काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मिलेनियम चालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकासँग आग्रह गर्नुभएको छ ।
बुधबार विज्ञप्ति प्रकाशित गर्दै गौतमले एमसीसी परियोजनाले नेपालको हित नगर्ने भएकाले फिर्ता लैजान अमेरिकी सरकारलाई आग्रह गर्नुभएको छ ।
‘एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनको कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएकाले छ,’ गौतमले भन्नुभएको छ, ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन प्रकारको सरकार बनेको छ र जस्तो अवस्थामा संसद् रहेको छ, नेपाल सरकारले र संसद्ले पनि अनुमोदन गर्नसक्ने अवस्था देखिन्न।
यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता लिन विनम्र अनुरोध गर्दछु।’
पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले अमेरिकालाई नेपाली जनताले राम्रो मान्दै आएको र एमसीसीसँग गरिएको सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरेको बताउनुभएको छ ।
‘सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ’ उहाँले भन्नुभएको छ ।