• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनताका छोरीचेली


  •   बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    निराशाका कविता र पीडा गाउने गीतमा ।
    दुख्छ मन मुक्ति छैन न छन् जितमा ।।
    युगौँ गाए खै त रूप निराशाले फेरेका ।
    त्यै निराशा जिन्दगीमा घुमिरहेका ।।

    Advertisement

    मनका पीडा गाउँदै आए समाजलाई सुनाए ।
    पीडाका गीत समाजले कला बनाए ।।
    न फेरियो जिन्दगानी निराशाका गीतले ।
    खै त किन नजितेको जन हितले ।।

    खानुदेखि लाउनुसम्म बन्धन र बाधा छन् ।
    तिनै बाधा जीवन बाँध्ने बन्धन बन्या छन् ।।
    बाधकहरू बाधा बन्धन परम्परा भन्दै छन् ।
    परम्परा भन्दै पीडा अझै दिँदै छन् ।।

    आवरणभित्र खराब तत्त्व राखी फसाए ।
    जन्मेदेखि जीवन बाँधी लास बनाए ।।
    अल्झन्मा जिन्दगानी कतिन्जेल अल्झिने ।
    हर पला हर पाइला पीडा बल्झिने ।।

    देखेको जो सत्यलाई बाधा बन्धन अवरोध ।
    सही गलत छुट्याएर गर्ने विरोध ।।
    नेता बने मन्त्री बने त्यै सडेको नीतिमा ।
    रूप फेर्न नसकेर जीवन क्षतिमा ।।

    क्रान्ति भन्दै कति मरे नामनिसाना रहेन ।
    लुक्ने भाग्ने सत्ता खाने प्रथा टुटेन ।।
    मागी खाने प्रथा तोड्न जनरगत बगेको ।
    विषको बोट समाजमा झनै जागेको ।।

    हिजो पनि थियो डर आज पनि झन् डर ।
    डरैडरमा बाँच्नुपर्ने जीवन हुन्छ र ।।
    खै त सुख समाज र जनताले पाएको ।
    त्यै निराशा क्रान्तिबाट किन आएको ।।

    रगतको अपमान अति गर्न पाइन्न ।
    क्रान्ति धार पन्छाउने तत्त्व चाहिन्न ।।
    मुसो हैन देश नखेला हे धूर्तका बिराला ।
    धेरै बाठो बन्न खोज्दा गला समाउला ।।

    छोरीचेली बजारमा मालवस्तु समान ।
    भन्या हैन क्रान्तिबाट आउँछ बिहान ।।
    हिम्मत भए आए हुन्छ जनताको माझमा ।
    गाह्रो भयो बस्न धूर्त छाडा राजमा ।।

    छोरीचेली निराशाका गीत गाउँदै रोएका ।
    खै त क्रान्ति झुपडीले रूप फेरेका ।।
    झुपडीका मरेका हुन् घाम जसन यै भन्छ ।
    धोका तिनले पाएका हुन् सत्य क्रान्ति यै भन्छ ।।

    सत्को क्रान्ति छल–बेइमानी भाषा बोल्न जान्दैन ।
    रगत दिने झुपडीमा केही आ’छैन ।।
    निराशालाई रस मान्ने सामन्तको चलन ।
    गुमाइसके बेइमानीले सत्य इमान ।।

    नेतापत्नी नेतापति नेता छोरीबुहारी ।
    हेर्दाहेर्दै बित्छ जीवन तिनकै जुहारी ।।
    रूप फेर्ने नीति छैन दश चल्यो कलामा ।
    धनाड्यका कला पासो लाग्यो गलामा ।।

    परिवर्तन के मा भयो छाडा कला नग्नमा ।
    नग्नवादको फन्दा लाई अझै ठग्नमा ।।
    मागी खाने अधिकारलाई आन्दोलनले मागेन ।
    मागी खाने चिन्तनलाई हक भनिन्न ।।

    फन्दा नीति अधिकार भन्दै कोही लडेन ।
    मर्ने छोरीचेलीको त लेखो रहेन ।।
    हर पला पीडाका गीत गाउन विवश पारियो ।
    तिनै गीतमा भुलाएर ठग्नु ठगियो ।।

    हतियार बोकेका हुन् परिवर्तन गर्नलाई ।
    रगत दिए क्रान्तिलाई मुक्ति हुनलाई ।।
    जनताको रगत मागि बुहारी र छोरीलाई ।
    नगएको पीडा पनि जीवनभरिलाई ।।

    बन्दुक बोक्न जीवन दिन न त पछि हटेका ।
    हत्याराको पासो भित्र तिनै परेका ।।
    मुक्ति आयो भन्दै हिाँड्छन् सत्ताबाट डाँकाले ।
    सोझा सिधा मारिकन रगत खाकाले ।।

    अधिकार भन्दै खाने काम नगरी बस्नेले ।
    छोरीचेली गुमाएका पेट कस्नेले ।।
    समानताको हक हुन्छ भन्दै लगे लड्नलाई ।
    आखिरीमा भयो सत्ता बुहारी र छोरीलाई ।।

    पापी मनले न्याय दिन्न न समाज बनाउँछ ।
    अन्डा माछा कुहिए भने अति गन्हाउँछ ।।
    देश गनायो रगतले नुहाएका तनमा ।
    बुहारी र छोरी मात्रै पापी मनमा ।।

    लडाइँँमा छाती खोली लड्नेलाई न्याय दे ।
    शासनका बुहारी र छोरी तल झारी दे ।।
    लडाकु हुन् छोरीचेली मैदानमा उत्रेका ।
    बुहारी र छोरी भए तिनलाई बिर्सेका ।।

    भुसुनाको रगत हैन बग्यो छोरीचेलीको ।
    शासनमा पुग्ने मौका बुहारी र छोरीको ।।
    गोली बन्दुक कस्तो हुन्छ जिन्दगीमा देखेनन् ।
    बारुदको गन्ध कस्तो पत्तो पाएनन् ।।

    तिनै हुन्छन् नाइके नेता सङ्घर्षले खारेका ।
    कहाँ गए कता गए लड्दै मरेका ।।
    बुहारी र छोरीका दिन लडाकुले ल्याइदिए ।
    ती कलिला लडाकुका जीवन खाइदिए ।।

    जनताको रगतमाथि त्यै पुराने शासन ।
    फाल्नुपर्ने शासनमाथि जम्यो आसन ।।
    छोरीचेली रगतले भिज्यो माटो लछप्पै ।
    गन्हाएको शासनका धनका मुठा चरप्पै ।।

    न्याय माग्न जाऊँ भने मुद्दा खारेज गर्दिन्छ ।
    अदालतले झन् आँखामा आँसु भर्दिन्छ ।।
    लड्ने बेला ज्यानको माया मारिकन लडियो ।
    आफू जस्तै कलिलालाई रुँदै बिदा गरियो ।।

    ती कलिला मर्नेहरू सम्झनामा आउँछन् ।
    बाँच्नेहरू गीत बनाई पीडा गाउँछन् ।।
    पीडा गाउने समाजको रूप फेर्न लडेको ।
    रूप फेर्ने लडाइँको गति रोकेको ।।

    आउन त आएकै हो बुहारी र छोरीलाई ।
    उन्मुक्ति पो दिन्छ बाबै बलात्कारीलाई ।।
    शासनको शोभा छैन जसले भेट्यो खा’कै छ ।
    निकम्माको हैकमवादी उर्दी चल्या छ ।।

    हर लडाइँमा साथ दिने छोरीचेली हारेका ।
    वीरताका न गीतगाथा तिनले जितेका ।।
    पापीको शासनले तिनको जितलाई दबायो ।
    पीडाका गीत गाउनलाई बाध्य बनायो ।।

    सहरको तडकभडक हुने खाने चम्केका ।
    तिनैबाट मुक्ति पाउन रगत पोखेका ।।
    चोट के हो ? पीडा के हो ? न छट्पटी भोगेका ।
    जनताको हुनुपर्ने तिनले भोगेका ।।

    संसारका मान्छेहरू आमा बाबा समान ।
    छोराछोरी बराबरी सबै समान ।।
    यति राम्रो विचारलाई फुलाउन र फलाउन ।
    गलत प्रथा उखेलेर राम्रो सजाउन ।।

    निराशाका गीत किन गाउनुपर्यो राम्रोमा ।
    हुन्न भन्थे आँसु ढिका संसार हाम्रोमा ।।
    चितुवाले खोरको बाख्रो खोसी लगे जस्तै ।
    घरबाट खोसे मान्छे त्यै चितुवा जस्तै ।।

    निराशाको प्रथा फाल्न छोरीचेली भिडेका ।
    बुहारी र छोरीहरू माथि माथि चढे ।।
    गर्ने बेला लुक्ने भाग्ने खान अघि सर्ने ।
    पस्किएको भाग माथि झिँगा साङला पर्ने ।।

    अवसरवादमा छोरीचेली झिँगा साङला भए ।
    अवसरवादी नेताहरू तिनलाई भुली गए ।।
    खान लाउन नदिने त्यो कानुन कानुन बने के भयो ।
    हुनुपर्ने पतिपत्नी नातालाई भयो ।।

    चित्त बुझ्ने ठाउँ छैन जता हेर्यो अन्धकार ।
    झन्् बढेर आयो देशमा अति व्यभिचार ।।
    अति भयो अवसरवाद नाङ्गो नाच गरेको ।
    यस्तै देख्न यस्तै भोग्न हो त लडेको ।।

    लडाउन मिठा कुरा अवसर छोरीबुहारी ।
    त्यै पुरानो सत्ता खान खेल्छन् जुहारी ।।
    लडेका छन् भिडेका छन् बुहारी र छोरीलाई ।
    जनतालाई पीडाका गीत जुनीभरिलाई ।।

    विरहको न्याउली रोयो धर्ती रातो देखेर ।
    गुरास फुली हैन रातो रगत बगेर ।।
    रगतमाथि धावा बोले बुहारी र छोरीले ।
    सके देश भगौडाका पतिपत्नीले ।।

    त्यै पुरानो मान्ने भए रगत किन पोखेको ।
    तातो गोली छोरीचेली ताकी ठोकेको ।।
    पढी लेखी ती कलिला जान्ने बुझ्ने हुन्थे ।
    बुहारी र छोरीलाई खबरदारी गर्थे ।।

    बुहारी र छोरीलाई त हिजो पनि थियो ।
    लडेको त बदल्नलाई थिचोमिचो भयो ।।
    कलिलाको रगत बग्यो लुक्ने भाग्ने कमाउने ।
    को छ त खै यो देशलाई राम्रो बनाउने ।।

    अवसरका ढोका खुला बुहारी र छोरीलाई ।
    कैले हो त न्याय दिने शोषित–पीडितलाई ।।
    जैले पनि रगत मागे लुक्ने भाग्ने मस्तीमा ।
    गर्ने मर्ने पीडित हुने सँधै सास्तीमा ।।

    कस्तो न्याय बोल्छ लेख्छ यो देशको कानुनले ।
    पीडितलाई दिन्न न्याय लुक्ने भाग्नेले ।।
    चेतनालाई उल्टोतिर लग्ने कसको तागत छ ।
    लुक्ने भाग्ने ठेगान लाउने क्रान्ति खाँचो छ ।।

    यो अभाव पूरा गर्न नयाँ पिँढी जाग्ने हो ।
    माग्ने हैन कसैसँग न्याय खोस्ने हो ।।
    धिक्कार छ रगत बगाई भ्रष्ट पछि लाग्नेलाई ।
    आफ्ना छोेरी बुहारीलाई माथि लग्नेलाई ।।

    हिजो जस्तो आज उस्तै अति भ्रष्ट भएका ।
    विगतका शासनको काखमा सुतेका ।।
    देश फेर्न सबैतिर मैदानमा उत्रिए ।
    दुस्मनका गोली बन्दुक अति बर्सिए ।।

    सबैतिर उत्रेका हुन् काँधमा काँध मिलाउँदै ।
    नयाँ समाज बनाउन आँधी उठाउँदै ।।
    बलभद्रको युद्धदेखि कैले कहाँ हटेर ।
    समाज फेर्न अघि आए लडे डटेर ।।

    गर्ने खट्ने अवसरबाट पाखा किन फालियो ।
    भाग्ने छोरीबुहारीलाई अवसर दिलाइयो ।।
    समाजका बाधाहरू यहीँबाट सुरु छन् ।
    खट्ने गर्ने छोरीचेली पछि पर्या छन् ।।

    लुक्ने भाग्ने नेता हुँदा देशले गति लिएन ।
    खट्ने गर्नेहरूलाई अवसर दिएन ।।
    सामन्तको सिको गरे बाहिर चर्का कुरा छन् ।
    दृष्टिकोण नयाँ छैन बासी दिलका छन् ।।

    आए नयाँ जोगीहरू घसे बढ्ता खरानी ।
    देख्यो बुझ्यो समाजले तिनको कहानी ।।
    त्यै पुरानो बासी जुठो चाट्न यति रगत ।
    रगत बग्यो तर उस्तै हाम्रो जगत ।।

    विद्रोहले नयाँ कुरा समाजलाई के दियो ।
    शोषणका रीतिथिति केमा बदलियो ।।
    छोरीचेली रगतको उपयोग गरियो ।
    बुहारी र छोरीलाई सत्ता दिलाइयो ।।

    जनताको बाटो छेक्ने तिनै छोरीबुहारी ।
    पतिपत्नी शासनको सत्ता पुजारी ।।
    कती धूर्त भएका हुन् ठुला फुर्ती गरेका ।
    जनताको शक्तिलाई कमजोर ठानेका ।।

    जता पनि तमासा छ पुग्छन् छोरीबुहारी ।
    भएका छन् आज ठुला दुस्मन पुजारी ।।
    रगत बग्यो नयाँ मूल्य मौलिकता दिएन ।
    यति धूर्त होलान् भन्ने मनमा थिएन ।।

    भित्र भित्र अनेक थरी चालबाजी चालेका ।
    जनतालाई उत्तेजना बाँड्दै हिँडेका ।।
    नयाँ बन्ने नारा दिए पुरानैमा फेरिए ।
    दुस्मनलाई मित्र नाता जोडी फेरिए ।।

    परिवर्तन चाहेको हो रगतले बतायो ।
    बढ्दै थियो जनक्रान्ति धोका दियो सतायो ।।
    समाजका पीडक प्रथा के हटेर के आयो ।
    बेथिती र विकृतिले देश चलाइयो ।।

    व्यापारीले खायो रगत आन्दोलन बेचेर ।
    होनहार सन्ततिको रगत पोखेर ।।
    सहनुको सीमा हुन्छ अब अति भइसक्यो ।
    रगत दिने सहिदको मूल्य खाइसक्यो ।।

    विवाहमा प्रेम हैन सुन हिराका गहना ।
    बढ्दै गयो हट्नुपर्ने थियो चाहना ।।
    मानवका मूल्यहरू हराएर गइसके ।
    गहना र सम्पत्तिले ज्यान समाज खाइसके ।।

    यो रूपले हाम्रो समाज राम्रो बन्न सक्दैन ।
    हटाउनलाई रगत बग्यो तर हटेन ।।
    न त हट्यो दाइजो प्रथा न त हट्यो गहना ।
    प्रेममय समाज हो सबको चाहना ।।

    भनेको छ रगतले सुन्दर समाज बनाऊँ ।
    मानवको मूल्य हुने बाटो समाऊँ ।।
    जलनशील पदार्थले छोरीचेली मारिने ।
    पागल प्रथा रहेर त समाज गनाउने ।।

    अति भयो व्यभिचार झन् झन् बढ्यो अत्याचार ।
    जिउँदै मान्छे आगो लगाई दाइजोले नमार ।।
    केको नेता बनेका हुन् दाइजोले ज्यान मारेर ।
    दिमाग कस्तो नफेरेको बस्छन् हेरेर ।।

    लुगा लाउँछन् नाङ्गै हिँड्छन् यी के गर्छन् थाहा छैन ।
    नेता बन्छन् गनाउने चिन्तन गा’छैन ।।
    प्रेम हैन दाइजोसँग बिहे गर्ने यिनै हुन् ।
    बहुमूल्य प्रेम हिरा मोलभाउ गर्ने यिनै हुन् ।।

    समाजलाई पीडा दिने यस्तै पापीहरूले ।
    बदल्नलाई हिँड्ने भिड्ने अब हामीले ।।
    परिवारको नजरबाट सङ्घर्षलाई हेरियो ।
    न हटेका खराबी छन् खै के गरियो ।।

    परिवारको सुख भोगले समाज कहाँ फेरिन्छ ।
    आफ्ना लागि सङ्घर्षको आगो फुकिन्छ ।।
    जनताको रगत तागत परिवारमा सीमित ।
    यस्तै खेल खेल्नाले त भए घृणित ।।

    परिवारको परिधीमा देश घुमाई बिगारे ।
    संसारमा अति भ्रष्ट देशमा पुराए ।।
    मानिसको मूल्यलाई वस्तु सुनमा तौलिने ।
    यस्तै बाधक भएर त समाज पिल्सिने ।।

    पिल्सिएको समाजलाई मुक्त गर्न लडेको ।
    तागतले दुस्मनका बन्दुक भाँचेको ।।
    बन्दुक भाँच्ने विचारका हात अझै दह्रा छन् ।
    दह्रा हात देखेर त कायर डराउँछन् ।।

    लडाइँको मूल्य खाने दुस्मनलाई चिन्या छौँ ।
    क्रान्तिघाती देशघाती खुनी चिन्या छौँ ।।
    छोरीचेली आऊ सबै क्रान्ति नेता बन्ने हो ।
    सबै खाले अवसरवादको अन्त्य गर्ने हो ।।

    उठ जाग छोरीचेली थाक्ने हैन हाँक्ने हो ।
    हाँकिकन जीवनका बन्धन फ्याँक्ने हो ।।
    शोषण दमन अति भयो ज्यान मार्ने फाल्दिने ।
    छानी छानी गलत प्रथा सबै पोल्दिने ।।

    हाम्रो जाँगर पौरखमा कसिङ्गर झार पलाए ।
    प्रतिभा र सृजनालाई तिनले दबाए ।।
    जता पनि दबदबा छ तिनै आततायीको ।
    पुराना र कथित नयाँ दाजुभाइको ।।

    दाउराघाँस काट्ने हातले प्रथा काट्फाँड गरिन्छ ।
    हेर्दै जाँदा गर्दै जाँदा के के फाँडिन्छ ।
    जनताका छोरीचेली मैदान खाली गरेनन् ।
    नेता हारे तर जनता कैले हारेनन् ।।

    छोरीचेली लडाइँको मैदान छोडी भागेनन् ।
    नेता भागे तर छोरीचेली भागेनन् ।।
    सहरका भब्य बिल्डिङ क्रान्तिकारीहरूका ।
    तल हेर लाखौँ नारी सिन्दुर पुछेका ।।

    छोड्ने छैन समयले पलाएका झारलाई ।
    अस्वीकार गरिसक्यो क्रान्ति ठग्नेलाई ।।
    छोरीचेली जनताले सचेत बन्नुपर्ने छ ।
    बगाएको रगतको मूल्य माग्नु छ ।।

    दरबारका सयलमा सुख्ख काटी बसेका ।
    समाजलाई पश्चगामनतर्फ लगेका ।।
    दरिलो र गविर्लो छ इतिहास नारीको ।
    हक पाउँदा किन पछि परि रहेको ।।

    क्रान्तिकारी भन्नेले त ठग्नुसम्म ठग्या छन् ।
    जहाँ पनि बुहारी र छोरी अघि छन् ।।
    त्यहीँबाट विद्रोहको ज्वालामुखी फुट्ने छ ।
    लडाइँँ र रगतको हिसाब मिल्ने छ ।।

    जान्ने सुन्ने बाठो टाठो बुझ्ने मै हुँ नठान ।
    बुझिसके जनताले लाउँछन् ठेगान ।।
    सुरक्षाको घेराभित्र जनताबाट भागेर ।
    रगत ताते आउँछन् जनता घेरा तोडेर ।।

    जनताका छोरीचेली कठबारभित्र छन् ।
    त्यहीँबाट प्रण गरी घेरा तोड्ने छन् ।।
    भनिसक्यो देशले अब क्रान्ति भोक लाग्या छ ।
    अति भयो व्यभिचार देश रोएको छ ।।

    निराशाका प्रथाहरू गीत बनाई नगाउने ।
    सही बाटो क्रान्तिको हो देशलाई सजाउने ।।
    निराशाको बादलले पानी हुन्न बिलाउँछ ।
    कथितको क्रान्ति हैन फेरि उदाउँछ ।।

    उदाउँदा चम्चमाउँदो तिखो धार टल्काउँछ ।
    त्यही धारले समाजको रूप बदल्छ ।।
    रूप फेर्दा लुटी खाका छन् पाखण्डी हराउलान् ।
    सबै अवसर मुठ्ठी पर्ने धूर्त डराउलान् ।।

    सबै अवसर मुठ्ठी पर्ने धूर्त छोरीबुहारी ।
    सबै अवसर तिनलाई दिने दुस्मन पुजारी ।।
    समयको नजरमा पट्टी लाउन खोज्दै छन् ।
    जनक्रान्तिलाई धोका दिने विरोध गर्दै छन् ।।

    मैदानमा उत्री लड्ने वीरङ्गना सलाम छ ।
    नडराऊ त्यो रगतले क्रान्ति उदाउँछ ।।
    नेतापति पत्नी छोरीबुहारीलाई अधिकार ।
    प्रथा भन्दै आयो कालो सत्ता खबरदार ।।

    यस्ता काला प्रथाहरू जीवित राख्न सकिन्न ।
    काम गर्नेको अपमान गर्न पाइन्न ।।
    समाजका पीडाहरू यिनै काला प्रथा हुन् ।
    चाहिँदैन जीवन समाज दास बनाउने सुन ।।

    सामन्तले संस्कारमा सुनलाई भाउ दिए ।
    भाउबाट हत्या दमन हुन घाउ दिए ।।
    जीवन खाने डरको सुन नलाएमा राम्रोे छ ।
    त्यै सुनले छोरीचेली जीवन खा’को छ ।।

    संसारलाई लुट चोरको पाठ पढायो सुनले ।
    देशको धन विदेशमा लुटी लग्नेले ।।
    यस्तोे चलन हट्ला भन्दा झन् बढेर आ’को छ ।
    नातावादी नेता भन्छन् राम्रो भाको छ ।।

    राम्रोे भयो कमाउने तिनकै छोरीबुहारी ।
    कमाएको भए हुन्थ्यो मान्छे नमारी ।।
    लक्ष्य एउटा काम आर्को आजसम्म भएको ।
    इतिहास यस्तै छ है भोगे पढेको ।।

    समाजलाई निराशाको नर्कतिर धकेल्ने ।
    बुहारी र छोरी भए अवसर बटुल्ने ।।
    कस्ता क्रान्ति भयो यहाँ थोरैलाई कमाउने ।
    जीवन अर्पण गर्नेलाई झनै दबाउने ।।

    दिनहुँका आत्महत्या कति ठुलो पीडा छ ।
    आफन्त र नातातिर क्रान्ति लग्या छ ।।
    किनबेचको वस्तु भयो क्रान्तिखेल धूर्तको ।
    समाजले मागेको छ वर्गयुद्धको ।।

    मानवको अधिकार भगौडाको गहना ।
    क्रान्ति नभई हुँदै हुन्न नयाँ सृजना ।।
    झारपात अति बढे क्रान्ति राम्रो बारीमा ।
    अधिकारका नाइके सत्ता बुहारी र छोरीमा ।।

    संस्कारलाई नबदल्ने सामन्तको चरित्र ।
    त्यस्तो नेता जनक्रान्तिमा हुन्न पवित्र ।।
    नीतिबाट बदल्ने हो समाजको चेतना ।
    प्रगतिको चेतना हो नयाँ चाहना ।।

    क्रान्ति भन्दै झुक्याएर बुहारी र छोरीलाई ।
    जनतालाई आँसु दह जीवनभरिलाई ।।
    जनरगत कति बग्यो घाम हिमाल साक्षी छ ।
    हिमालले भन्छ अझै रगत आलै छ ।।

    घाम निभे संसारमा कति होला विनाश ।
    घाम जस्तै क्रान्ति नभई हुन्न विकास ।।
    जनताका छोरीचेली क्रान्ति धारमा आउने हो ।
    निराशाका गीत हैन क्रान्ति गाउने हो ।।

    हुन्न भन्दै बस्ने हैन निराशालाई पालेर ।
    जान्छ जीवन उन्नतिमा आशा सिर्जेर ।।
    निराशाका जराहरू जेलिने र फैलिने ।
    जति काटे पनि कहाँबाट पलाउने ।।

    संसारलाई ढाकेको छ निराशाको जङ्गल ।
    जीवनमा लागेको छ कालो बादल ।।
    संसार हेर्दा घाम छैन जस्तो छ ।
    तर पनि संसारमा घाम उदाउँछ ।।

    निराशाका भ्रम सबै चिर्दै जानुपर्ने छ ।
    हुन्छ कठिन तर पनि चिर्नैपर्ने छ ।।
    कैयौँ पुस्ता हार्न सक्छ तर थाक्नु हुँदैन ।
    सजिलरी निराशाका जरा फाल्न सकिन्न ।।

    प्रयत्नको प्ररिणाम विषका जरा राखिन्न ।
    विज्ञानको गति पनि सानो बलले बढेन ।।
    लड्दै गयोे बढ्दै गयो हार खाएन ।
    संसारमा जनक्रान्ति त्यसै आएन ।।

    जनताका छोरीचेली त्यै रूपमा बढ्ने हो ।
    निराशाका झार जरा सबै गोड्ने हो ।।
    कालो शासन जमाएर खाई बसेका हटाउने ।
    मानवको संंसारमा सबै अटाउने ।।

    काम गर्नेको संसार होे तर तल पारेका ।
    छोरीचेलीहरूको मन निराशाले जेलेका ।।
    निराशाका कुरा खेल्छन् हर समय मनमा ।
    अति बढ्यो भ्रम जाल अति दमनमा ।।

    काला कानुन काला नीति प्रथा भन्दै आएका ।
    तिनैले हुन् छोरीचेली जीवन चुसेका ।।
    अपराध पाल्ने सत्ता समाज धुलोपिठो पर्ने हो ।
    मनैदेखि डरलाई झिकी फाल्ने हो ।।

    हाम्रो समाज सुन्दर हुन्छ सफा हुन्छ संसार ।
    क्रान्तिधार तिखो पार सफा विचार ।।
    कैयौँ घुम्ती घुम्नुपर्छ डर निखार्दै जाने हो ।
    गुन्डागर्दीबाट चल्ने सत्ता फाल्ने हो ।।

    जनताको तागत तोेड्ने आँट कसको हुन्छ र ।
    के जङ्गली बर्बरताको शासन चल्छ र ।।
    छोरीचेली मारिएका शासनको आडमा ।
    कुचो भाँच जागिकन तिनका ढाडमा ।।

    रूढीवाद जन्माउने ठगी खाने शासन ।
    हाउगुजीका कानुन रच्छ मान्छे तर्साउन ।।
    शासन हैन जनताको शासन हो स्वार्थीको ।
    गलेको छ ढली जान्छ जनता आँधीको ।।

    वीरताले शिर उठाउँछ वीरङ्गना चम्किन्छन् ।
    निराशालाई फाल्न सके संसार बदलिन्छन् ।।
    हतियार बनाउनेले चलाउनलाई जान्दछ ।
    नचलाउने कायरसँग हतियार छ ।।

    शोषण दमन काला कानुन बनाउने कायर हुन् ।
    भित्र मुटु हल्लेको छ गल्दै जाने हुन् ।।
    बन्दुक बोके दुष्ट ठोके जागे छोरीचेलीले ।
    दबाएर राख्ने प्रथा फाल्छन् तिनैले ।।

    बसन्तले पलाउन बिर्सिएका नायकहरू ।
    तिनै भए देश चलाउने क्रान्तिकारी गायकहरू ।।
    तर भन्न गाह्रो पर्ने देश चलाउने लायकहरू ।
    समयले नमानेका क्रान्तिकारी गायकहरू ।।

    खेत हेर्यो खेत रित्तो हेर्यो खेती रित्तो ।
    बारी हेर्यो बारी रित्तो बाली हेर्यो रित्तो ।।
    वारिपारि जता हेर्यो सबैतिर रित्तो ।
    डाँडावारि डाँडापारि जहिँ हेर्यो रित्तो ।।

    वनपाखा पर्वत हेरोँ त्यही पनि रित्तो ।
    गोठ हेर्यो गोठ रित्तो घर हेर्यो रित्तो ।।
    गाईभैँसी छैन गोठमा दाम्ला किलो रित्तो ।
    भेडी गोठमा भेडा छैन भेडीगोठ रित्तो ।।

    लेक भुल्यो बसन्तले गुराँस छैन रित्तो ।
    खोला नाला पँधेरोेमा छैन पानी रित्तो ।।
    हिमाल हेर्यो हिमाल रित्तो हिँउ छैन रित्तो ।
    फाँट हेर्यो उजाड छन् छैन जाँगर रित्तो ।।

    प्रकृतिका खानीपानी जीवन हेर्यो रित्तो ।
    देश हेर्यो टाट पल्टेर शासनसत्ता रित्तो ।।
    मनदिमागमा देश छैन खुइले सत्ता रित्तो ।
    भुत्ते धारको क्रान्तिकारी मन चिन्तन रित्तो ।।

    भरिएका कहिँ छैन सबै रित्तै रित्तो ।
    सही ठाउँमा हात खुट्टा चल्दैन देश रित्तो ।।
    कुहिरोमा हात खुट्टा हिँड्दैन देश रित्तो ।
    आखाँ हेर्यो आखाँ छैन नाककान रित्तो ।।

    छोरीचेली यो देशलाई भर्ने गीत गाऊ ।
    गीत मात्र गाउने हैन रित्तो भर्न आऊ ।।
    क्रान्ति खाए नेताजीका बुहारी र छोरी ।
    मर्दा पानी नपाई मरे जन चेली छोरी ।।

    रित्तो देश देखेर त लडेका हुन् तिनले ।
    सम्मान छ आदरभाव राख्नुपर्छ सबले ।।
    रित्तो भर्लान् भनेको त रित्तो पर्दै गए ।
    यति मात्र कहाँ हो र रित्याउने भए ।।

    नसोचेको हुँदो रहेछ यो कर्कलो गल्ला ।
    वीर अमर सहिदको अपमान गर्ला ।।
    यो बचेको हरियाली खाइदिने पो हुन् कि ।
    विचारका पिपिरालाई भाँच्दिने पो हुन् कि ।।

    जनताका छोरीचेली देश बोक्न आऊ ।
    कति गाउँछौ निराशाका जीवन दुख्ने घाउ ।।
    हिजो भन्थे पढ्न हुन्न आज पढ्न हिँडे ।
    हिजो भन्थे घरै बस्नु आज लड्न हिँडे ।।

    हिजो भन्थे डोको बोक आज बन्दुक बोके ।
    हिजो भन्थे बाख्रा हेर आज देश हेरे ।।
    दुस्मनको हमला छ देशको हिमालमा ।
    देश रहेको मुटु चल्छ हेर गोठालामा ।।

    सुसेलीमा यो देशको वनपाखा बोल्छ ।
    हेर त्यहाँ स्वस्थ स्वछ देशको मुटु चल्छ ।।
    यस्तै चले कस्तो हुन्थ्यो शासनको मुटु ।
    रहरले चिमोटेको छ है चुटुचुटु ।।

    देश बनाउँछौँ भन्नेहरू मात्र आफू बने ।
    बाँझो छ देश खन्छौँ भन्थे खै त कहाँ खने ।।
    आकाशको रात राम्रो भरिएको जुनले ।
    आकाशको दिन राम्रो भरिएका घामले ।।

    सबैतिर निले सके भयो देश रित्तो ।
    दरिद्रको मन चिन्तन सबैतिर रित्तो ।।
    अव्यवस्था अन्यायले जतै भरिएको ।
    नदीनाला हरियाली सबै हरिएको ।।

    भरिएको कहिँ छैन के भएको होला ।
    बग्नुपर्ने किन सुके नदीनाला खोला ।।
    अन्न छैन पानी छैन क्यारी बाँच्ने होला ।
    दुख पाउँदा त्यै निराशा दुई दिनको चोला ।।

    यै रीतले कति पुस्ता दुख पाउँदै गए ।
    अत्याचारको जाँतामुनि पिल्सिएर गए ।।
    अव्यवस्था शासनले फेर्न नचाहेको ।
    जनताको पीडालाई हेर्न नचाहेको ।।

    कानुनका धारा फेर यो पाराले हुन्न ।
    जनताको हैन शासन र त सुख्ख दिन्न ।।
    जनताका छोरीचेली न्याय कसले पाए ।
    शासनले पालेकाले कति जीवन खाए ।।

    पर्वहरू पैसाबाट मुक्त हुनुपर्यो ।
    पैसाले त समाजमा वर्गभेद गर्यो ।।
    पर्वहरू पराधीन किन बनाउने ।
    पर्वहरू जीवन हाम्रा किन नमनाउने ।।

    हाँसीखुसी सुखका दिन ल्याउने गीत गाउने ।
    गहनाको आडम्बरबाट मुक्त गर्ने ।।
    समाजमा बस्ने सबै बराबरी हुने ।
    समाजका चोरडाँका सबै धपाउने ।।

    ऋण बोकाउने सामन्तको जरा किल्लो फाल्ने ।
    हाँसीखुसी पर्व मान्न नयाँ जग हाल्ने ।।
    पर्वबाट परिवर्तनतिर जानुपर्यो ।
    मानवको उन्नतिका गीत गाउनुपर्यो ।।

    गयो जीवनचेलीहरू दुख गाउँदा–गाउँदै ।
    दाइजो अनि गहनाको मूल्य वस्तु बन्दै ।।
    एकातिर सुन गहना अर्कोतिर चेली ।
    यस्तो पनि प्रथा हुन्छ फाल उठ चेली ।।

    प्रथा नदिई धमिल्याउने हुने खाने सुनले ।
    प्रथाहरू शुद्ध थिए बिगारेको सुनले ।।
    प्रथाहरू सामन्तले हस्तक्षेप गरे ।
    सोझा सिधा मान्छेहरू तिनको डरमा परे ।।

    यति राम्रा प्रथाहरू शोषणमा परे ।
    तिनै प्रथा जनतालाई अति दमन गरे ।।
    टाढाबाट धरणीमा घाम जसरी ओर्लिन्छ ।
    गीतबाट चेतनाको गति दौडिन्छ ।।

    आउनेहरू कति आए समाज फेर्न सकेनन् ।
    हार खाएर भागे तर जनता भागेनन् ।।
    बहुदलमा दल खुले बन्द दैलो खुलेन ।
    चितुवा र चिलको प्रथा जाँदै गएन ।।

    ठट्टा हैन ठटाउने हो देश विरोधी सत्तालाई ।
    नीति छैन नेता बन्न दल बनाउने जालीलाई ।।
    आरनमा नपोलेको भुत्ते फालीलाई ।
    कालले डोरी लाउन लाग्यो सत्ता चाहियो जालीलाई ।।

    चम्चाहरू बिटुलिन्छन् जे जे पायो खाएर ।
    कसको मेख मार्छौ जोगी दल खोलेर ।।
    सन्यासी भई काँशीतिर गए हुन्छ जाऊ जोगी ।
    बुझिसके जनताले मनका छौँ रोगी ।।

    मनका रोगी मिलिकन दल खोले जस्तो छ ।
    दल खोलेर के भो जोगी भत्केको घर जस्तो छ ।।
    बसौँ भने छैन छानो पर्छ पानी रुझाउँछ ।
    भत्केको दल जनताले क्यारी पत्याउँछ ।।

    विकृति र विसङ्गति प्रथा बन्दै आएका ।
    पञ्चायतका झड्केलाले दल खोलेका ।।
    देश जनताका नेता भए राम्रो रीति बनाउथे ।
    देश राम्रो बनाका भए किन गन्हाउथे ।।

    बाहिर देख्दा भलाद्मी छन् भित्र पापका किरा छन् ।
    हिरा जस्ता युवाहरू पछि ला’का छन् ।।
    भुल नगर देश बनाउने युवा अनि नारीले ।
    थुक्क भन्दै थुक्छन् हेर माथि ताराले ।।

    बन्दुक बोक्या हुति पनि यो देशले देख्या छ ।
    हिजो आज सम्झौताले नाङ्गै नाच्या छ ।।
    बहुदलमा दलको शासन सुनको शासन फालेन ।
    मान्छे मारा दाइजो प्रथा अन्त्य गरेन ।।

    क्रान्तिकारी ऊर्जा लग्यो उन्मादमा उर्लेर ।
    दुस्मनका दललाई ऊर्जा शक्ति सुम्पेर ।।
    क्रान्तिरगत परिवारको शासन घेरो हुर्कायो ।
    जनताको ऊर्जा बेची पैसा कमायो ।।

    क्रान्तिलाई टाढा लग्यो निराशाको मुखमा ।
    आफन्त र परिवारको सत्तामोहमा ।।
    ऊर्जाशील जवानीलाई उग्रवादी धारमा ।
    दूरदर्शी नहुनाले क्रान्तिहारमा ।।

    जनताका छोरीचेली घरभित्र मारिन्छन् ।
    घरभित्र आगो लगाई जिउँदै पोलिन्छन् ।।
    कति मर्छन् कतिलाई घाइते बनाई अशक्त ।
    यस्तो चलन फाल्नलाई बन्ने सशक्त ।।

    जनक्रान्ति भए यस्तो व्यभिचार किन छ ।
    जनहत्या गर्नेहरू जवाफ दिनु छ ।।
    मानिसको समाज भए असुरक्षा किन छ ।
    पानीमरुवा शासनमा किन बस्या’छ ।।

    जनताले फोर्छन् थाप्ला न्याय किन दिन्नौँ ।
    अराजक गुण्डाराज्य किन चलाउँछौ ।।
    टोलेगुण्डा झोलेगुण्डा पालेका छौ किन ।
    क्रान्तिबाट भाग्नेहरू सल्बलाउँछौ किन ।।

    उत्तेजना भड्काव दिने देशको व्यापार गर्ने ।
    अराजक बेइमानीले क्रान्ति बेची खाने ।।
    दुस्मनलाई जनताको रगत सुम्पिएका ।
    छन् हजारौँहजार छोरी तिनले मारेका ।।

    विचारको आन्दोलन नचलेर क्षति ।
    क्रान्ति भन्दै अवसरवादी गरे खाने खेती ।।
    झुपडीका पीडा बेच्ने दरबारमा बस्ने ।
    जनताको चेतनाले त्यस्तालाई झोस्ने ।।

    जनताका छोरीचेली विदेशमा बेच्ने ।
    कहाँ गए क्रान्तिकारी टुलुटुलु हेर्ने ।।
    सत्ता शासन पाएका हुन् कति नीति फाले ।
    त्यै गनाउने संस्कारलाई आफूभित्र हाले ।।

    त्यै पुरानो नीतिमाथि त्यै पुरानो टालो ।
    फालिएन केही पनि मान्छे बेच्ने जालो ।।
    घुम्दै आयो दास युग जङ्गलीका रूप ।
    क्रान्तिबाट फल्छौँ भन्थे सिके त्यस्कै सिप ।।

    जनताका छोरीचेली रित्तो देश देख ।
    रित्तो देश देखिकन आशाका गीत लेख ।।
    त्यै आशाको उज्यालोमा समाजलाई फेर ।
    अमूल्य छ जीवन यो फाल्नु हुन्न खेर ।।

    काम गरी खानुपर्छ जानुपर्छ खेत ।
    खेती हुनुपर्छ राम्रो काम गर्नेको हित ।।
    जबसम्म काम गर्नेको हितमा खेती हुन्न ।
    तबसम्म संसारमा लडाइँ रोकिदैन ।।

    अलापेर शान्ति खोज्छन् शासनमा बस्ने ।
    काम नगरी अमन चैन देश लुटेर खाने ।।
    लुटेराको अन्धकारले क्रान्ति जन्मिएको ।
    लुटेराका व्यभिचारले क्रान्ति हुर्किएको ।।

    जनताका छोरीचेली पर्छन् किन दमनमा ।
    नबिराई किन पर्छन् गुण्डा अधिनमा ।।
    हुन्छ भने कानुनको नीतिनियम समान ।
    होइन भने छोरीचेली कानुन नमान ।।

    अदालत अल्झन हो अल्झाएर सताउँछ ।
    सताउनेलाई मान्नैपर्ने कसलाई के कर छ ।।
    मान्न पनि कर छैन डर पनि लाग्दैन ।
    डर देखाई तर्साएमा झनै मानिन्न ।।

    जनताको हात माथि पर्ने देश खोज्ने हो ।
    यस्तोबाट हुँदै हुन्न नयाँ रोज्ने हो ।।
    फेरे जस्तो गरेका हुन् फेरिएका छैनन् ।
    जनताको मर्म बुझ्ने नेता कानुन हैनन् ।।

    जनताले जनक्रान्ति नगरेर हुन्न ।
    आस नगर यो शासनले केही गर्ने छैन ।।
    जनताको आस्था रगत सामन्तलाई दिए ।
    वर्गधार विवादमा अल्मलाइदिए ।।

    अजैचारिक झुट र फुटले फरक पर्ने छैन ।
    सशक्त छ क्रान्तिधार सिथिल भा’को छैन ।।
    दरबारको शासनले चलाएका हल्ला ।
    क्रान्तिकारी जुर्मुराउँछन् दलाल शासन ढल्ला ।।

    सङ्घर्ष धार चम्किलो पार छोरीचेलीले ।
    नघुमा कानुन अन्न्याय सहन्न अब कसैले ।।
    चेलीको यात्रा चल्दै छ अब निर्भिक भएर ।
    यो चल्नुपर्छ यो फल्नुपर्छ यी रात चिरेर ।।

    यी रात चिरे आउँछ फेरि स्वतन्त्र स्वाभिमान ।
    नभई हुन्न संसारमा सबको जीवन पहिचान ।।
    हल्लाका रूप अनेक हुन्छन् सुनिन्न टेरिन्न ।
    पुरानोसँग सम्झौता गरे संसार फेरिन्न ।।

    यो फेर्नुपर्छ समस्त मान्छे सुख्खमा अटाउने ।
    निभाई सारा बाधा र बन्धन मानव रमाउने ।।
    जनताका कलाहरू जनगला खोज्छन् ।
    जागरणको नयाँ लहर छोरीचेली ल्याउँछन् ।।

    निराशाका गीतहरू अब गाउँदैनन् ।
    निराशाका गीत गाउने पर्व आउँदैनन् ।।
    धर्तीआकाश सचेत छ नयाँ जागरणमा ।
    शरद र बसन्तराज हुन्छ संसारमा ।।

    चेतिसके जानिसके कपटीका खेल ।
    असतीको वर्गसँग हुँदै हुन्न मेल ।।
    जनताको शासन भन्ने भ्रष्टहरू लुट्ने ।
    जनताको शासन भन्ने छोरीचेली बेच्ने ।।

    मानवको अधिकारले रमिते भई हेर्ने ।
    छोरीचेली बेच्नेलाई अदालतले छोड्ने ।।
    त्यसैले त जनताले दुर्जन नीति तोड्ने ।
    अचेत छन् भन्ठानौँला छोरीचेली जागे ।।

    सत्य हुन्छ देशबाट धूर्तहरू भागे ।
    अब हैन पुरानोको विचारमा बाँच्ने ।।
    जनबाटो सङ्घर्ष हो अब के छ साँच्ने ।
    छिट्टै फाले छिटै बन्छ नयाँ समाज हाम्रो ।।

    खट्नुपरे खट्ने डट्ने काम गर्नु राम्रो ।
    भड्कावहरू आउँछन् तर भत्काई दिनुपर्छ ।।
    छोरीचेली दमनका कानुन पोल्नुपर्छ ।
    नर्कसमान निराशामा अब जाने हैन ।।

    जित हुन्छ छोरीचेली हार खाने हैन ।
    रोई रोई अन्न्यायमा अब बाँच्ने हैन ।।
    धूर्तको भर परिकन पर्र्खिएर हुुन्न ।
    उग्रवादी छाडावादको आशा गर्नुहुन्न ।।

    बिहिबार, कार्तिक १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.