डा. गोविन्दप्रसाद आचार्य ##
निराशाका कविता र पीडा गाउने गीतमा ।
दुख्छ मन मुक्ति छैन न छन् जितमा ।।
युगौँ गाए खै त रूप निराशाले फेरेका ।
त्यै निराशा जिन्दगीमा घुमिरहेका ।।
मनका पीडा गाउँदै आए समाजलाई सुनाए ।
पीडाका गीत समाजले कला बनाए ।।
न फेरियो जिन्दगानी निराशाका गीतले ।
खै त किन नजितेको जन हितले ।।
खानुदेखि लाउनुसम्म बन्धन र बाधा छन् ।
तिनै बाधा जीवन बाँध्ने बन्धन बन्या छन् ।।
बाधकहरू बाधा बन्धन परम्परा भन्दै छन् ।
परम्परा भन्दै पीडा अझै दिँदै छन् ।।
आवरणभित्र खराब तत्त्व राखी फसाए ।
जन्मेदेखि जीवन बाँधी लास बनाए ।।
अल्झन्मा जिन्दगानी कतिन्जेल अल्झिने ।
हर पला हर पाइला पीडा बल्झिने ।।
देखेको जो सत्यलाई बाधा बन्धन अवरोध ।
सही गलत छुट्याएर गर्ने विरोध ।।
नेता बने मन्त्री बने त्यै सडेको नीतिमा ।
रूप फेर्न नसकेर जीवन क्षतिमा ।।
क्रान्ति भन्दै कति मरे नामनिसाना रहेन ।
लुक्ने भाग्ने सत्ता खाने प्रथा टुटेन ।।
मागी खाने प्रथा तोड्न जनरगत बगेको ।
विषको बोट समाजमा झनै जागेको ।।
हिजो पनि थियो डर आज पनि झन् डर ।
डरैडरमा बाँच्नुपर्ने जीवन हुन्छ र ।।
खै त सुख समाज र जनताले पाएको ।
त्यै निराशा क्रान्तिबाट किन आएको ।।
रगतको अपमान अति गर्न पाइन्न ।
क्रान्ति धार पन्छाउने तत्त्व चाहिन्न ।।
मुसो हैन देश नखेला हे धूर्तका बिराला ।
धेरै बाठो बन्न खोज्दा गला समाउला ।।
छोरीचेली बजारमा मालवस्तु समान ।
भन्या हैन क्रान्तिबाट आउँछ बिहान ।।
हिम्मत भए आए हुन्छ जनताको माझमा ।
गाह्रो भयो बस्न धूर्त छाडा राजमा ।।
छोरीचेली निराशाका गीत गाउँदै रोएका ।
खै त क्रान्ति झुपडीले रूप फेरेका ।।
झुपडीका मरेका हुन् घाम जसन यै भन्छ ।
धोका तिनले पाएका हुन् सत्य क्रान्ति यै भन्छ ।।
सत्को क्रान्ति छल–बेइमानी भाषा बोल्न जान्दैन ।
रगत दिने झुपडीमा केही आ’छैन ।।
निराशालाई रस मान्ने सामन्तको चलन ।
गुमाइसके बेइमानीले सत्य इमान ।।
नेतापत्नी नेतापति नेता छोरीबुहारी ।
हेर्दाहेर्दै बित्छ जीवन तिनकै जुहारी ।।
रूप फेर्ने नीति छैन दश चल्यो कलामा ।
धनाड्यका कला पासो लाग्यो गलामा ।।
परिवर्तन के मा भयो छाडा कला नग्नमा ।
नग्नवादको फन्दा लाई अझै ठग्नमा ।।
मागी खाने अधिकारलाई आन्दोलनले मागेन ।
मागी खाने चिन्तनलाई हक भनिन्न ।।
फन्दा नीति अधिकार भन्दै कोही लडेन ।
मर्ने छोरीचेलीको त लेखो रहेन ।।
हर पला पीडाका गीत गाउन विवश पारियो ।
तिनै गीतमा भुलाएर ठग्नु ठगियो ।।
हतियार बोकेका हुन् परिवर्तन गर्नलाई ।
रगत दिए क्रान्तिलाई मुक्ति हुनलाई ।।
जनताको रगत मागि बुहारी र छोरीलाई ।
नगएको पीडा पनि जीवनभरिलाई ।।
बन्दुक बोक्न जीवन दिन न त पछि हटेका ।
हत्याराको पासो भित्र तिनै परेका ।।
मुक्ति आयो भन्दै हिाँड्छन् सत्ताबाट डाँकाले ।
सोझा सिधा मारिकन रगत खाकाले ।।
अधिकार भन्दै खाने काम नगरी बस्नेले ।
छोरीचेली गुमाएका पेट कस्नेले ।।
समानताको हक हुन्छ भन्दै लगे लड्नलाई ।
आखिरीमा भयो सत्ता बुहारी र छोरीलाई ।।
पापी मनले न्याय दिन्न न समाज बनाउँछ ।
अन्डा माछा कुहिए भने अति गन्हाउँछ ।।
देश गनायो रगतले नुहाएका तनमा ।
बुहारी र छोरी मात्रै पापी मनमा ।।
लडाइँँमा छाती खोली लड्नेलाई न्याय दे ।
शासनका बुहारी र छोरी तल झारी दे ।।
लडाकु हुन् छोरीचेली मैदानमा उत्रेका ।
बुहारी र छोरी भए तिनलाई बिर्सेका ।।
भुसुनाको रगत हैन बग्यो छोरीचेलीको ।
शासनमा पुग्ने मौका बुहारी र छोरीको ।।
गोली बन्दुक कस्तो हुन्छ जिन्दगीमा देखेनन् ।
बारुदको गन्ध कस्तो पत्तो पाएनन् ।।
तिनै हुन्छन् नाइके नेता सङ्घर्षले खारेका ।
कहाँ गए कता गए लड्दै मरेका ।।
बुहारी र छोरीका दिन लडाकुले ल्याइदिए ।
ती कलिला लडाकुका जीवन खाइदिए ।।
जनताको रगतमाथि त्यै पुराने शासन ।
फाल्नुपर्ने शासनमाथि जम्यो आसन ।।
छोरीचेली रगतले भिज्यो माटो लछप्पै ।
गन्हाएको शासनका धनका मुठा चरप्पै ।।
न्याय माग्न जाऊँ भने मुद्दा खारेज गर्दिन्छ ।
अदालतले झन् आँखामा आँसु भर्दिन्छ ।।
लड्ने बेला ज्यानको माया मारिकन लडियो ।
आफू जस्तै कलिलालाई रुँदै बिदा गरियो ।।
ती कलिला मर्नेहरू सम्झनामा आउँछन् ।
बाँच्नेहरू गीत बनाई पीडा गाउँछन् ।।
पीडा गाउने समाजको रूप फेर्न लडेको ।
रूप फेर्ने लडाइँको गति रोकेको ।।
आउन त आएकै हो बुहारी र छोरीलाई ।
उन्मुक्ति पो दिन्छ बाबै बलात्कारीलाई ।।
शासनको शोभा छैन जसले भेट्यो खा’कै छ ।
निकम्माको हैकमवादी उर्दी चल्या छ ।।
हर लडाइँमा साथ दिने छोरीचेली हारेका ।
वीरताका न गीतगाथा तिनले जितेका ।।
पापीको शासनले तिनको जितलाई दबायो ।
पीडाका गीत गाउनलाई बाध्य बनायो ।।
सहरको तडकभडक हुने खाने चम्केका ।
तिनैबाट मुक्ति पाउन रगत पोखेका ।।
चोट के हो ? पीडा के हो ? न छट्पटी भोगेका ।
जनताको हुनुपर्ने तिनले भोगेका ।।
संसारका मान्छेहरू आमा बाबा समान ।
छोराछोरी बराबरी सबै समान ।।
यति राम्रो विचारलाई फुलाउन र फलाउन ।
गलत प्रथा उखेलेर राम्रो सजाउन ।।
निराशाका गीत किन गाउनुपर्यो राम्रोमा ।
हुन्न भन्थे आँसु ढिका संसार हाम्रोमा ।।
चितुवाले खोरको बाख्रो खोसी लगे जस्तै ।
घरबाट खोसे मान्छे त्यै चितुवा जस्तै ।।
निराशाको प्रथा फाल्न छोरीचेली भिडेका ।
बुहारी र छोरीहरू माथि माथि चढे ।।
गर्ने बेला लुक्ने भाग्ने खान अघि सर्ने ।
पस्किएको भाग माथि झिँगा साङला पर्ने ।।
अवसरवादमा छोरीचेली झिँगा साङला भए ।
अवसरवादी नेताहरू तिनलाई भुली गए ।।
खान लाउन नदिने त्यो कानुन कानुन बने के भयो ।
हुनुपर्ने पतिपत्नी नातालाई भयो ।।
चित्त बुझ्ने ठाउँ छैन जता हेर्यो अन्धकार ।
झन्् बढेर आयो देशमा अति व्यभिचार ।।
अति भयो अवसरवाद नाङ्गो नाच गरेको ।
यस्तै देख्न यस्तै भोग्न हो त लडेको ।।
लडाउन मिठा कुरा अवसर छोरीबुहारी ।
त्यै पुरानो सत्ता खान खेल्छन् जुहारी ।।
लडेका छन् भिडेका छन् बुहारी र छोरीलाई ।
जनतालाई पीडाका गीत जुनीभरिलाई ।।
विरहको न्याउली रोयो धर्ती रातो देखेर ।
गुरास फुली हैन रातो रगत बगेर ।।
रगतमाथि धावा बोले बुहारी र छोरीले ।
सके देश भगौडाका पतिपत्नीले ।।
त्यै पुरानो मान्ने भए रगत किन पोखेको ।
तातो गोली छोरीचेली ताकी ठोकेको ।।
पढी लेखी ती कलिला जान्ने बुझ्ने हुन्थे ।
बुहारी र छोरीलाई खबरदारी गर्थे ।।
बुहारी र छोरीलाई त हिजो पनि थियो ।
लडेको त बदल्नलाई थिचोमिचो भयो ।।
कलिलाको रगत बग्यो लुक्ने भाग्ने कमाउने ।
को छ त खै यो देशलाई राम्रो बनाउने ।।
अवसरका ढोका खुला बुहारी र छोरीलाई ।
कैले हो त न्याय दिने शोषित–पीडितलाई ।।
जैले पनि रगत मागे लुक्ने भाग्ने मस्तीमा ।
गर्ने मर्ने पीडित हुने सँधै सास्तीमा ।।
कस्तो न्याय बोल्छ लेख्छ यो देशको कानुनले ।
पीडितलाई दिन्न न्याय लुक्ने भाग्नेले ।।
चेतनालाई उल्टोतिर लग्ने कसको तागत छ ।
लुक्ने भाग्ने ठेगान लाउने क्रान्ति खाँचो छ ।।
यो अभाव पूरा गर्न नयाँ पिँढी जाग्ने हो ।
माग्ने हैन कसैसँग न्याय खोस्ने हो ।।
धिक्कार छ रगत बगाई भ्रष्ट पछि लाग्नेलाई ।
आफ्ना छोेरी बुहारीलाई माथि लग्नेलाई ।।
हिजो जस्तो आज उस्तै अति भ्रष्ट भएका ।
विगतका शासनको काखमा सुतेका ।।
देश फेर्न सबैतिर मैदानमा उत्रिए ।
दुस्मनका गोली बन्दुक अति बर्सिए ।।
सबैतिर उत्रेका हुन् काँधमा काँध मिलाउँदै ।
नयाँ समाज बनाउन आँधी उठाउँदै ।।
बलभद्रको युद्धदेखि कैले कहाँ हटेर ।
समाज फेर्न अघि आए लडे डटेर ।।
गर्ने खट्ने अवसरबाट पाखा किन फालियो ।
भाग्ने छोरीबुहारीलाई अवसर दिलाइयो ।।
समाजका बाधाहरू यहीँबाट सुरु छन् ।
खट्ने गर्ने छोरीचेली पछि पर्या छन् ।।
लुक्ने भाग्ने नेता हुँदा देशले गति लिएन ।
खट्ने गर्नेहरूलाई अवसर दिएन ।।
सामन्तको सिको गरे बाहिर चर्का कुरा छन् ।
दृष्टिकोण नयाँ छैन बासी दिलका छन् ।।
आए नयाँ जोगीहरू घसे बढ्ता खरानी ।
देख्यो बुझ्यो समाजले तिनको कहानी ।।
त्यै पुरानो बासी जुठो चाट्न यति रगत ।
रगत बग्यो तर उस्तै हाम्रो जगत ।।
विद्रोहले नयाँ कुरा समाजलाई के दियो ।
शोषणका रीतिथिति केमा बदलियो ।।
छोरीचेली रगतको उपयोग गरियो ।
बुहारी र छोरीलाई सत्ता दिलाइयो ।।
जनताको बाटो छेक्ने तिनै छोरीबुहारी ।
पतिपत्नी शासनको सत्ता पुजारी ।।
कती धूर्त भएका हुन् ठुला फुर्ती गरेका ।
जनताको शक्तिलाई कमजोर ठानेका ।।
जता पनि तमासा छ पुग्छन् छोरीबुहारी ।
भएका छन् आज ठुला दुस्मन पुजारी ।।
रगत बग्यो नयाँ मूल्य मौलिकता दिएन ।
यति धूर्त होलान् भन्ने मनमा थिएन ।।
भित्र भित्र अनेक थरी चालबाजी चालेका ।
जनतालाई उत्तेजना बाँड्दै हिँडेका ।।
नयाँ बन्ने नारा दिए पुरानैमा फेरिए ।
दुस्मनलाई मित्र नाता जोडी फेरिए ।।
परिवर्तन चाहेको हो रगतले बतायो ।
बढ्दै थियो जनक्रान्ति धोका दियो सतायो ।।
समाजका पीडक प्रथा के हटेर के आयो ।
बेथिती र विकृतिले देश चलाइयो ।।
व्यापारीले खायो रगत आन्दोलन बेचेर ।
होनहार सन्ततिको रगत पोखेर ।।
सहनुको सीमा हुन्छ अब अति भइसक्यो ।
रगत दिने सहिदको मूल्य खाइसक्यो ।।
विवाहमा प्रेम हैन सुन हिराका गहना ।
बढ्दै गयो हट्नुपर्ने थियो चाहना ।।
मानवका मूल्यहरू हराएर गइसके ।
गहना र सम्पत्तिले ज्यान समाज खाइसके ।।
यो रूपले हाम्रो समाज राम्रो बन्न सक्दैन ।
हटाउनलाई रगत बग्यो तर हटेन ।।
न त हट्यो दाइजो प्रथा न त हट्यो गहना ।
प्रेममय समाज हो सबको चाहना ।।
भनेको छ रगतले सुन्दर समाज बनाऊँ ।
मानवको मूल्य हुने बाटो समाऊँ ।।
जलनशील पदार्थले छोरीचेली मारिने ।
पागल प्रथा रहेर त समाज गनाउने ।।
अति भयो व्यभिचार झन् झन् बढ्यो अत्याचार ।
जिउँदै मान्छे आगो लगाई दाइजोले नमार ।।
केको नेता बनेका हुन् दाइजोले ज्यान मारेर ।
दिमाग कस्तो नफेरेको बस्छन् हेरेर ।।
लुगा लाउँछन् नाङ्गै हिँड्छन् यी के गर्छन् थाहा छैन ।
नेता बन्छन् गनाउने चिन्तन गा’छैन ।।
प्रेम हैन दाइजोसँग बिहे गर्ने यिनै हुन् ।
बहुमूल्य प्रेम हिरा मोलभाउ गर्ने यिनै हुन् ।।
समाजलाई पीडा दिने यस्तै पापीहरूले ।
बदल्नलाई हिँड्ने भिड्ने अब हामीले ।।
परिवारको नजरबाट सङ्घर्षलाई हेरियो ।
न हटेका खराबी छन् खै के गरियो ।।
परिवारको सुख भोगले समाज कहाँ फेरिन्छ ।
आफ्ना लागि सङ्घर्षको आगो फुकिन्छ ।।
जनताको रगत तागत परिवारमा सीमित ।
यस्तै खेल खेल्नाले त भए घृणित ।।
परिवारको परिधीमा देश घुमाई बिगारे ।
संसारमा अति भ्रष्ट देशमा पुराए ।।
मानिसको मूल्यलाई वस्तु सुनमा तौलिने ।
यस्तै बाधक भएर त समाज पिल्सिने ।।
पिल्सिएको समाजलाई मुक्त गर्न लडेको ।
तागतले दुस्मनका बन्दुक भाँचेको ।।
बन्दुक भाँच्ने विचारका हात अझै दह्रा छन् ।
दह्रा हात देखेर त कायर डराउँछन् ।।
लडाइँको मूल्य खाने दुस्मनलाई चिन्या छौँ ।
क्रान्तिघाती देशघाती खुनी चिन्या छौँ ।।
छोरीचेली आऊ सबै क्रान्ति नेता बन्ने हो ।
सबै खाले अवसरवादको अन्त्य गर्ने हो ।।
उठ जाग छोरीचेली थाक्ने हैन हाँक्ने हो ।
हाँकिकन जीवनका बन्धन फ्याँक्ने हो ।।
शोषण दमन अति भयो ज्यान मार्ने फाल्दिने ।
छानी छानी गलत प्रथा सबै पोल्दिने ।।
हाम्रो जाँगर पौरखमा कसिङ्गर झार पलाए ।
प्रतिभा र सृजनालाई तिनले दबाए ।।
जता पनि दबदबा छ तिनै आततायीको ।
पुराना र कथित नयाँ दाजुभाइको ।।
दाउराघाँस काट्ने हातले प्रथा काट्फाँड गरिन्छ ।
हेर्दै जाँदा गर्दै जाँदा के के फाँडिन्छ ।
जनताका छोरीचेली मैदान खाली गरेनन् ।
नेता हारे तर जनता कैले हारेनन् ।।
छोरीचेली लडाइँको मैदान छोडी भागेनन् ।
नेता भागे तर छोरीचेली भागेनन् ।।
सहरका भब्य बिल्डिङ क्रान्तिकारीहरूका ।
तल हेर लाखौँ नारी सिन्दुर पुछेका ।।
छोड्ने छैन समयले पलाएका झारलाई ।
अस्वीकार गरिसक्यो क्रान्ति ठग्नेलाई ।।
छोरीचेली जनताले सचेत बन्नुपर्ने छ ।
बगाएको रगतको मूल्य माग्नु छ ।।
दरबारका सयलमा सुख्ख काटी बसेका ।
समाजलाई पश्चगामनतर्फ लगेका ।।
दरिलो र गविर्लो छ इतिहास नारीको ।
हक पाउँदा किन पछि परि रहेको ।।
क्रान्तिकारी भन्नेले त ठग्नुसम्म ठग्या छन् ।
जहाँ पनि बुहारी र छोरी अघि छन् ।।
त्यहीँबाट विद्रोहको ज्वालामुखी फुट्ने छ ।
लडाइँँ र रगतको हिसाब मिल्ने छ ।।
जान्ने सुन्ने बाठो टाठो बुझ्ने मै हुँ नठान ।
बुझिसके जनताले लाउँछन् ठेगान ।।
सुरक्षाको घेराभित्र जनताबाट भागेर ।
रगत ताते आउँछन् जनता घेरा तोडेर ।।
जनताका छोरीचेली कठबारभित्र छन् ।
त्यहीँबाट प्रण गरी घेरा तोड्ने छन् ।।
भनिसक्यो देशले अब क्रान्ति भोक लाग्या छ ।
अति भयो व्यभिचार देश रोएको छ ।।
निराशाका प्रथाहरू गीत बनाई नगाउने ।
सही बाटो क्रान्तिको हो देशलाई सजाउने ।।
निराशाको बादलले पानी हुन्न बिलाउँछ ।
कथितको क्रान्ति हैन फेरि उदाउँछ ।।
उदाउँदा चम्चमाउँदो तिखो धार टल्काउँछ ।
त्यही धारले समाजको रूप बदल्छ ।।
रूप फेर्दा लुटी खाका छन् पाखण्डी हराउलान् ।
सबै अवसर मुठ्ठी पर्ने धूर्त डराउलान् ।।
सबै अवसर मुठ्ठी पर्ने धूर्त छोरीबुहारी ।
सबै अवसर तिनलाई दिने दुस्मन पुजारी ।।
समयको नजरमा पट्टी लाउन खोज्दै छन् ।
जनक्रान्तिलाई धोका दिने विरोध गर्दै छन् ।।
मैदानमा उत्री लड्ने वीरङ्गना सलाम छ ।
नडराऊ त्यो रगतले क्रान्ति उदाउँछ ।।
नेतापति पत्नी छोरीबुहारीलाई अधिकार ।
प्रथा भन्दै आयो कालो सत्ता खबरदार ।।
यस्ता काला प्रथाहरू जीवित राख्न सकिन्न ।
काम गर्नेको अपमान गर्न पाइन्न ।।
समाजका पीडाहरू यिनै काला प्रथा हुन् ।
चाहिँदैन जीवन समाज दास बनाउने सुन ।।
सामन्तले संस्कारमा सुनलाई भाउ दिए ।
भाउबाट हत्या दमन हुन घाउ दिए ।।
जीवन खाने डरको सुन नलाएमा राम्रोे छ ।
त्यै सुनले छोरीचेली जीवन खा’को छ ।।
संसारलाई लुट चोरको पाठ पढायो सुनले ।
देशको धन विदेशमा लुटी लग्नेले ।।
यस्तोे चलन हट्ला भन्दा झन् बढेर आ’को छ ।
नातावादी नेता भन्छन् राम्रो भाको छ ।।
राम्रोे भयो कमाउने तिनकै छोरीबुहारी ।
कमाएको भए हुन्थ्यो मान्छे नमारी ।।
लक्ष्य एउटा काम आर्को आजसम्म भएको ।
इतिहास यस्तै छ है भोगे पढेको ।।
समाजलाई निराशाको नर्कतिर धकेल्ने ।
बुहारी र छोरी भए अवसर बटुल्ने ।।
कस्ता क्रान्ति भयो यहाँ थोरैलाई कमाउने ।
जीवन अर्पण गर्नेलाई झनै दबाउने ।।
दिनहुँका आत्महत्या कति ठुलो पीडा छ ।
आफन्त र नातातिर क्रान्ति लग्या छ ।।
किनबेचको वस्तु भयो क्रान्तिखेल धूर्तको ।
समाजले मागेको छ वर्गयुद्धको ।।
मानवको अधिकार भगौडाको गहना ।
क्रान्ति नभई हुँदै हुन्न नयाँ सृजना ।।
झारपात अति बढे क्रान्ति राम्रो बारीमा ।
अधिकारका नाइके सत्ता बुहारी र छोरीमा ।।
संस्कारलाई नबदल्ने सामन्तको चरित्र ।
त्यस्तो नेता जनक्रान्तिमा हुन्न पवित्र ।।
नीतिबाट बदल्ने हो समाजको चेतना ।
प्रगतिको चेतना हो नयाँ चाहना ।।
क्रान्ति भन्दै झुक्याएर बुहारी र छोरीलाई ।
जनतालाई आँसु दह जीवनभरिलाई ।।
जनरगत कति बग्यो घाम हिमाल साक्षी छ ।
हिमालले भन्छ अझै रगत आलै छ ।।
घाम निभे संसारमा कति होला विनाश ।
घाम जस्तै क्रान्ति नभई हुन्न विकास ।।
जनताका छोरीचेली क्रान्ति धारमा आउने हो ।
निराशाका गीत हैन क्रान्ति गाउने हो ।।
हुन्न भन्दै बस्ने हैन निराशालाई पालेर ।
जान्छ जीवन उन्नतिमा आशा सिर्जेर ।।
निराशाका जराहरू जेलिने र फैलिने ।
जति काटे पनि कहाँबाट पलाउने ।।
संसारलाई ढाकेको छ निराशाको जङ्गल ।
जीवनमा लागेको छ कालो बादल ।।
संसार हेर्दा घाम छैन जस्तो छ ।
तर पनि संसारमा घाम उदाउँछ ।।
निराशाका भ्रम सबै चिर्दै जानुपर्ने छ ।
हुन्छ कठिन तर पनि चिर्नैपर्ने छ ।।
कैयौँ पुस्ता हार्न सक्छ तर थाक्नु हुँदैन ।
सजिलरी निराशाका जरा फाल्न सकिन्न ।।
प्रयत्नको प्ररिणाम विषका जरा राखिन्न ।
विज्ञानको गति पनि सानो बलले बढेन ।।
लड्दै गयोे बढ्दै गयो हार खाएन ।
संसारमा जनक्रान्ति त्यसै आएन ।।
जनताका छोरीचेली त्यै रूपमा बढ्ने हो ।
निराशाका झार जरा सबै गोड्ने हो ।।
कालो शासन जमाएर खाई बसेका हटाउने ।
मानवको संंसारमा सबै अटाउने ।।
काम गर्नेको संसार होे तर तल पारेका ।
छोरीचेलीहरूको मन निराशाले जेलेका ।।
निराशाका कुरा खेल्छन् हर समय मनमा ।
अति बढ्यो भ्रम जाल अति दमनमा ।।
काला कानुन काला नीति प्रथा भन्दै आएका ।
तिनैले हुन् छोरीचेली जीवन चुसेका ।।
अपराध पाल्ने सत्ता समाज धुलोपिठो पर्ने हो ।
मनैदेखि डरलाई झिकी फाल्ने हो ।।
हाम्रो समाज सुन्दर हुन्छ सफा हुन्छ संसार ।
क्रान्तिधार तिखो पार सफा विचार ।।
कैयौँ घुम्ती घुम्नुपर्छ डर निखार्दै जाने हो ।
गुन्डागर्दीबाट चल्ने सत्ता फाल्ने हो ।।
जनताको तागत तोेड्ने आँट कसको हुन्छ र ।
के जङ्गली बर्बरताको शासन चल्छ र ।।
छोरीचेली मारिएका शासनको आडमा ।
कुचो भाँच जागिकन तिनका ढाडमा ।।
रूढीवाद जन्माउने ठगी खाने शासन ।
हाउगुजीका कानुन रच्छ मान्छे तर्साउन ।।
शासन हैन जनताको शासन हो स्वार्थीको ।
गलेको छ ढली जान्छ जनता आँधीको ।।
वीरताले शिर उठाउँछ वीरङ्गना चम्किन्छन् ।
निराशालाई फाल्न सके संसार बदलिन्छन् ।।
हतियार बनाउनेले चलाउनलाई जान्दछ ।
नचलाउने कायरसँग हतियार छ ।।
शोषण दमन काला कानुन बनाउने कायर हुन् ।
भित्र मुटु हल्लेको छ गल्दै जाने हुन् ।।
बन्दुक बोके दुष्ट ठोके जागे छोरीचेलीले ।
दबाएर राख्ने प्रथा फाल्छन् तिनैले ।।
बसन्तले पलाउन बिर्सिएका नायकहरू ।
तिनै भए देश चलाउने क्रान्तिकारी गायकहरू ।।
तर भन्न गाह्रो पर्ने देश चलाउने लायकहरू ।
समयले नमानेका क्रान्तिकारी गायकहरू ।।
खेत हेर्यो खेत रित्तो हेर्यो खेती रित्तो ।
बारी हेर्यो बारी रित्तो बाली हेर्यो रित्तो ।।
वारिपारि जता हेर्यो सबैतिर रित्तो ।
डाँडावारि डाँडापारि जहिँ हेर्यो रित्तो ।।
वनपाखा पर्वत हेरोँ त्यही पनि रित्तो ।
गोठ हेर्यो गोठ रित्तो घर हेर्यो रित्तो ।।
गाईभैँसी छैन गोठमा दाम्ला किलो रित्तो ।
भेडी गोठमा भेडा छैन भेडीगोठ रित्तो ।।
लेक भुल्यो बसन्तले गुराँस छैन रित्तो ।
खोला नाला पँधेरोेमा छैन पानी रित्तो ।।
हिमाल हेर्यो हिमाल रित्तो हिँउ छैन रित्तो ।
फाँट हेर्यो उजाड छन् छैन जाँगर रित्तो ।।
प्रकृतिका खानीपानी जीवन हेर्यो रित्तो ।
देश हेर्यो टाट पल्टेर शासनसत्ता रित्तो ।।
मनदिमागमा देश छैन खुइले सत्ता रित्तो ।
भुत्ते धारको क्रान्तिकारी मन चिन्तन रित्तो ।।
भरिएका कहिँ छैन सबै रित्तै रित्तो ।
सही ठाउँमा हात खुट्टा चल्दैन देश रित्तो ।।
कुहिरोमा हात खुट्टा हिँड्दैन देश रित्तो ।
आखाँ हेर्यो आखाँ छैन नाककान रित्तो ।।
छोरीचेली यो देशलाई भर्ने गीत गाऊ ।
गीत मात्र गाउने हैन रित्तो भर्न आऊ ।।
क्रान्ति खाए नेताजीका बुहारी र छोरी ।
मर्दा पानी नपाई मरे जन चेली छोरी ।।
रित्तो देश देखेर त लडेका हुन् तिनले ।
सम्मान छ आदरभाव राख्नुपर्छ सबले ।।
रित्तो भर्लान् भनेको त रित्तो पर्दै गए ।
यति मात्र कहाँ हो र रित्याउने भए ।।
नसोचेको हुँदो रहेछ यो कर्कलो गल्ला ।
वीर अमर सहिदको अपमान गर्ला ।।
यो बचेको हरियाली खाइदिने पो हुन् कि ।
विचारका पिपिरालाई भाँच्दिने पो हुन् कि ।।
जनताका छोरीचेली देश बोक्न आऊ ।
कति गाउँछौ निराशाका जीवन दुख्ने घाउ ।।
हिजो भन्थे पढ्न हुन्न आज पढ्न हिँडे ।
हिजो भन्थे घरै बस्नु आज लड्न हिँडे ।।
हिजो भन्थे डोको बोक आज बन्दुक बोके ।
हिजो भन्थे बाख्रा हेर आज देश हेरे ।।
दुस्मनको हमला छ देशको हिमालमा ।
देश रहेको मुटु चल्छ हेर गोठालामा ।।
सुसेलीमा यो देशको वनपाखा बोल्छ ।
हेर त्यहाँ स्वस्थ स्वछ देशको मुटु चल्छ ।।
यस्तै चले कस्तो हुन्थ्यो शासनको मुटु ।
रहरले चिमोटेको छ है चुटुचुटु ।।
देश बनाउँछौँ भन्नेहरू मात्र आफू बने ।
बाँझो छ देश खन्छौँ भन्थे खै त कहाँ खने ।।
आकाशको रात राम्रो भरिएको जुनले ।
आकाशको दिन राम्रो भरिएका घामले ।।
सबैतिर निले सके भयो देश रित्तो ।
दरिद्रको मन चिन्तन सबैतिर रित्तो ।।
अव्यवस्था अन्यायले जतै भरिएको ।
नदीनाला हरियाली सबै हरिएको ।।
भरिएको कहिँ छैन के भएको होला ।
बग्नुपर्ने किन सुके नदीनाला खोला ।।
अन्न छैन पानी छैन क्यारी बाँच्ने होला ।
दुख पाउँदा त्यै निराशा दुई दिनको चोला ।।
यै रीतले कति पुस्ता दुख पाउँदै गए ।
अत्याचारको जाँतामुनि पिल्सिएर गए ।।
अव्यवस्था शासनले फेर्न नचाहेको ।
जनताको पीडालाई हेर्न नचाहेको ।।
कानुनका धारा फेर यो पाराले हुन्न ।
जनताको हैन शासन र त सुख्ख दिन्न ।।
जनताका छोरीचेली न्याय कसले पाए ।
शासनले पालेकाले कति जीवन खाए ।।
पर्वहरू पैसाबाट मुक्त हुनुपर्यो ।
पैसाले त समाजमा वर्गभेद गर्यो ।।
पर्वहरू पराधीन किन बनाउने ।
पर्वहरू जीवन हाम्रा किन नमनाउने ।।
हाँसीखुसी सुखका दिन ल्याउने गीत गाउने ।
गहनाको आडम्बरबाट मुक्त गर्ने ।।
समाजमा बस्ने सबै बराबरी हुने ।
समाजका चोरडाँका सबै धपाउने ।।
ऋण बोकाउने सामन्तको जरा किल्लो फाल्ने ।
हाँसीखुसी पर्व मान्न नयाँ जग हाल्ने ।।
पर्वबाट परिवर्तनतिर जानुपर्यो ।
मानवको उन्नतिका गीत गाउनुपर्यो ।।
गयो जीवनचेलीहरू दुख गाउँदा–गाउँदै ।
दाइजो अनि गहनाको मूल्य वस्तु बन्दै ।।
एकातिर सुन गहना अर्कोतिर चेली ।
यस्तो पनि प्रथा हुन्छ फाल उठ चेली ।।
प्रथा नदिई धमिल्याउने हुने खाने सुनले ।
प्रथाहरू शुद्ध थिए बिगारेको सुनले ।।
प्रथाहरू सामन्तले हस्तक्षेप गरे ।
सोझा सिधा मान्छेहरू तिनको डरमा परे ।।
यति राम्रा प्रथाहरू शोषणमा परे ।
तिनै प्रथा जनतालाई अति दमन गरे ।।
टाढाबाट धरणीमा घाम जसरी ओर्लिन्छ ।
गीतबाट चेतनाको गति दौडिन्छ ।।
आउनेहरू कति आए समाज फेर्न सकेनन् ।
हार खाएर भागे तर जनता भागेनन् ।।
बहुदलमा दल खुले बन्द दैलो खुलेन ।
चितुवा र चिलको प्रथा जाँदै गएन ।।
ठट्टा हैन ठटाउने हो देश विरोधी सत्तालाई ।
नीति छैन नेता बन्न दल बनाउने जालीलाई ।।
आरनमा नपोलेको भुत्ते फालीलाई ।
कालले डोरी लाउन लाग्यो सत्ता चाहियो जालीलाई ।।
चम्चाहरू बिटुलिन्छन् जे जे पायो खाएर ।
कसको मेख मार्छौ जोगी दल खोलेर ।।
सन्यासी भई काँशीतिर गए हुन्छ जाऊ जोगी ।
बुझिसके जनताले मनका छौँ रोगी ।।
मनका रोगी मिलिकन दल खोले जस्तो छ ।
दल खोलेर के भो जोगी भत्केको घर जस्तो छ ।।
बसौँ भने छैन छानो पर्छ पानी रुझाउँछ ।
भत्केको दल जनताले क्यारी पत्याउँछ ।।
विकृति र विसङ्गति प्रथा बन्दै आएका ।
पञ्चायतका झड्केलाले दल खोलेका ।।
देश जनताका नेता भए राम्रो रीति बनाउथे ।
देश राम्रो बनाका भए किन गन्हाउथे ।।
बाहिर देख्दा भलाद्मी छन् भित्र पापका किरा छन् ।
हिरा जस्ता युवाहरू पछि ला’का छन् ।।
भुल नगर देश बनाउने युवा अनि नारीले ।
थुक्क भन्दै थुक्छन् हेर माथि ताराले ।।
बन्दुक बोक्या हुति पनि यो देशले देख्या छ ।
हिजो आज सम्झौताले नाङ्गै नाच्या छ ।।
बहुदलमा दलको शासन सुनको शासन फालेन ।
मान्छे मारा दाइजो प्रथा अन्त्य गरेन ।।
क्रान्तिकारी ऊर्जा लग्यो उन्मादमा उर्लेर ।
दुस्मनका दललाई ऊर्जा शक्ति सुम्पेर ।।
क्रान्तिरगत परिवारको शासन घेरो हुर्कायो ।
जनताको ऊर्जा बेची पैसा कमायो ।।
क्रान्तिलाई टाढा लग्यो निराशाको मुखमा ।
आफन्त र परिवारको सत्तामोहमा ।।
ऊर्जाशील जवानीलाई उग्रवादी धारमा ।
दूरदर्शी नहुनाले क्रान्तिहारमा ।।
जनताका छोरीचेली घरभित्र मारिन्छन् ।
घरभित्र आगो लगाई जिउँदै पोलिन्छन् ।।
कति मर्छन् कतिलाई घाइते बनाई अशक्त ।
यस्तो चलन फाल्नलाई बन्ने सशक्त ।।
जनक्रान्ति भए यस्तो व्यभिचार किन छ ।
जनहत्या गर्नेहरू जवाफ दिनु छ ।।
मानिसको समाज भए असुरक्षा किन छ ।
पानीमरुवा शासनमा किन बस्या’छ ।।
जनताले फोर्छन् थाप्ला न्याय किन दिन्नौँ ।
अराजक गुण्डाराज्य किन चलाउँछौ ।।
टोलेगुण्डा झोलेगुण्डा पालेका छौ किन ।
क्रान्तिबाट भाग्नेहरू सल्बलाउँछौ किन ।।
उत्तेजना भड्काव दिने देशको व्यापार गर्ने ।
अराजक बेइमानीले क्रान्ति बेची खाने ।।
दुस्मनलाई जनताको रगत सुम्पिएका ।
छन् हजारौँहजार छोरी तिनले मारेका ।।
विचारको आन्दोलन नचलेर क्षति ।
क्रान्ति भन्दै अवसरवादी गरे खाने खेती ।।
झुपडीका पीडा बेच्ने दरबारमा बस्ने ।
जनताको चेतनाले त्यस्तालाई झोस्ने ।।
जनताका छोरीचेली विदेशमा बेच्ने ।
कहाँ गए क्रान्तिकारी टुलुटुलु हेर्ने ।।
सत्ता शासन पाएका हुन् कति नीति फाले ।
त्यै गनाउने संस्कारलाई आफूभित्र हाले ।।
त्यै पुरानो नीतिमाथि त्यै पुरानो टालो ।
फालिएन केही पनि मान्छे बेच्ने जालो ।।
घुम्दै आयो दास युग जङ्गलीका रूप ।
क्रान्तिबाट फल्छौँ भन्थे सिके त्यस्कै सिप ।।
जनताका छोरीचेली रित्तो देश देख ।
रित्तो देश देखिकन आशाका गीत लेख ।।
त्यै आशाको उज्यालोमा समाजलाई फेर ।
अमूल्य छ जीवन यो फाल्नु हुन्न खेर ।।
काम गरी खानुपर्छ जानुपर्छ खेत ।
खेती हुनुपर्छ राम्रो काम गर्नेको हित ।।
जबसम्म काम गर्नेको हितमा खेती हुन्न ।
तबसम्म संसारमा लडाइँ रोकिदैन ।।
अलापेर शान्ति खोज्छन् शासनमा बस्ने ।
काम नगरी अमन चैन देश लुटेर खाने ।।
लुटेराको अन्धकारले क्रान्ति जन्मिएको ।
लुटेराका व्यभिचारले क्रान्ति हुर्किएको ।।
जनताका छोरीचेली पर्छन् किन दमनमा ।
नबिराई किन पर्छन् गुण्डा अधिनमा ।।
हुन्छ भने कानुनको नीतिनियम समान ।
होइन भने छोरीचेली कानुन नमान ।।
अदालत अल्झन हो अल्झाएर सताउँछ ।
सताउनेलाई मान्नैपर्ने कसलाई के कर छ ।।
मान्न पनि कर छैन डर पनि लाग्दैन ।
डर देखाई तर्साएमा झनै मानिन्न ।।
जनताको हात माथि पर्ने देश खोज्ने हो ।
यस्तोबाट हुँदै हुन्न नयाँ रोज्ने हो ।।
फेरे जस्तो गरेका हुन् फेरिएका छैनन् ।
जनताको मर्म बुझ्ने नेता कानुन हैनन् ।।
जनताले जनक्रान्ति नगरेर हुन्न ।
आस नगर यो शासनले केही गर्ने छैन ।।
जनताको आस्था रगत सामन्तलाई दिए ।
वर्गधार विवादमा अल्मलाइदिए ।।
अजैचारिक झुट र फुटले फरक पर्ने छैन ।
सशक्त छ क्रान्तिधार सिथिल भा’को छैन ।।
दरबारको शासनले चलाएका हल्ला ।
क्रान्तिकारी जुर्मुराउँछन् दलाल शासन ढल्ला ।।
सङ्घर्ष धार चम्किलो पार छोरीचेलीले ।
नघुमा कानुन अन्न्याय सहन्न अब कसैले ।।
चेलीको यात्रा चल्दै छ अब निर्भिक भएर ।
यो चल्नुपर्छ यो फल्नुपर्छ यी रात चिरेर ।।
यी रात चिरे आउँछ फेरि स्वतन्त्र स्वाभिमान ।
नभई हुन्न संसारमा सबको जीवन पहिचान ।।
हल्लाका रूप अनेक हुन्छन् सुनिन्न टेरिन्न ।
पुरानोसँग सम्झौता गरे संसार फेरिन्न ।।
यो फेर्नुपर्छ समस्त मान्छे सुख्खमा अटाउने ।
निभाई सारा बाधा र बन्धन मानव रमाउने ।।
जनताका कलाहरू जनगला खोज्छन् ।
जागरणको नयाँ लहर छोरीचेली ल्याउँछन् ।।
निराशाका गीतहरू अब गाउँदैनन् ।
निराशाका गीत गाउने पर्व आउँदैनन् ।।
धर्तीआकाश सचेत छ नयाँ जागरणमा ।
शरद र बसन्तराज हुन्छ संसारमा ।।
चेतिसके जानिसके कपटीका खेल ।
असतीको वर्गसँग हुँदै हुन्न मेल ।।
जनताको शासन भन्ने भ्रष्टहरू लुट्ने ।
जनताको शासन भन्ने छोरीचेली बेच्ने ।।
मानवको अधिकारले रमिते भई हेर्ने ।
छोरीचेली बेच्नेलाई अदालतले छोड्ने ।।
त्यसैले त जनताले दुर्जन नीति तोड्ने ।
अचेत छन् भन्ठानौँला छोरीचेली जागे ।।
सत्य हुन्छ देशबाट धूर्तहरू भागे ।
अब हैन पुरानोको विचारमा बाँच्ने ।।
जनबाटो सङ्घर्ष हो अब के छ साँच्ने ।
छिट्टै फाले छिटै बन्छ नयाँ समाज हाम्रो ।।
खट्नुपरे खट्ने डट्ने काम गर्नु राम्रो ।
भड्कावहरू आउँछन् तर भत्काई दिनुपर्छ ।।
छोरीचेली दमनका कानुन पोल्नुपर्छ ।
नर्कसमान निराशामा अब जाने हैन ।।
जित हुन्छ छोरीचेली हार खाने हैन ।
रोई रोई अन्न्यायमा अब बाँच्ने हैन ।।
धूर्तको भर परिकन पर्र्खिएर हुुन्न ।
उग्रवादी छाडावादको आशा गर्नुहुन्न ।।