काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै आज (मंगलबार)पनि नेपाल सर्वोच्च बार एसोसिएशनले विरोध प्रदर्शन गरेको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै चरणवद्ध रुपमा आज तेस्रो दिनमा पनि विरोध प्रदर्शन जारी राखेको हो ।
वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बारको निर्णयलाई लत्याउने काम नगर्न प्रधान्यायाधीश जबरालाई चेतावनी दिनुभयो । उहाँले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरु नबोलेको भन्दै यसप्रति राजनीतिक दलहरुले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीश जबरा न्यायालयमा रहुन्जेल निष्पक्ष र स्वतन्त्र ढंगले न्यायालय सञ्चालन हुन नसक्ने दाबी समेत गर्नुभयो । पूर्व महान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले न्यायालय हाँक्न नसक्दा यो अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबराले आफ्नो पालामा न्यायाधीशले विचौलियाको काम गर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले अहिले प्रधनन्यायाधीशको राजीनामा नै कानून व्यवसायीको बटमलाइन भएको बताउनुभयो । उहाँले प्रधानन्यायाधीशको राजीनामा शुरुवात मात्रै भएको बताउँदै न्यायपालिका सुधारका लागि निरन्तर लागि पर्ने बताउनुभयो ।
अध्यक्ष शाक्यले भन्नुभयो, ‘प्रधानन्यायाधीशको राजीनामा बटमलाइन हो, प्रधानन्यायाधीशको बहिर्गमनको बारेमा नेगुसिएशन भइरहेको भन्ने छ, त्यसमा बारका अध्यक्षलाई सहागी गराउनुस्, प्रधानन्यायाधीशको राजीनामा शुरुवात हो, पहरेदारको भूमिका निरन्तर रहन्छ ।’
वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश जबराले मन लागेका मुद्दा मन लागेका न्यायाधीशहरुलाई दिएको आरोप लगाउनुभयो । उहाँले न्यायमा निष्पक्षता नभएको बताउँदै बेन्च सेटिङले थप समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले न्यायालय धरापमा पर्दा समेत राजनीतिक दलहरु मौनता साँधेर बस्ने हो भने राजनीतिक दलहरुको पनि राम्रो नहुने बताउनुभयो । नेताहरुको चाकडी गर्न नसक्ने बताउँदै उहाँले राजनीतिक दलले आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाउनुभयो ।
नेपाल बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्याय अधोगति तिर गएको तर्क गर्नुभयो । उहाँले न्याय क्षेत्रमा लागेका धेरै युवा तथा विद्वानहरुले न्यायालयको कारण प्रतिभा देखाउन नपाएको बताउँदै न्याय जनता र सक्षम व्यक्तिको नेतृत्वमा हुनुपर्ने बताउनुभयो ।
नेपाल बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराका कारण न्याय अवरुद्ध र विचलनमा रहेको आरोप लगाउनुभयो । उहाँले प्रधान्यायाधीशले पदमा बस्न कुनै अधिकार नभएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘न्याय अहिले अवरुद्ध अवस्थामा छ, न्याय विचलनमा छ, यो काम चोलेन्द्र समशेर जबराले गर्नुभएको छ, त्यसैले उहाँको एकछिन पनि न्यायपालिकामा बस्ने अधिकार छैन, तत्काल राजीनामा गर्नुपर्छ,जति बस्नुहुन्छ त्यति नै न्यायपालिका धराशायी हुन्छ, यसमा तलमाथि गर्ने काम भयो भने रञ्जन कोईरालाको केसमा भन्दा बढी आन्दोलन चर्काउनेछौँ ।’
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिन आलटाल गरे रञ्जन कोईरालाको बेलामा भएको सडक आन्दोलन भन्दा ठूलो आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।