सन्धिखर्क । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) अर्घाखाँचीको छब्बिसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सदरमुकाम सन्धिखर्कमा २०७८ असोज ९ गते सम्पन्न उक्त सम्मेलनले जीवन नेपालीको अध्यक्षतामा १५ पूर्ण र चार वैकल्पिक सदस्यसहितको जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश चुदाली, सचिवमा लक्ष्मी बन्जाडे, सहसचिवमा दीपक पन्थी र कोषाध्यक्षमा गीता थापामगर रहनुभएको छ ।
सम्मेलनले पुरन नेपाली, हिम्मत खनाल, सुरज चुदाली र सुमन पुरीलाई सल्लाहकारमा चयन गरेको छ ।
सम्मेलनको उद्घाटन प्रमुख अतिथि अखिल (छैठौं) केन्द्रीय सचिव गोपालप्रसाद भट्टराईले मैनबत्ति बालेर गर्नुभएको थियोे ।
सो अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन, शैक्षिक निजीकरणका विरुद्ध तथा विद्यार्थीको हक–अधिकार प्राप्तिको निम्ति सम्पूर्ण विद्यार्थी साथीहरू अखिल (छैठौं) मा आबद्ध भई मैदान उत्रने बेला आएको बताउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिहरू राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वैकल्पिक सदस्य सागर केसी र राजमो जिल्लाध्यक्ष थम्मन केसी, अन्य अतिथिहरू नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाललगायतले शुभकामना दिनुभएको थियोे ।
अखिल (छैठौं) का निवर्तमान जिल्लाध्यक्ष पुरन नेपालीको अध्यक्षता, लक्ष्मी बन्जाडेको स्वागत मन्तब्यबाट अगाडि बढेको सम्मेलनको सञ्चालन अखिल (छैठौं) का केन्द्रीय सदस्य सन्देश खनालले गर्नुभएको थियो ।
