बुटवल । एमसीसीविरुद्ध निरन्तर प्रदर्शन गर्दै आइरहेका रुपन्देहीका राजनीतिक दलहरुले आइतबार मुर्गिया बजारमा बिरोध सभा सम्पन्न गरेका छन् ।
सभामा बोल्दै राजमो केन्द्रीय सदस्य नारायण जिसीले एमसीसी नेपालीको लागि इराक, सिरिया र अफगानिस्तान जस्तै गलपासो हुने ठोकुवा गर्नुभयो ।
‘नेपाली जनता गरिब भए पनि यसैमा रमाउन तैयार छन् तर अमेरिकी साम्राज्यवादलाई देशको स्वाधीनता सुम्पन तैयार छैनन्’ उहाँले भन्नुभयो।
दशकौंसम्म चीन टुक्राउन अनेक हथकण्डा प्रयोग गरिसकेको अमेरिकाले सबै हतियार असफल भएपछि आईपीएस रणनीति अन्तर्गत एमसीसी नेपाल भित्राएर रणभूमि बनाउन खोजेको जिसीको भनाई थियो ।
‘अमेरिकी साम्राज्यवाद मानव समाजको शत्रु हो’ भन्दै जिसीले विभिन्न बाहानामा नेपाल भित्राउने षडयन्त्र असफल पार्न सबै स्वाभिमानी नेपालीहरू सडकमा आउन आग्रह गर्नुभयो । यस्तै उहाँले संसदमा एमसीसी टेबुल भए हस्ताक्षर नगर्न पनि जनप्रतिनिधिलाई आग्रह गर्नुभयो।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का दीपक भण्डारी, नेकपा (एकीकृत समाजवादी) का देवराज पौडेल, नेकपा (क्रान्तिकारी माओवादी) का एकदेव पौडेलले पनि सम्बोधन गर्नुभएको थियोे ।
कार्यक्रमको सञ्चालन राजमो प्रदेश कोषाध्यक्ष गणेश गौतमले गर्नु भएको थियोे ।