सुवाश संयम
म एउटा अस्तित्व हुँ
म जन्मेको हुँ र
अब कहिल्यै जन्मिने छैन
त्यसकारण
मेरो यो जन्म पहिलो र
अन्तिम हो !
म जन्मेको हुँ र
मर्छु एकदिन
त्यसकारण मृत्यु पनि
अन्तिम सत्य हो र
मेरा लागि पनि हुनेछ ।
जन्म र मृत्यु वीचको समय
त्यो जिन्दगी हो-
बाँच्नेहरुको लागि
भोग्नेहरुको लागि
केहि गर्नेहरुको लागि
वा केही गर्नुपर्नेहरुका लागि
बाँकीका लागि यो वीच
फगत भ्रम हो
वाध्यता हो
विवशता हो र
वकवास हो ।
जे, जे सुकै र जसरी भनेपनि
आफ्नो अस्तित्व बोकेर
साँच्चिकै वाँच्न चाहिँ
सजिलो, सजिलो र सजिलो
थिएन, छैन र हुँदैन
यत्ती बुझेपछि
मान्छे हुन खास केही गर्नुपर्छ
मलाई त्यस्तो केही लाग्दैन ।
अहिले मेरो अस्तित्व छ
र त्यसमाथी प्रहार भइरहेछ
यो प्रहार पहिलो पनि होइन
र अन्तिम पनि होइन
किनकी
हाम्रो अस्तित्वमाथी
जतिवेलै, जुनसुकै बेला र जहिल्यै
प्रहार थियो, हुन्छ र हुनेछ
कुरा यत्ती हो
आफ्नो अस्तित्वको लागी
हामी लडेका थियौं
लड्नुपर्छ र लडिरहनुपर्छ
नत्र मर्नुपर्छ
किनकी
मर्नु त छँदै छ
त्यो अन्तिम सत्य हो ।
अहिले
मेरो फोक्सोमाथि
प्रमुख प्रहार छ-
उ चाहान्छ
म अहिले श्वास नेफेरुँ
मेरो नाक र जिव्रोवाट
गन्ध र स्वादहरु निकालिएको छ
उ चाहान्छ-
म नखाउँ र भोकै बसुँ
टाउको चर्काइएको छ र
सरिरको ताप बढाइएको छ
उ चाहान्छ-
म छट्पटाउँ
हार गुहार गरुँ र
भिक मागुँ जिन्दगीको ।
तर
म अस्वीकार गरिरहेको छुँ
खारेज गरिरहेको छुँ
यी सव प्रस्तावहरु
र जलाईरहेछु
मेरो अस्थित्व नामेट पार्ने
सम्पुर्ण प्रयासहरु!
किनकी म यी सव स्वीकार गरेर
आत्मसमर्पण गर्न जन्मेको होइन
किनकी मलाई थाहा छ
एकदिन फेरी
कहिल्यै जन्मनु नपर्ने गरेर
मर्नु नै छ
त्यसैले म जीवनको
लागि लडिरहेको छुँ र हुनेछुँ
जतिन्जेल
मेरो अस्थित्व छ र हुनेछ ।