काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पेरुको कम्युनिष्ट पार्टी साइनिङ पाथका नेता गोञ्जालोप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
आइतबार वक्तव्य प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले ‘उनको महान त्याग, बलिदान र विरताले संसारभरको क्रान्तिकारी आन्दोलनलाई सधैं प्रेरणा दिइरहने छ’ भन्नुभएको छ ।
शोक वक्तव्यमा मसालले गोञ्जालोलाई ‘विश्वको क्रान्तिकारी आन्दोलनका एउटा महान सहिद’ भनेको छ ।
३० वर्षदेखि जेल जीवन विताइरहेका गोञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको हो ।
यस्तो छ वक्तव्य :
‘का. गोञ्जालोको निधन भएको छ । त्यो कुरा पेरुको सरकारले आधिकारीक रुपमा पुष्टि गरेको छ । उनको दुखद् मृत्युको बेलामा ने.क.पा. (मसाल) ले उनीप्रति उच्च सम्मान प्रकट गर्दछ । उनको ८६ वर्षको उमेरमा मृत्यु भयो । उनी पहिले दर्शनशास्त्रका प्रोफेसर थिए ।
पछि उनको नेतृत्वमा नै पेरुको क्रान्तिकारी कम्युनिस्ट युद्ध चलेको थियो । तर सन् १९९२ मा उनलाई गिरफ्तार गरिएको थियो । त्यो बेलादेखि अहिलेसम्म अर्थात् गत करिब ३ दशकदेखि उनलाई पेरुको जेलमा नजरबन्द राखिएको थियो ।
उनी वास्तवमा विश्वको क्रान्तिकारी आन्दोलनका एउटा महान सहिद हुन् । ने.क.पा. (मसाल)ले उनको निधनको अवसरमा उनीप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । उनी अब हामी बीचमा छैनन् । त्यही पनि उनको महान त्याग, बलिदान र विरताले संसारभरको क्रान्तिकारी आन्दोलनलाई सधैं प्रेरणा दिइरहने छ ।’
२०७८ भदौ २७ गते
मोहनविक्रम सिंह
महामन्त्री
यो पनि…
पेरु कम्युनिस्ट पार्टीका नेता गोञ्जालोको निधन
‘३० वर्षसम्म गोञ्जालोलाई जेलमा राख्नु अमानवीय कार्य’