काठमाडौँ । प्रतिनिधि सभाको २०७८ भदौ २५ गतेको बैठकले “आर्थिक अध्यादेश–२०७८”, “राष्ट्र ऋण उठाउने अध्यादेश–२०७८” र “विनियोजन अध्यादेश–२०७८” स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीमाझ अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो ।
यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रस्तुत गर्नुभएको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।
नाराबाजीका कारण १५ मिनेट स्थगित भई सुरु भएको दोस्रो बैठक सभामुख अग्निप्रसाद सापकोटाले प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदले रोस्टम घेराउ गर्दै निरन्तर नाराबाजी जारी राखेका थिए ।
सोही नाराबाजीमाझ सभामुख सापकोटाले आर्थिक अध्यादेश–२०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नुहुने नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई बोल्न समय प्रदान गरेसँगै सदनको काम कारबाही अघि बढेको थियो ।
अध्यादेशका बारेमा उठेका प्रश्नको जवाफ दिँदै पुँजीबजारमा गैरकानुनी ढङ्गबाट आफूखुसी मूल्य घटबढ गराउने कुरा सत्य नभएको स्पष्ट पार्दै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा भएको भनिएको अनियमितताको छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी गराउनुभयो ।
सदनमा अध्यादेश पेस र स्वीकृतको क्रम चलिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट निरन्तर नाराबाजी भइरहेको थियो । प्रतिनिधि सभाको दोस्रो बैठक पनि पुनः १५ मिनेटका लागि स्थगित भएको छ । (रासस)