कुश्मा । राष्ट्रिय जनमोर्चा पर्वत जिल्ला समितिले २०७८ भदौ २२ गते एमसिसी विरुद्ध देशव्यापी साङ्केतिक विरोधको कार्यक्रमअन्तर्गत फलेवासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
प्रमुख वक्ताको तर्फबाट बोल्दै इन्द्रकान्त शर्माले भन्नुभयो– ‘एमसिसी नेपालको राष्ट्रियता, सार्वभौमिकता र बृहत्तर हितको विरुद्ध छ । यो राष्ट्रघाती छ । त्यसका साथै यो इन्डो–प्यासिफिक रणनीतिको अङ्ग हो । यो कुरा अमेरिकाका उच्चपदस्थ अधिकारिले स्वीकार गरिसकेका छन् ।’
उहाँले अगाडि भन्नुभयो– ‘वास्तवमा एमसिसी हिन्दप्रसान्त क्षेत्रका देशहरूमा चीन विरोधी मोर्चा बनाउने षड्यन्त्र हो । यदि हामी त्यसमा सामेल भयौँ भने चीनसितको मैत्रीपूर्ण सम्बन्धमा आँच पुग्ने र नेपाल युद्धको अखडा बन्ने छ । त्यसकारण एमसिसी कुनै पनि हालतमा संसदबाट पारित गरिनु हुँदैन । एमसिसी खरेज गर्नुपर्छ ।’
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता डिल्लीराम भुसालले गर्नुभएको थियो भने सञ्चालन बुद्धिराज गौडेलले गर्नुभएको थियो ।