काठमाडौँ । विगत केही दिनयतादेखि सक्रिय रहेको मनसुन क्रमशः कमजोर हुँदै जाने भएको छ ।
पूर्वीतराईको भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा सोमबारदेखि नेपालबाट बाहिरिने क्रम सुरुवात भएकासँगै मनसुन विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका एकदुर्ई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव तीन डिग्री सेल्सियस छ ।
त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव दुई डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस छ ।