काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले जनवादी गायक जेवी टुहुरेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । मसाल प्रवक्ता रामप्रकाश पुरीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी गायक टुहुरेको निधनमा पार्टीको तर्फबाट गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
जेबी टुहुरे (जुठबहादुर खड्गी) को हिजो बिहीबार (भदौ १० गते) मृत्यु भएको थियो । उहाँले गाउनुभएको ‘आमा दिदी बहिनी हो कति बस्छौ दुखी भइ’, ‘बसाईं हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ’ जस्ता गीतहरू चर्चित छन् ।
टुहुरेले १५० भन्दा बढी जागरणका गीत गाउनुभएको छ ।
वक्तव्यमा भनिएको छ, ‘जनवादी तथा प्रगतिशील सांस्कृतिक अभियन्ता जेबी टुहुरे (जुठबहादुर खड्गी) को २०७८ भाद्र १० गते मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । टुहुरेले नेपालको जनवादी तथा प्रगतिशील सांस्कृतिक आन्दोलनमा लामो समयदेखि निरन्तर र महत्वपूर्ण योगदान दिँदै आउनुभएको थियो । उहाँ मुख्य रूपले जनवादी गायक हुनुहुन्थ्यो । उहाँका गीतसङ्गीतले जनतामा परिवर्तनप्रति जागरणको सन्देश प्रवाह गरेका छन् र उहाँका ती विभिन्न अमर सांस्कृतिक कृतिहरूले जनताको बिचमा सामाजिक परिवर्तनको आन्दोलनमा सधैँ चेतना र जागरणको सन्देश प्रवाह गरिरहने छन् । नेपालको सामाजिक परिवर्तन तथा सांस्कृतिक आन्दोलनको क्षेत्रमा टुहुरे एक सांस्कृतिक अभियन्ताको रूपमा अविस्मरणीय हुनुहुन्छ । हामीले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’
यो पनि : ‘धनञ्जयले स्थापित गरेको ‘हाँक’ मसालविरुद्ध घृणा फैलाउन फोहोरी सामग्री बनाइयो’