कञ्चनपुर । राष्ट्रिय जनमोर्चा, कञ्चनपुरका स्थानीय संगठनहरूले जिल्लामा फुटपरस्त गतिविधि नगर्न चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय जनमोर्चाको नामबाट धनगढीमा भएको अवैध भेलालाई अस्वीकार गर्दै कञ्चनपुरका स्थानीय तहका संगठनले जिल्लामा फुटपरस्त गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
बिहीबार राष्ट्रिय जनमोर्चाका सबै स्थानीय संगठनहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वहरूको भ्रममा नपर्न पनि आम कार्यकर्तासँग आग्रह गरेका छन् ।
शुक्लाफाँटा नगर समितिका अध्यक्ष टुंके बोहरा, वेदकोट नगर समितिका अध्यक्ष कमल साहु, दोधारा चाँदनी (महाकाली) नगर समितिका अध्यक्ष किशन नेपाली, लालझाडी गाउँ समितिका अध्यक्ष राजबहादुर राना, बेलौरी नगर समितिका उपाध्यक्ष भजनी राना, भीमदत्त नगर समितिका सचिव कर्णबहादुर कार्की, बेलडाँडी गाउँ समितिका उपाध्यक्ष रोशना थापाले संयुक्त विज्ञप्ति प्रकासित गरी नन्दराज भट्ट नेतृत्वको प्रदेश समिति मातहत रहने स्पष्ट पार्नुभएको छ ।
यस्तै, अखिल नेपाल युवक संघका जिल्ला सचिव दशरथ सुवेदीले पनि एक विज्ञप्ति प्रकाशित गरी फुटपरस्त तत्वहरूको भ्रममा नपर्न युवाहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले यसअघि नै कथित भेलालाई राजमो कञ्चनपुरले खारेज गरेको स्पष्ट पारिसक्नुभएको छ ।