काठमाडौं । सरकारले गाईजात्राको अवसरमा देशभर छरिएर रहेका नेवार समुदायका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ७ गते देशभरका नेवार समुदायलाई गाईजात्राको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै, बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको मन्त्री खड्काले बताउनुभयो । यस्तै, सहसचिव डिल्ली शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको छ ।
बैठकले काठमाडौं–तराई मधेस द्रूत मार्गका सहायक मार्ग निर्माणका लागि मकवानपुरका कालभैरव र गौरीशंकर सामुदायिक वनका रुख कटानी गर्ने पनि निर्णय गरेको मन्त्री कार्कीले बताउनुभयो ।